नयाँ दिल्ली, १८ असोज/एएनआई

भारतमा कोरोना भाइरसबाट थप २० हजार ७९९ जना सङ्क्रमित भएका छन् । भारतमा कोरोना सङ्क्रमणको कारण आइतवार थप १८० जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट भारतमा हालसम्म चार लाख ४८ हजार ९९७ जनाको मृत्यु भएको छ ।

सरकारी अधिकारीले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २० हजार ७९९ जना सङ्क्रमित भएका हुन् । अघिल्लो दिन आइतवार बिहान सार्वजनिक जानकारी अनुसार शनिवार एक दिनमा २२ हजार ८४२ जना नयाँ सङ्क्रमित थपिएका थिए । शनिवारभन्दा आइतवार सङ्क्रमितको सङ्ख्या घटेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमवार जानकारी दिएको छ ।

यसअघि दैनिक सङ्क्रमितको सङ्ख्या १८ हजारको हाराहारीमा पुगेकोमा अहिले फेरि बढेको हो । सङ्क्रमित र मृत्यु भएकामध्ये धेरै केरला राज्यका छन् । अन्य क्षेत्रमा महामारी कम हुँदै गए पनि केरलामा भने बढ्दै गएको पाइएको छ । भारतमा अहिले पनि सङ्क्रमित अवस्थामैं रहेकाको सङ्ख्या दुई लाख ६४ हजार ४५८ रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको यो सङ्ख्या २०० दिन यताको नै कम हो । भारतमा पछिल्लो समय दैनिक सङ्क्रमित र सक्रिय सङ्क्रमितको सङ्ख्या कम हुँदै गएको तथ्याङ्कले देखाएको छ ।

दैनिक सङ्क्रमितको सङ्ख्याभन्दा दैनिक सङ्क्रमणमुक्त हुनेको सङ्ख्या धेरै भएकोले सक्रिय सक्रमितको सङ्ख्या कम हुँदै गएको हो । आइतवार दिनभर २० हजार ७९९ सङ्क्रमित हुँदा २६ हजार ७१८ जना सङ्क्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ ।

भारतमा अहिलेसम्म कुल सङ्क्रमणमुक्त भएकाको सङ्ख्या तीन करोड ३१ लाख २१ हजार २४७ रहेको अधिकारीले जनाएका छन् । भारतको चिकित्सा अनुसन्धान परिषद्का अनुसार कोरोना शुरू भएदेखि हालसम्म भारतमा ५७ करोड ४२ लाखजनाको कोरोना परीक्षण गरिएको छ ।

भारतमा गत जनवरी १६ तारिखदेखि कोरोनाविरुद्ध खोप अभियान शुरू गरिएको र हालसम्म ९० करोड ७९ लाख ३२ हजारभन्दा बढी डोज खोप लगाइएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here