प्रस, वीरगंज, १५ असोज/
सानो पाइलाले प्रदेश २ का जिल्लामा एक लाख मास्क वितरण गर्ने अभियानको सुरुआत शुक्रवार वीरगंजबाट गरेको छ ।
घण्टाघरमा सानो पाइलाको एक लाख मास्क वितरण कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले सर्वसाधारणले मास्क लगाउन बिर्सेको बेला सानो पाइलाको अभियानले मानिसमा सचेतना ल्याउने बताए । कोरोना सङ्क्रमण पर्सा जिल्लामा कम देखिएको हो तर यसको जोखिम भने नहटिसकेको भएपनि स्थानीयहरूले मास्क लगाउन छाडेका र त्यस्तालाई सचेत पार्न सानो पाइलाले खबरदारी गरेकोमा प्रशंसा गरे ।
प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले आफू र अरूको सुरक्षाका लागि मास्क अनिवार्य लगाउनुपर्छ भन्ने सचेतना जगाउने काम भएको बताए । उनले सर्वसाधारणहरू अहिले मास्क लगाउन छाडेर लापरवाह बन्दै गएको प्रतिक्रिया दिए ।
सानो पाइलाका संस्थापक कञ्चन झाले सचेतना फैलाउन तथा सङ्क्रमणबाट जोगाउने अभिप्रायले मास्क वितरण अभियान चालेको बताए । उनले प्रदेश २ का विभिन्न जिल्लामा यो अभियान अन्तर्गत एक लाख मास्क वितरण गरिने बताए ।
सानो पाइलाका अध्यक्ष सुदीप लामाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घका सचिव दीपेन्द्र चौहान, प्रदेश महासचिव श्याम बन्जारा, सानो पाइलाकी सचिव डा सुषमा तिवारी द्विवेदीलगायतको सहभागिता थियो । आज पहिलो दिन विभिन्न सवारी चालकहरू, पैदलयात्री गरी एक हजार मास्क वितरण गरिएको संस्थाका अध्यक्ष लामाले बताए ।