समस्या नहुँदो हो भने शायद मानिस हुनुको औचित्य समाप्त हुने थियो होला । त्यसैले एउटा समस्याबाट पार नपाउँदै मानिसलाई अर्काे समस्याले पिरोल्छ । आज मेरो यो समस्या समाधान हुने हो भने मुक्ति पाउने थिएँ भनेर कसैले सोचेको हुन्छ र त्यो समस्या टर्छ पनि तर लगत्तै अर्काे समस्या आइलाग्छ । फेरि उसले यसैगरी सोच्छ, होशमा आएदेखि होश नगुमाउन्जेलसम्म यही चक्रमा मानिस पिरोलिरहन्छ । तर समस्या भने मानिस जीवित हुन्जेलसम्म आइ नै रहन्छ । आजभन्दा डेढ दशकअघि भारतबाट धान भित्रिने क्रममा नेपाली किसानहरूले निकै सास्ती खेप्नुपरेको थियो । त्यतिखेर भर्खर भर्खर भन्सार राजस्व गस्तीको जिम्मा नेपाली सेनाले पाएको थियो । भारतबाट टायर, गाडा र ट्याक्टरमा आउने धानसँगै नेपाली किसानहरू पनि सेनाको कोपभाजनको शिकार हुन पुग्थे । भारतीय धान भन्सार छली भिœयाउनेहरू चलाख थिए । उनीहरूले तत्कालीन गाविस, वडा कार्यालयबाट नेपाली किसानको धान भनेर सिफारिश लिएर वीरगंज अथवा अन्य गन्तव्यसम्म लैजान्थे । नेपाली किसानहरू भने आफ्नै देशमा एक ठाउँबाट अर्काे ठाउँमा बजारीकरणको लागि धान लैजाँदा सेनाबाट दुःख पाउँथे । धान खेतमा फल्छ र खेत शहरमा भन्दा बढी गाउँतिर छ । अनि पर्सा जिल्लाका धेरैजसो गाविस सीमासँग जोडिएका छन् । त्यहाँबाट किसानहरूले धान ल्याउँदा सेनाले समात्ने, भन्सार चलान गर्ने अनि नेपाली किसानहरूले अनाहकमा दुःख झेल्नुपर्ने अवस्था थियो ।

पछि नेपाली किसानहरूले पनि आफ्नो उत्पादन वीरगंजलगायतका बजारमा लैजानका लागि गाविस, वडा कार्यालयहरूको सिफारिश लिन थाले । लामो समय भयो नेपाली किसानहरूले आफ्नो उत्पादन धान वीरगंजसम्म ल्याउँदा यो समस्या झेल्नुपरेको छैन । तर यसैबीच नेपाली पशुपालकहरूले भने आफ्नो भैंसी, राँगा बिक्री गर्न निकै समयदेखि समस्या झेल्दै आइरहेका थिए। खुला सीमा भएको र भारतमा भन्दा नेपालमा पशुको राम्रो मोल पाउने हुनाले भारतीय भैंसी, राँगा नेपाली बजार अर्थात् हालको परवानीपुर र पुरानो जीतपुर भैंसी बजारसम्म पु¥याउने काम हुँदै आएको छ । यो क्रममा जीतपुर र परवानीपुरसम्म पु¥याउँदा भैंसी, राँगा व्यापारीमध्ये अधिकांशले पालिका, वडापालिकाको सिफारिश बनाएर लैजाने गरेका थिए । केहीले त सुरक्षाकर्मीहरूलाई प्रभावित पार्दै आफ्नो काम निकाल्दै आएका थिए । पशुको यो कारोबारमा पनि सुरक्षाकर्मीहरूको कोपभाजनको शिकार बन्थे नेपाली पशुपालकहरू । अहिले एक महीना जति मात्र भयो पर्सा जिल्लामा जगरनाथपुर गाउँपालिकाले जिल्लामा नै पहिलो पशुबजार सञ्चालनमा ल्याएको छ ।

पशुबजार सञ्चालनमा ल्याएसँगै आसपासका गापाका पशुपालकहरूलाई सो बजारमा आफ्नो पशु बिक्री गर्न सहज भएको छ र सुरक्षाकर्मीहरूबाट दुःख पाउनुपरेको छैन । पर्सेली पशुपालकहरूको समस्या टरे पनि भारतीय सीमावर्ती क्षेत्रका पशुपालकहरू समस्यामा बल्झिए । परवानीपुर, जीतपुरसम्मको लामो दूरी तय गर्नुपर्ने समस्याबाट पार पाएका भारतीय पशुपालकहरू अहिले पशु चोरीका कारण पीडित बन्न थालेका छन् । सातामा दुई दिन जगरनाथपुर गापामा पशुबजार लाग्ने गरेको छ । तर सोही बखत भारतीय सीमाका पशुपालकहरूको पशु चोरी हुने अनि पशुबजारमा बिक्री हुने क्रम बढेको छ । त्यसैले भनिन्छ, एउटा समस्या समाधान भएपनि अर्को समस्या पालो पर्खेर बसेको हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here