प्रस, वीरगंज, १४ असोज/

वीरगंज–४ बिर्तामा वर्षाैंदेखि बन्द रहेको दि जुद्ध म्याच फ्याक्ट्री लिमिटेडको वार्षिक साधारणसभा बिहीवार वीरगंजमा सम्पन्न भएको छ ।

साधारणसभाले आव २०४३/४४ देखि २०७६/७७ सम्मको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ । यस्तै, वार्षिक हिसाब तथा लेखापरीक्षण प्रतिवेदन र आव २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ति गर्ने विषय पनि साधारणसभाले पारित गरेको छ ।

साधारणसभाको उद्घाटन सत्रमा वडाध्यक्ष बैजुलाल स्वर्णकारले लामो समयदेखि कम्पनी बन्द हुँदा त्यसको जग्गालगायत भौतिक सम्पत्ति क्षति भएको भन्दै त्यसलाई बचाउन कम्पनी फेरि सक्रिय भएर लाग्नेमा आफू आशावादी रहेको बताए ।

अर्का वडाध्यक्ष जगतसाह कानूले कम्पनी बन्द भएपनि शेयरधनीको लगानी त्यसै अड्किरहेको अवस्थामा एउटा निकास दिन पनि कम्पनीले साधारणसभा गर्नु उचित भएको बताए ।

उद्घाटन सत्रमा लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेशमान सिंह, कम्पनीका सञ्चालकहरू श्रवणकुमार श्रेष्ठ, राकेश मास्के, सुरेन्द्र लाल, कम्पनी सचिव सुरेश पोखरेल, रामप्रसाद खनाललगायतको सहभागिता थियो ।

आव २०४३/४४ देखि निष्क्रिय रहेको कम्पनी २०४७/४८ देखि भने सम्बन्धित सरकारी कार्यालयलाई सूचना दिएर बन्द अवस्थामा थियो ।

लामो समयदेखि बन्द रहेको कम्पनीको प्रशासनिक कार्य सञ्चालनका साथै शेयरधनीको हितमा काम गर्नुपर्ने भएकोले औपचारिकरूपमा नियमबद्ध तरीकाले साधारणसभा सम्पन्न गरिएको कम्पनीले दाबी गरेको छ ।

यसैगरी, साधारणसभाले कम्पनी सञ्चालक समिति चयन गरेको छ । सञ्चालक समितिमा श्रवणकुमार श्रेष्ठ, राकेशकुमार मास्के, राजेशमान सिंह, राजेशकुमार गुप्ता, शेख अब्दुल र रूपेशमान सिंह छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here