प्रस, वीरगंज, १२ असोज/
मानसिक सन्तुलन बिग्रिएकी एकजना गर्भवती महिलालाई मानवसेवा आश्रम वीरगंजले उद्धार गरेको छ ।
मानवसेवा आश्रम वीरगंज शाखाकी संयोजक सानु मानवसेवाले धनुषा जिल्लाको धारापानीधाम नगरपालिका–९ धारापानीबाट रीनाकुमारी देवीको उद्धार गरेको बताइन् । उनको मानसिक सन्तुलन बिग्रिएको हुनाले रीनाकुमारीले मानिसलाई देख्दा गाली गर्ने, एक्लै कराइरहने गरिरहेकी थिइन् । मानवसेवा आश्रम वीरगंजबाट सामाजिक अभियन्ता प्रकाश थारू र अजितम पाण्डेलगायतको टोली त्यहाँ पुगेर उद्धार गरी ल्याएको उनले बताइन् ।
रीनाकुमारीलाई अहिले वीरगंजस्थित प्रभु हस्पिटलमा राखेर उपचार गराइरहेको सानु मानवसेवाले बताइन् । उनी गर्भवती भएकी र मानसिक सन्तुलन बिग्रिएको कारण उनको अस्पतालमा उपचार भइरहेको र उपचारपछि आश्रममा राखिने सानु मानवसेवाले बताइन् ।