भ्रष्टाचार गर्नेहरूलाई सुधार्न निकै कठिन हुन्छ । इमानदारलाई भ्रष्ट बनाउन जति सजिलो छ, भ्रष्टलाई इमानदार बनाउन त्यत्ति नै कठिन छ । भ्रष्टाचारीकै सन्दर्भमा एउटा रोचक प्रसङ्ग छ । एकजना राजा थिए, उनको राज्य प्रशासनमा एकजना कर्मचारी थिए, जुन नामुद भ्रष्ट थिए । राजासामु ती भ्रष्ट कर्मचारीका बारेमा गुनासा गर्नेहरूको दैनिकरूपमा सङ्ख्या वृद्धि भइरहेको थियो । राज्य प्रशासनका सबै ठाउँमा सरुवा गरेर थाकेका राजाले अति भएपछि ती भ्रष्ट कर्मचारीलाई समुद्रको लहर गन्ती गर्ने जिम्मा दिएर गुनासाबाट मुक्त हुन खोजे । तर ती भ्रष्ट कर्मचारीले समुद्रको लहर गन्ने क्रममा पनि आफ्नो भ्रष्ट आचरणमा कमी आउन दिएनन् र भ्रष्टाचार गरिछाडे । समुद्रको लहर गणना गर्ने क्रममा ती कर्मचारीले समुद्री जहाजलाई बीच समुद्रमैं रोक्न थाले । जहाजका कप्तानले भएन बा भनेर उनलाई घूस दिएर जहाज तटमा ल्याउँथे । भन्नुको अर्थ जसको आचरण भ्रष्ट हुन्छ, उसलाई सुधार्न धेरै नै मुश्किल हुन्छ ।

राजाका त्यही भ्रष्ट कर्मचारीको आचरण हाम्रो स्वास्थ्य कार्यालयका कर्मचारीहरूमा देखा परेको छ । मुलुक सङ्घीयतामा आएपछि तत्कालीन जिल्ला जनस्वास्थ्य कार्यालयका कामहरू स्थानीय पालिकामा हस्तान्तरण भए । अहिले स्वास्थ्य कार्यालय नामकरण भएको यो कार्यालयमा पहिले जस्तो काम पनि छैन र बजेट पनि छैन । अहिले कोरोना महामारीका कारण स्वास्थ्य कार्यालयहरूमा केही मात्रामा काम देखिएका छन्, त्यो पनि खोप केन्द्रित । खोप कार्यक्रममा कार्यालय प्रमुखदेखि सबै कर्मचारी आस लगाएर बसेका छन् । खोप कार्यक्रम अन्तर्गत तालीम दिने, स्वास्थ्यकर्मी छनोट गर्ने, स्वयंसेवक, स्वयंसेविका भर्ना गर्ने आदि कामरू पर्छन् । यस प्रकारका गतिविधिको लागि सरकारले बजेट दिएको छ । अनि कोरोनाविरुद्धको खोप भने निश्शुल्क लगाउनुपर्छ र सोको लागि अहिलेसम्म सरकारले कुनै शुल्क निर्धारण गरेको छैन । तर यही अवसरको फाइदा उठाउने कर्मचारीहरूको पनि कमी छैन । खोप बिक्री भएको कुरा वीरगंजबाट शुरू भएको हो । नारायणी अस्पतालका एकजना चिकित्सकले शहरका समृद्ध परिवारका सदस्यहरूलाई रु पाँच हजारमा प्रतिमात्रा खोप बिक्री गरेको समाचारमा आएको थियो । एकजना प्रतिष्ठित व्यापारीले खोप खरीद गरेर लगाएको सार्वजनिकस्थलमा भनेको कुरा नै समाचार बनेको थियो । पछि छिमेकी भारतको रक्सौलबाट पनि कोभिशिल्ड खोप खरीद गरी वीरगंज ल्याएर लगाइएको कुरा प्रकाशमा आएको थियो । अहिले वैदेशिक रोजगारमा जानेहरूले रौतहटमा रु १५ सय तिरेर खोप लगाएको कुरा प्रकाशमा आएको छ ।

यसको मतलब खोपको जिम्मेवारी पाएको स्वास्थ्य कार्यालयका कर्मचारीबाट गडबडी भइरहेको छ । निर्धारित उमेर समूहको गणना भएर खोप आउँछ । सो समूहका मानिसहरूमध्ये थोरैले नलगाएर जोगिएको र सङ्ख्याभन्दा बढी देखाएर खोपको अपचलन गरिएको हुनुपर्छ । जे भएपनि खोप शुल्क लिएर बिक्री गर्न पाइन्न र त्यसो भएको पाइएमा तुरुन्त सम्बन्धित निकायले कारबाई गर्नुपर्ने पर्छ । फास्ट ट्र्याकबाट कारबाई प्रक्रिया नचालिएकाले वीरगंजबाट शुरू भएको खोप अपचलन अहिले रौतहटमा पुगेको छ । भोलि कताकतासम्म फैलिने हो भन्न सकिन्न ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here