काठमाडौं, ८ असोज/रासस
चालू आर्थिक वर्षको पहिलो दुर्ई महीनामा आयातसँगै निर्यातमा वृद्धि भएको छ। भन्सार विभागले सार्वजनिक गरेको चालू आव २०७८–७९ को भदौ मसान्तसम्मको तथ्याङ्क अनुसार आयातमा ७५.८६ र निर्यातमा ११५.४३ प्रतिशतले वृद्धि भएको हो। तथ्याङ्क अनुसार दुर्ई महीनामा रु ४४ अर्ब तीन करोड ९५ लाख ९१ हजार बढीको स्वदेशी वस्तुको निर्यात भएको छ भने रु तीन खर्ब १४ अर्ब ५१ करोड ७१ लाख बराबरको विदेशी वस्तुको आयात भएको छ।
गत आव २०७७–७८ को समीक्षा अवधिमा रु २० अर्ब ४४ करोड बराबरको निर्यात भएको थियो भने रु एक खर्ब ७८ अर्ब ८४ करोड ६२ हजार बराबरको आयात भएको थियो। विभागको तथ्याङ्क अनुसार गत साउन महीनामा रु एक खर्ब ५० अर्ब ७३ करोड १७ लाख १९ हजार बराबरको विदेशी वस्तुको आयात भएको हो। यस्तैगरी साउन महीनामा रु २० अर्ब ७६ करोड ५१ लाख बराबरको स्वदेशी वस्तुको निर्यात भएको थियो।
व्यापार घाटा दुर्ई खर्ब ७० अर्ब
विभागले चालू आवको दुई महीनामा रु दुर्ई खर्ब ७० अर्ब ४७ करोड बराबरको व्यापार घाटा भएको जनाएको छ। गत वर्षको सोही अवधिमा नेपालले रु एक खर्ब ५८ अर्ब ४० करोड ३२ लाख बराबरको व्यापार घाटा बेहोरेको थियो। गत वर्षको तुलनामा चालू आवको सोही अवधिमा नेपालले ७०.७५ प्रतिशतले व्यापार घाटा बेहोरेको हो।
यस्तै पछिल्लो दुर्ई महीनामा नेपालले रु तीन अर्ब ५८ अर्ब ५५ करोड बराबरको वैदेशिक व्यापार गरेको छ। गत वर्ष सोही अवधिमा नेपालले रु एक खर्ब ९९ अर्ब २८ करोड बराबरको वैदेशिक व्यापार गरेको थियो। गत वर्षको सोही अवधिको तुलनामा चालू आवको दुर्ई महीनामा ७९.९२ प्रतिशतले वैदेशिक व्यापार बढेको छ।
११८ देशबाट आयात
दुर्ई महीनाको अवधिमा ११८ देशबाट रु तीन खर्ब १४ अर्ब ५१ करोड ७१ लाख बराबरको विदेशी वस्तुको आयात भएको छ। तथ्याङ्क अनुसार यस अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ। भारतबाट रु एक खर्ब ८७ अर्ब ७१ करोड ८० लाख ४५ हजार बराबरको आयात भएको छ। भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ। चीनबाट रु ४२ अर्ब ८४ करोड ७५ लाख बराबरको आयात भएको छ। समीक्षा अवधिमा भारतमा रु ३६ अर्ब १७ करोड ४३ लाख र चीनमा रु १५ करोड ८० लाख बराबरको निर्यात भएको छ।