प्रस, रक्सौल, ५ असोज/
पाकिस्तानका दुई संदिग्ध व्यक्ति पक्राउ परेपछि भारत, रक्सौलमा प्रहरीले चेकजाँचलाई तीव्रता दिएको छ ।
आतङ्कवादी हमला हुने भन्दै रेलवे सुरक्षा बलका मण्डल सुरक्षा आयुक्तले बिहार सुबेको १३ जिल्लाका एसपी र रेल पुलिसलाई सतर्क हुन आदेश दिए । यस क्रममा प्रहरीले रेलका यात्रीहरूको चेकजाँचलाई तीव्रता दिएको छ ।
दिल्ली प्रहरीले छजना आतङ्कवादीलाई सोधपूछपछि आइएसआईका हुमेदुर रहमान र जाकिर शेखलाई पक्राउ गरेको थियो । दुवैजना पक्राउ परेपछि भारत बिहारमा आतङ्कवादी हमला हुने भन्दै प्रहरीले चेकजाँचलाई तीव्रता दिएको हो ।
बिहारको समस्तीपुर, दरभङ्गा, सीतामढी, सुपौल, मोतिहारी, बेतिया, मुजफ्फरपुर, खगडिया, मधुबनी, बेगुसराय, सहरसा, मधेपुरा, पूर्णियालगायतका स्थानमा प्रहरीले चेकजाँचलाई तीव्रता दिएको छ ।