प्रस, रौतहट, ५ असोज ।
प्रहरीले ४० किलो चाँदीसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मलङ्गवा नगरपालिका–२ का ३५ वर्षीय विद्यानन्द साह सोनार रहेका छन् ।
मङ्गलवार बिहान ७ः३० बजे गौर नगरपालिका वडा नं ४ गौर बसपार्कमा अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको प्रहरी चेकिङ टोलीले उनलाई पक्राउ गरेको हो ।
उनको साथबाट ३९ लाख ४४ हजार मूल्य बराबरको ४० किलो चाँदी बरामद गरेको छ । पक्राउ परेका उनलाई आवश्यक कारबाईको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पटाइएको प्रहरीले जनाएको छ ।