ओट्टावा ५ असोज/एएफपी

क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुडो तेस्रोपटक निर्वाचित भएका छन् । गत सोमवार भएको संसदीय निर्वाचनमा उनी निर्वाचित भएका हुन् । मतगणना जारी रहेकाले अहिले उनको लिबरल पार्टीले अधिकांश ठाउँमा अग्रता कायम राखेको छ । उनी र उनको पार्टीको जितसँगै उनी तेस्रोपटक प्रधानमन्त्री बन्नेछन् ।

निर्वाचनमा उनको दल र उनी फेरि विजयी हुने पूर्वानुमान अनुसार नै उनी विजयी भएको स्थानीय सञ्चार माध्यमहरूले लेखेका छन् । उनी यस अघि सन् २०१५ देखि देशको प्रधानमन्त्री रहँदै आएका थिए । त्यसपछि उनले पछिल्लो ६ वर्षमा अहिलेसम्म तीनपटक आम निर्वाचन जितेका हुन् ।

अहिले ४९ वर्ष पुगेका टु«ुडो कुबेक शहरको पापीनोबाट सांसद निर्वाचित भएको राज्यद्वारा सञ्चालित प्रसारण संस्था सिबिसीले जनाएको छ । सिबिसी र सिटिभी दुवैले लिबरल दलको सरकार बन्ने अनुमान गरेका थिए ।

प्रधानमन्त्री ट्रुडोले पनि आफू निर्वाचित भएको जानकारी दिंदै निर्वाचन अधिकृतहरूको प्रशंसासहित उनीहरूलाई धन्यवाद दिएका छन् ।

अहिले मतगणना भइरहँदा १४१ ठाउँमा उनको पार्टीको अग्रता रहेको छ भने विपक्षी दल कन्जरभेटिभ ९९ ठाउँमा अगाडि देखिएको छ । क्यानडामा अहिले ३३८ सिटका लागि निर्वाचन भएको हो । बहुमतका लागि कम्तीमा १७० ठाउँमा जित हासिल गर्नुपर्दछ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here