प्रस, परवानीपुर, २६ भदौ/
वीरगंज–पथलैया औद्योगिक कोरिडोरको चैनपुर चोकभन्दा पश्चिम पर्छ, सुखचैना गाउँँ । वीरगंज महानगर पालिकाको १८ नम्बर वडामा पर्ने उक्त गाउँँमा अहिले पनि सहज यातायात सुविधा छैन।
केडिया आँखा अस्पतालको पश्चिमपट्टि अवस्थित उक्त गाउँँको मुख्य बाटो तथा गाउँँमा प्रवेश गर्ने दुईवटा बाटोको अवस्था अहिले एकदमै जीर्ण छ । वर्षात्को बेला उक्त गाउँमा पैदल, साइकल, मोटरसाइकल र अन्य सवारीसाधन लिएर प्रवेश गर्न डर लाग्छ– गाउँँलेहरू बताउँछन्।
सुखचैनाको दुरवस्थाले वीरगंज महानगरको विकास तथा स्थानीय उद्योग कलकारखानालाई गिज्याइरहेको स्थानीय शिक्षक रामेश्वर पटेल बताउँछन् । उनका अनुसार वीरगंजभन्दा ७ किलोमिटर उत्तर रहेको उक्त गाउँ प्रतिष्ठित औद्योगिक घरानाले सञ्चालन गर्ने दुईवटा उद्योगको बीचमा रहे तापनि बाटो निर्माण र मरम्मत सम्भारमा सरोकारवालाहरूले बेवास्ता देखाएका छन्।
गाउँँको सुखचैना माविदेखि केडिया आँखा अस्पतालको दक्षिणपट्टि सुन्दर फर्निचर नजीक निस्किने एउटा बाटो छ भने अर्काे विद्यालयबाट चैनपुर चोकसम्म दोस्रो बाटो छ । सोही ठाउँमा रूँगटा समूह र चाचान समूहका ठूला उद्योग भए तापनि ती उद्योगहरूले गाउँँको बाटो निर्माणमा खासै पहल गरेका छैनन् ।
यी उद्योगमा मालसामान लिएर आउने गाडीले गर्दा उक्त बाटो मरम्मत गरे पनि खराब हुने गरेको छ । वर्षात्को बेला उद्योगका मालवाहक ट्रकहरू बाटोमैं खडा गरिन्छ । हिलाम्मे सडकमा गाडीको आउजाउले गर्दा सडक भएर यात्रा गर्न कठिन हुने गर्छ ।
त्यसैगरी गाउँको मुख्य बाटो बनाउने सम्बन्धमा वडा नं १८ र वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगी उदासीन बन्दा समस्या बढेको छ । दुई दिन अघि सुखचैना माविमा प्रमुख अतिथिको रूपमा नगरप्रमुख सरावगीले भवन उद्घाटन गर्दाको बेला पनि स्थानीयले सडक मरम्मत र पक्की ढलान गर्न आग्रह गरेका थिए । विद्यालयमा आउँदा उनले सोही दिन सडकमा ग्रेभल खसालेर वर्षात्को पानी जम्ने खाल्डाखुल्डी भर्ने काम गराएका थिए ।
उद्योगको धूवाँ, धूलो, छाई र प्रदूषणको मारबाट गाउँ आजित भए तापनि सामाजिक उत्तरदायित्व अन्तर्गत ती उद्योगहरूले सुखचैनाको लागि केही नगरेको गाउँलेहरूको गुनासो छ ।