न्युयोर्क, भदौ २७/एएफपी
संयुक्त राज्य अमेरिकाले सेप्टेम्बर ११ को आतङ्कवादी घटनामा मारिएका प्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शनिवार २० औं स्मृति दिवस मनाएको छ । अफनानिस्तानबाट अमेरिकी सुरक्षा फौज फिर्ता बोलाएपछि मनाइँदै गरेको यो भावुक स्मृति दिवसमा सहभागीहरूले आफन्त गुमाउन पर्दाको पीडा विभिन्न किसिमले व्यक्त गरेका थिए । उक्त त्रासदीपूर्ण हमलामा २,७५३ जनाले ज्यान गुमाएका थिए भने कैयौ घाइते र अपाङ्ग भएका थिए ।
न्युयोर्कस्थित ट्वीन टावरमा विमान दुर्घटना गराई अलकायदाले गरेको आतङ्कवादी हमलाका कारण अमेरिकाले कडा सुरक्षा व्यवस्थाबीच थप सुरक्षा चुनौती बेहोर्दै आएको छ । उक्त स्मृति दिवसको छ शृङ्खलामा आयोजना गरिएको कार्यक्रम बिहान ८ः४६ मा घण्टी बजाएर मौन धारण गरिएको थियो, जुन अपहृत विमानले उत्तरतर्फको विश्व व्यापार केन्द्रको टावरमा आक्रमण गरेको समय अनुसार मिलाइएको थियो ।
आफन्तहरूले आफ्ना मृतकहरूको तस्वीर टाँसेर भावुक बन्दै उक्त कार्यक्रममा सहभागिता जनाएका थिए । सहभागी मध्येका एक जोन पोचर डज्मा जसले उक्त घटनामा भाइ गुमाएका थिए, उक्त घटना हिजो मात्र घटेकोजस्तै लाग्ने र प्रत्येक वर्ष यसरी नै घटनाको स्मरण गरिरहेको पीडा सुनाएका थिए ।
त्यसैगरी पूर्व राष्ट्रपति जर्ज डब्लु बुशले त्यति बेलाको कारुणिक दृश्यको स्मरण गर्दै आगो नियन्त्रण गर्ने क्रममा ३४३ जनाले ज्यान गुमाएको घटना सधैं स्मृतिमा दुःखद विम्बको रूपमा खेलिरहेको बताए । त्यो हृदयविदारक घटना सपनामा बल्झिरहेको पनि बुशले उल्लेख गरेका छन् ।
सोही घटनाको स्मृति दिवसका कार्यक्रम पेन्टागन र शान्कसभिलमा पनि आयोजना गरिएको थियो । पूर्व राष्ट्रपति बुशले त्यति बेलाको जस्तो राष्ट्रिय एकता र राजनीतिक नेतृत्वको दूरदृष्टि अहिले नदेखिएकोमा आफू राष्ट्र र आगामी सन्ततिको भविष्यबारे चिन्तित रहेको विचार व्यक्त गरेका थिए । विश्वभरका नेताहरूले सो घटनाको निन्दा र त्यसविरुद्ध एकताका पक्षमा सन्देश पठाउँदै त्यो आक्रमण पश्चिमा मूल्य र मान्यता माथिको आक्रमण भएको बताएका छन् ।
त्यसैगरी शान्कसभिलमा आयोजित कार्यक्रमा बोल्दै राष्ट्रपति बाइडेनले अमेरिका एकजुट भएर विश्वको नेतृत्व गर्नुपर्ने र आफ्नो विगतको एकता र शक्ति पुनः प्राप्त गरेर वास्तविक अर्थमा विश्वको नेतृत्वका निम्ति सबैलाई विश्वासमा ल्याउनुपर्ने कुरामा जोड दिएका थिए ।
पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले बाइडेन प्रशासनको कमजोरी र अक्षमताले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता र तालिबानको कब्जाले अमेरिकी जनता र सेना लज्जित हुनुपरेको बताए। पूर्व राष्ट्रपति ट्रम्पले अफगानिस्तानको घटनाले अमेरिकी राष्ट्रपति बाइडेनको परीक्षाको घडी नजीकिएको बताएका छन् ।
उनले थपे–अमेरिकी सेनाको लज्जास्पद बहिर्गमन, १३ सैनिकको हत्या र तालिबानको दिग्विजयले अमेरिकालाई थप चिन्तित तुल्याएको छ, शनिवार आयोजित उक्त कार्यक्रममा राष्ट्रपति बाइडेनले भने राष्ट्रका नाममा सम्बोधन गर्दै उक्त हमलापछि त्रास र आतङ्कविरुद्ध सृजना भएको एकता र सहकार्यको भावनालाई पुनः जागृत गराउन आह्वान गरेका थिए । रासस