काठमाडौं, २६ भदौ/रासस

लेग स्पिनर सन्दीप लामिछाने एक्लैले छ विकेट लिएपछि नेपालले पपुवा न्यूगिनीविरुद्धको क्रिकेट सिरिज जितेको छ । नेपालले पपुवा न्यूगिनीलाई दोस्रो एकदिवसीय खेलमा १५१ रनअन्तरले पराजित गर्दै सिरिज दुई शून्यले आफ्नो पक्षमा पारेको हो ।

ओमानमा भएको एकदिवसीय सिरिज अन्तर्गत शुक्रवारको डे–नाइट खेलमा नेपालका लामिछानेले उत्कृष्ट बलिङ गर्दै पपुवा न्यूगिनीको पारीलाई ध्वस्त पारे । उनले पाँच दशमलव एक ओभर बलिङ गर्दै मात्र ११ रन खर्चिए । लामिछानेको यो नै हालसम्मको उत्कृष्ट बलिङ हो । यसअघि उनले सन् २०२० मा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकाविरुद्धको खेलमा १६ रन खर्चेर छ विकेट लिएका थिए ।

नेपालले पपुवा न्यूगिनीसामु जीतका लागि २३४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङ गर्ने क्रममा पपुवा न्यूगिनीले १९ दशमलव एक ओभरमा सबै विकेट गुमाएर ८२ रन मात्र बनाउन सक्यो । उसका लागि टोनी उराले १९, चाल्र्स अमिनीले १६, नर्मन भानुआले १२, सेसे बाउले ११ र गाउडी टोकाले १० रन बनाए । बलिङतर्फ नेपालका लागि सोमपाल कामी, विक्रम सोब र सुशन भारीले एक/एक विकेट लिए ।

यसअघि नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ४९ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर २३३ रन बनाएको थियो । सङ्कटमा परेको नेपालको पारीलाई रोहितकुमार पौडेल र करण केसीले माथि उकासेका थिए । पौडेलले उत्कृष्ट ब्याटिङ गर्दै ८६ रनको योगदान दिए । सो क्रममा उनले १२३ बल खेल्दै तीन छक्का र दुई चौका हाने । यस्तै, केसीले २६ बलमा ४२ रन बनाए । यसमा उनको चार छक्का र दुई चौका सामेल थियो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ७० बलमा दुई छक्का र तीन चौकाको मदतमा ४५, विनोद भण्डारीले १७ तथा सोमपाल कामीले ११ रन बनाए । बलिङतर्फ पपुवा न्यूगिनीका चाड सोपरले तीन, कबुआ मोरिया र नर्मन भानुआले दुई/दुई तथा चाल्र्स अमिनीले एक विकेट लिए।

यसअघि पहिलो एकदिवसीय खेलमा नेपालले पपुवा न्यूगिनीलाई दुई विकेटले पराजित गरेको थियो । नेपालले अब सोमवारदेखि आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासित त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ । ओमान सिरिज आगामी असोज ४ गतेसम्म सञ्चालन हुनेछ । त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई/दुई खेल खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here