राबात, २६ भदौ/सिन्ह्वा

मोरक्कोमा शुक्रवार नयाँ प्रधानमन्त्री नियुक्त गरिएको छ । मोरक्कोका राजा मोहम्मद छैटौंले अजिज अखान्नौचलाई नयाँ प्रधानमन्त्रीका रूपमा नियुक्त गरेका हुन् ।

नेशनल ¥याली अफ इन्डेपेन्डेन्ट (आरएनआई)का अध्यक्षसमेत रहेका अखान्नौचलाई मन्त्रिपरिषद् गठन गर्ने जिम्मेवारीसमेत राजाले दिएका छन् ।

यही सेप्टेम्बर ८ मा भएको निर्वाचनको नतीजाका आधारमा उनलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको राजदरबारबाट प्रकाशित वक्तव्यमा उल्लेख गरिएको छ ।

निर्वाचनमा उनको पार्टीले जीत हासिल गरेको छ । प्रधानमन्त्रीमा नियुक्त भएका अजिज अहिले ६१ वर्षको भएका छन् । उनले सन् २००७ देखि २०१७ सम्म कृषिमन्त्रीका रूपमा सेवा गरेका थिए ।

उनको आगमनसँगै जस्टीस एन्ड डेभलपमेन्ट पार्टीको सरकार अन्त्य भएको छ । सो पार्टीले गत सन् २०११ देखि गठबन्धन सरकार चलाउँदै आएको थियो ।

मोरक्कोमा गत बुधवार तल्लो सदनका सदस्य र स्थानीय तहका प्रतिनिधि चयनका लागि मतदान भएको थियो ।

निर्वाचनका लागि देशभरि झन्डै एक करोड ७५ लाख आधिकारिक मतदाता रहेका थिए । कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै मतदान केन्द्र तोकिएको र मतदान केन्द्रमा भीडभाड नहुने व्यवस्था गरिएको थियो ।

तल्लो सदनका लागि देशभरिबाट ३९५ जना छानिने गरी निर्वाचन भएको थियो । त्यसैगरी, स्थानीय प्रतिनिधिका रूपमा झन्डै ३१ हजार चुनिने गरी निर्वाचन भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनका लागि मोरक्कोका मात्रै झन्डै चार हजार ५०० र विदेशी झन्डै १०० निकायका पर्यवेक्षक खटिएका थिए ।

निर्वाचन आयोगले प्रान्तीय परिषद्को निर्वाचन भने यही सेप्टेम्बर २१ र माथिल्लो सदनको निर्वाचन अक्टोबर ५ मा गर्ने तयारी गरेको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here