काबुल, २३ भदौ/एएफपी

तालिबानले हिजो सरकार गठन गरेको छ । उनीहरूले गठन गरेको सरकार उदार नभएको अर्थात् कडा खालको भएको भन्दै त्यसको विरोध भएको छ । केही दिनअघि मात्र पनि तालिबानले सरकारमा महिलाको प्रतिनिधित्व गराउनुपर्ने माग गर्दै महिलाहरूले विरोध प्रदर्शन गरेका थिए । सो प्रदर्शनमा तालिबानले अश्रुग्याँस हान्न लगाएको थियो । यसअघि तालिबानले उदार खालको र समावेशी सरकार बनाउने भनेको थियो ।

व्यवहारमा त्यसो हुन नसकेको भन्दै विरोध कायमै रहेको बताइएको छ । तालिबान सरकारको विरुद्धमा अफगानिस्तानका विभिन्न शहरमा अहिले पनि विरोध जारी रहेको छ । हेरातमा भएको यस्तै विरोधका क्रममा दुईजनाको ज्यान पनि गएको थियो ।

उनीहरूले शुरूमैं समावेशी खालको सरकार बनाउने र त्यसमा महिला सहभागिता पनि हुने भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए । अगस्त १५ मा अफगानिस्तानका तालिबानले यहाँको सत्ता कब्जा गरेका थिए । आफ्नो सैन्य शक्तिद्वारा सत्ता कब्जा गरेका उनीहरूले हिजो मात्र नयाँ सरकार घोषणा गरेका थिए ।

तालिबानले व्यावहारिकता प्रदर्शन गरेकाले यसको कामको मूल्याङ्कनबाट प्रस्ट हुने
दोहा/एएफपी

कतारले तालिबानले व्यावहारिकताको प्रदर्शन गरेकोले उनीहरूको कामलाई निर्विवादित शासकको रूपमा मूल्याङ्कन गर्नुपर्ने जनाएको छ ।

कतारी सहायक विदेशमन्त्री लोल्वाह अल–खतरले अन्तर्वार्ता दिंदै तालिबान शासकलाई इस्लामवादी शासकको मान्यता भने तत्काल दिन नसकिने घोषणा गरिन् । उनले अफगानिस्तानको भविष्यको निर्णय अफगानी जनताले नै गर्ने र यो अन्तर्राष्ट्रिय समुदायको विषय नभएको जनाएकी छन् । यसअघि दोहाले तालिबानको विषयमा कतारमा राजनीतिक कार्यालय खोलेर मध्यस्थतासमेत गरेको थियो ।

तालिबानले व्यावहारिकताको प्रदर्शन गरेकाले यस अवसरलाई सबैले सदुपयोग गर्नुपर्ने र तालिबानका अन्य थप सार्वजनिक कामको मूल्याङ्कन गर्नुपर्ने सहायक मन्त्री खतरले उल्लेख गरेकी छन् । उनले हालको अफगानिस्तानका शासक अन्तरिम र डेफ्याक्टो भएकोले तत्काल यसले औपचारिक मान्यता पाउन भने केही समय लाग्ने बताएकी छन् ।

तालिबानले मुल्लाह मोहम्मद हसन खुन्दको नेतृत्वमा भर्खरै अन्तरिम कार्यवाहक सरकार गठन गरेको छ तर कतारलगायत संयुक्त राष्ट्रसङ्घका कुनै पनि सदस्य राष्ट्रबाट मान्यता भने पाएको छैन ।

खतरले तालिबानी नयाँ शासकबाट केही सकारात्मक सङ्केतसमेत देखिएको उल्लेख गरेकी छन् । कतार सरकारकी प्रवक्तासमेत रहेकी खतरले धेरै महिला विद्यार्थीसमेत प्रदर्शनका क्रममा काबुल छोड्न बाध्य भएको विषयलाई उल्लेख गरेकी छन् । उनका अनुसार तालिबानले कतारबाट तत्काल औपचारिक मान्यता भने नपाउने, कतार यो विषयमा धेरै टाढा नरहेको र समदूरीमा रहेर सबै कुराको मूल्याङ्कन गरिरहेको जनाएकी छन् ।

उनले यस विषयमा तालिबानको अन्तरिम सरकारको घोषणापछिको अमेरिकाको प्रतिक्रियासमेतलाई उल्लेख गरेकी छन् । अमेरिकाले तालिबानको नयाँ सरकारको घोषणामा सबै तालिबानी सदस्य मात्र परेको र कुनै महिला नसमेटिएको विषयलाई चासो व्यक्त गरेको छ र भनेको छ यो एउटा कामचलाउ सरकार भएकोले यसको मूल्याङ्कन शब्दबाट भन्दा पनि कामबाट गरिने बताएको छ ।

अफगानिस्तान एक सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएकोले यहाँका जनताले आफ्नो भाग्य र भविष्यको निर्णय गर्न स्वतन्त्र रहेको खतरले जनाएकी छन् । उनले अन्तर्राष्ट्रिय समुदायले यहाँको जनताको भाग्य, भविष्यको विषयमा कुनै निर्देशन, नियन्त्रण गर्न नमिल्ने र अपेक्षित सहयोग भने गर्न सक्ने बताएकी छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here