प्रस, वीरगंज, २१ भदौ/
राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम अन्तर्गत जिल्ला समन्वय समिति, पर्साको विस्तारित बैठक सोमवार सम्पन्न भएको छ ।
शिक्ष्Fा विकास तथा समन्वय एकाइ कार्यालय, पर्साका प्रमुख खतबहादुर श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले इजिआरपीको लागि नौवटा पालिका र १० जना विज्ञ छनोट गरेको छ ।
यसैगरी, भदौभित्र नौवटा पालिकामा कार्यविधि अनुसार कार्यदल गठन गरी पठाउने निर्णय गरेको राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमका जिल्ला संयोजक रामनरेश साहले बताए ।
पर्सा जिल्लाका वीरगंज महानगर, बहुदरमाई, पर्सागढी नगरपालिका, विन्ध्यवासिनी, पटेर्वासुगौली, पकाहामैनपुर, जीराभवानी, सखुवाप्रसौनी र जगरनाथपुर गाउँपालिका छनोटमा परेका छन् ।
बैठकमा शिक्षा संयोजक साहले चारवटा पालिकाको शैक्षिक अवस्था दयनीय भएको बताए । उनले बैठकमा आव २०७७/७८ को समीक्षा, २०७८/७९ को कार्यविधि, शैक्षिक प्रोफाइल, योजना, कार्यदल प्रोफाइल, गापामा वितरण भएका र वितरण गरिने सामग्रीका बारेमा जानकारी गराएका थिए ।
बैठकमा वीरगंज महानगरको शिक्षा शाखा प्रमुख अरविन्दलाल कर्ण, गैसस महासङ्घका अध्यक्ष छटु साह, नेपाल शिक्षक महासङ्घ पर्साका अध्यक्ष तीर्थराज यादव, नेपाल पत्रकार महासङ्घ, पर्साका उपाध्यक्ष युवराज खड्कालगायतको सहभागिता थियो ।