प्रस, सप्तरी, २१ भदौ/
नेपाली काङ्ग्रेस सप्तरीले केन्द्रमा सिफारिश गरी पठाएकाहरूलाई केन्द्रले क्रियाशील सदस्यता नदिए कडा प्रतिकार गर्ने चेतावनी दिएको छ । सप्तरी काङ्ग्रेसका सभापति दिनेश यादवले सोमवार जिल्ला सदरमुकाम राजविराजमा पत्रकार सम्मेलन गरी उक्त चेतावनी दिएका हुन् ।
“पार्टीको विधान, नियमावली र केन्द्रीय परिपत्रबमोजिम विधिवत् क्रियाशील फाराम भरेर केन्द्रलाई बुझाएका छौं । योग्यता पुगेका कार्यकर्ताले सदस्यता नपाउनुपर्ने न्यायोचित कारणविना सदस्यता रोक्का गरिंदै छ । सप्तरीको फाइल नै बन्द गरिएको छ,” सभापति यादवले भने ।
कार्यक्रममा सभापति यादवले पार्टीप्रति आस्थावान् जिल्लाभित्रका करीब ९ हजार नयाँ क्रियाशील सदस्यले आवश्यक कागज, प्रमाण, प्रक्रिया पूरा गरेर सदस्यताबापतको शुल्कसमेत तिरिसकेको अवस्थामा पार्टीको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले स्थगित गरेको भन्दै आपत्ति जनाए ।
यादवले विभिन्न पार्टी परित्याग गरी नेकामा प्रवेश गरेका नेता, कार्यकर्ताहरूलाई पनि सदस्यता प्रदान गर्नुपर्ने न्यूनतम शर्त हुँदाहुँदै पनि उनीहरूको फाराम उपरसमेत कुनै कारबाई नगरी सप्तरी जिल्लालाई केन्द्रले ठूलो अन्याय गरेको बताए । “काङ्ग्रेसको यो रवैयाप्रति जिल्ला कार्यसमिति घोर भत्र्सना गर्दछ,” उनले भने । जिल्लामा क्रियाशील सदस्यता वितरण नगरेको खण्डमा विरोधका लागि कडाभन्दा कडा कदम उठाउने पार्टी जिल्ला समितिले नै निर्णय गरेको उनले बताए ।