काठमाडौं, २० भदौ/रासस

भारतसितको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । भारतसँग नेपाल २–१ गोलअन्तरले पराजित भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा भारतले नेपालमाथि जीत हासिल गरेको हो ।

भारतका लागि फारुख चौधरी र कप्तान सुनील क्षेत्रीले गोल गरे । नेपालका लागि सान्त्वना गोल तेज तामाङले गरे । पहिलो हाफमा प्रदर्शन गरेको खेललाई दोस्रो हाफमा निरन्तरता दिन नसक्दा नेपाल पराजित हुन पुगेको हो ।

नेपाल र भारत दुवैले पहिलो हाफमा गोलरहित बराबरी खेलेका थिए । दुवै टोलीका तर्फबाट पटक–पटक गोलको प्रयास भए पनि सफल भने हुन सकेनन् । दोस्रो हाफमा मैदान प्रवेश गरेका फारुख चौधरीले खेलको ६२औं मिनेटमा भारतका लागि पहिलो गोल गरेका थिए । यस्तै, खेलको ८०औं मिनेटमा भारतीय कप्तान सुनील क्षेत्रीले आफ्नो टोलीका लागि दोस्रो गोल गरे । उनी विनाअवरोध सहजै गोल गर्न सफल भए ।

भारतले दुई गोल गरेपछि नेपालले आक्रामक खेल खेलेको थियो । खेलको ८७औं मिनेटमा नेपालका लागि तेज तामाङले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरे । उनले झन्डै २० यार्ड टाढाबाट गोल गरेका थिए ।

नेपाली टोलीले दोस्रो हाफमा पनि गोल गर्ने उत्कृष्ट मौका पाए पनि त्यसको सदुपयोग गर्न भने सकेन । यसअघि बिहीवार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र भारतले एक/एक गोलको बराबरी खेलेका थिए ।

नेपालका लागि अञ्जन विष्टले गोल गरेका थिए भने भारतका लागि अनिरुद्ध थापाले गोल गरेका थिए । आज खेलको ७४औं मिनेटमा भारतीय टोलीका प्रशिक्षक इगिर स्टिमिकले पहेंलो कार्ड पाएका थिए । भारतविरुद्धको दोस्रो खेलमा नेपालका राजन गुरुङ र गोलकीपर विशाल श्रेष्ठले डेब्यु गरेका थिए ।

खेलको म्यान अफ दि म्याच नेपालका तर्फबाट तेज तामाङ तथा भारतका तर्फबाट अनिरुद्ध थापा घोषित भए । दुवैले जनही रु २५ हजारको चेक र ट्रफी प्राप्त गरे । यस्तै, प्लेयर अफ दी सिरिज भारतका रहिम अली घोषित भए । उनले रु एक लाखको चेक र ट्रफी पाए । उनीहरूलाई गृहमन्त्री बालकृष्ण खाँण, राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाल, अखिल नेपाल फूटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पालगायतले चेक र ट्रफी वितरण गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here