प्रस, वीरगंज, २० भदौ/

नागरिकताविहीन नेपालीहरूका जिल्ला संयोजक अनिलकुमार राउतको नेतृत्वमा आइतवार प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेलाई ज्ञापनपत्र बुझाइएको छ ।

नेपालको संविधान २०७२ को भाग २ को उपधारा १० अनुसार कुनै पनि नेपाली नागरिकलाई नागरिकता पाउने हकबाट वञ्चित गरिनेछैन भनी भाग २ धारा ११ को उपधारा ३ अनुसार यो संविधान प्रारम्भ हुनुभन्दाअघि जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गरेका नागरिकका सन्तानले बुबाआमा दुवै नेपालका नागरिक छन् भने निज बालिग भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ भन्ने व्यवस्था हुँदाहुँदै अहिले यस्ता नागरिकहरूका सन्तानहरूलाई नागरिकता दिनबाट रोक लगाइएकोमा उनीहरूले आपत्ति प्रकट गरे ।

यसैगरी, संविधानको धारा ११ को उपधारा ५ अनुसार नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमैं बसोबास गरेको र बुबाको पहिचान हुन नसकेको व्यक्तिलाई वंशजको आधारमा नेपालको नागरिकता प्रदान गरिनेछ भन्ने व्यवस्था हुँदा सो अनुसार नागरिकता वितरण नभएको भनी ज्ञापनमा आपत्ति जनाइएको छ ।

२०७५ भदौ ५ गते प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा नागरिकता विधेयक दर्ता भएपनि अहिलेसम्म सो विधेयक पारित हुन सकेको छैन ।

विधेयक पारित नहुँदै थुप्रै नेपाली नागरिक नागरिकताबाट वञ्चित भएको भन्दै विधेयक पारितको लागि पनि उनीहरूले जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका थिए ।

नागरिकताविहीन नेपाली प्रदेश २ पर्साका संयोजक राउतले नेपालको संविधान २०७२ भाग २ धारा ११ को उपधारा ५ छिटो कार्यान्वयनमा ल्याउनुपर्ने र विगतका दिनमा नागरिकता नभएर गुमाएको सेवा सुविधाको क्षतिपूर्ति पाउनुपर्ने बताए ।

ज्ञापन बुझ्दै प्रजिअ घिमिरेले ज्ञापनपत्रलाई सम्बन्धित निकायमा अविलम्ब पठाउने आश्वासन दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here