• सञ्जय साह मित्र

आजको युगमा मानिस अत्यन्त व्यस्त बन्दै गएका छन् । मानिससित फुर्सद छैन । मानिसले आफूलाई फुर्सदी बनाउन चाहेर पनि नसक्ने अवस्था बन्दै गएको छ । यो अवस्था वास्तवमा कामकाजी मानिसको लागि हो । जो जति धेरै काम लाग्ने मानिस छन्, उनीहरूसित फुर्सदको उति नै धेरै अभाव छ । व्यस्त मानिसलाई काम गर्न निकै हतार हुन्छ ।

अझ समयमा हरेक काम गर्नको लागि मानिसलाई अप्ठ्यारो परिरहेको हुन्छ । यसै कारण व्यस्ततालाई जीवन मान्नेहरू पनि छन् । जो जति व्यस्त छ, ऊ त्यति मस्त छ पनि भनिन्छ। व्यस्त मानिसले आफ्नो जीवनमा प्रगति गरेको हुन्छ । साँच्ची, जो जुन क्षेत्रमा धेरै व्यस्त छ, ऊ उत्तिकै सफल हो भन्ने पनि गरिन्छ । यस अर्थमा मानिसको व्यस्ततालाई सफलतासित दाँज्न सकिन्छ । यद्यपि व्यस्तता भनेको सार्थक हुनुपर्दछ । के उसो भए निरर्थक व्यस्तता पनि हुन्छ ?

निरर्थक व्यस्तता पनि हुन्छ । कतिपय मानिस यस्ता छन् सोझै भन्दछन् कि कुकुरलाई दिनभरि फुर्सद छैन र काम पनि छैन । यसरी भन्नेले आफूलाई बढी भनिरहेका हुन्छन् । आफूलाई भनेर आफ्नो व्यस्तता सार्थक नभएको सङ्केत गर्दछन् । अझ गाउँघरमा यो पनि देखिन्छ कि मानिसहरू गफ गरेर, जुवा–ताश खेलेर दिन बिताउँछन् तर सार्थक काममा समय लगाउँदैनन् ।

जसले आयआर्जन वा पेशा तथा रोजगार वा शिक्षा वा जीवनको उद्देश्यसित सम्बन्धित पक्षमा समय व्यतीत गर्दैन, त्यो मानिसलाई फुर्सद छैन भनेर मान्दा पनि हुन्छ । अझै पनि यस्ता धेरै मानिस छन् जो निरर्थक खेलिरहन्छन् । यदि खेललाई पनि आफ्नो पेशा बनाउने हो भने हुन्छ तर यसरी पेशा नबनाएर वा आफ्नो पहिचानसित त्यस खेललाई नगाँसेर यत्तिकै खेल्छन्। स्वास्थ्यसित मेल खानेगरी वा पहिचानसित मेल खाने गरी सार्थकरूपमा खेललाई पनि सार्थक बनाउनु उचित हुन्छ । अहिले हजारौंले यसरी गरिरहेका पनि छन् ।

सडकमा जब धेरै जाम लाग्दछ तब सयौं मानिसलाई छटपटी भइरहेको हुन्छ । धेरै मानिसलाई ठीक समयमा कुनै निर्धारित ठाउँमा पुग्नुपर्ने हुन्छ । कोहीलाई आफ्नै स्वास्थ्यको पनि समस्या हुन्छ । कोही यस्ता पनि हुन्छन् जो निर्धारित समयमा र तोकिएको ठाउँमा नपुग्दा धेरैको काममा बाधा पुग्छ । यस्तो अवस्थामा जाममा पर्नु भनेको धेरैको समय बर्बाद हुनु हो र अझ काममा पनि रोकावट आउनु हो ।

एक मित्रले समयको महŒवलाई यसरी प्रस्ट्याएका थिए–कुनै रेलमा पाँच हजार मानिस चढेका छन् । रेल एक ठाउँबाट निश्चित गन्तव्यको लागि हिंडेको छ । पहिलेदेखि आवतजावत गर्नेले बुझेका छन् कि फलानो समयमा रेल फलानो ठाउँमा पुग्छ । यदि त्यो रेललाई खुल्ने समय त्यही राखेर पुग्ने समय एक घण्टा छिटो बनाइदिने हो भने रेलका पाँच हजार मानिसको एक घण्टा जोगिन्छ र पाँच हजार मानिसको एक घण्टा जोगिनु भनेको पाँच हजार घण्टा जोगिनु हो। पाँच हजार घण्टा भनेको दुई सय आठ दिनभन्दा बढी हो ।

यो भनेको करीब सात महीनाको समय हो । यसरी एउटा रेललाई एक घण्टा छिटो पु¥याउँदा कामका लागि करीब सात महीना समय जोगिन्छ । यसै कारण आजभोलि फास्ट र सुपरफास्ट युगको आवश्यकता हो भन्न थालिएको छ । यसले सबैको समय बचाउँछ । समय बचाएर त्यसलाई उपयोगमा ल्याउने हो भने यसले देशको अर्थतन्त्रमा ठूलो प्रभाव पार्छ, साथै मानिसको व्यक्तित्व विकास तथा समाजको विकासमा पनि महŒवपूर्ण योगदान पुग्ने कुरामा दुई मत नहोला ।

हामीकहाँ बस अथवा सानो गाडीमा यात्रा गर्नेहरू दिनहुँ जाममा परिरहेका हुन्छन् । पहिले त सडक जाम गर्ने आन्दोलन नै हुन्थ्यो । यसरी जाममा कति मानिस परेका छन्, ती मानिस समयमा आफ्नो गन्तव्य पुगेका भए के कति फाइदा हुन्थ्यो र जाममा परेर के कति घाटा भयो भन्ने कुराको अध्ययन वा विश्लेक्षण कतै भएको पाइएको छैन । यद्यपि अब नेपालमा पनि सडक छिटो हुनुपर्छ भन्ने अवधारणा आइसकेको छ र यस अनुरूप कामहरू भइरहेका छन् ।

समयको बचतको सम्बन्धमा अर्को दृष्टान्त पनि निकै राम्रो छ । राजधानीमा जब कतै कुनै मन्त्रीको सवारी हुन्छ, तब पहिलेदेखि नै सडक खाली गराइन्छ । मन्त्रीको सवारी हुँदा सडक किन खाली गराइएको हो भने मन्त्रीलाई गन्तव्यमा पुग्न सजिलो होस् । सजिलो र अप्ठ्यारोको प्रश्न होइन, मन्त्री समयमा पुग्न भ्याए भने देशको लागि धेरै काम गर्न सजिलो हुन्छ ।

मन्त्रीको समय अत्यन्त मूल्यवान् हुन्छ । यसले गर्दा मन्त्रीलाई बाटोमा रोक्नुहुन्न भन्ने मान्यता रहेको छ । हो, मन्त्री तथा विशिष्ट मानिसहरूको समयको अत्यन्त धेरै महŒव हुन्छ। यो अत्यन्त स्वाभाविक पनि हो । समयको मूल्य र महŒव, जो जति बढी महŒवपूर्ण हुन्छ, उसका लागि उति नै बढी हुनु राम्रो हो । यसै सिद्धान्तलाई हरेक व्यक्तिमा पनि लागू हुने वातावरण वातावरण बनाउन सकियो भने देशमा कति धेरै क्षेत्रमा निकै धेरै सकारात्मक प्रभाव पर्छ ।

यात्रामा निस्केका हरेक व्यक्तिको समयको धेरै महŒव हुन्छ । यसै महŒवलाई विचार गरेर कुनै पनि ठाउँमा कुनै पनि व्यक्ति बाटोमा जाममा नपर्ने वा रोकिनु नपर्नेगरी सेवा तथा सुविधा पुग्यो भने कति राम्रो हुन्थ्यो !

भनिन्छ, कतिपय देशमा मुख्य सडकमा निर्धारित गतिभन्दा कम गतिमा गाडी चलाउन पाइन्न । तोकिएको गतिमा गाडी चलाउने निश्चित मार्गहरू हुन्छन् । कसलाई कति छिटो पुग्नुपरेको छ, सोही अनुसार सडक पनि बनाइएको हुन्छ वा छुट्याइएको हुन्छ । धेरै छिटो कुद्ने मार्ग नै छुट्टै बनाएर, आवश्यक हुनेले तोकिएको गतिभन्दा कम नगरी निर्धारित समयमा चाहिएको ठाउँमा पुग्न सकिने हुँदा धेरैलाई सहज हुँदो हो ।

यस्तोमा समयको मात्र बचत हुने होइन, बचत भएको समयमा अरू पनि महŒवपूर्ण काम गर्न सकिन्छ । महŒवपूर्ण काम गर्न सजिलो नहुनेले बचेको वा उब्रेको समयमा आराम वा मनोरञ्जन गर्न सक्छ, जसले गर्दा त्यसपछि गरिने काममा ताजापन हुन्छ र काम बढी प्रभावकारी हुन्छ । वास्तवमा हामी सबैले जाम बेहोरेका छौं र जाममा बस्दा हुने छटपटी पनि बुझेका छौं । जाममा कसैले पनि आराम गर्न पाएको हुँदैन । समय अपव्यय हुने मात्र हो ।

समयसँगसँगै इन्धनको पनि खपत बढ्छ । त्यो इन्धन जुन हामी विदेशबाट किनेर ल्याउँछौं । समयमा नपुग्दा भौतिक घाटा त हुन्छ नै, जाममा परेर मनोवैज्ञानिक घाटा हुन्छ, शारीरिक थकान बढ्छ । यसरी शरीर, मन र अर्थगरी सबै क्षेत्रमा नकारात्मक प्रभाव पार्ने जामलाई कसरी हुन्छ, सम्बन्धित निकायले उन्मूलन गर्नु निकै मनासिब देखिन्छ ।

यदि जाममा बर्बाद हुने समयको व्यवस्थापन हुने हो भने मानिसलाई केही फुर्सद पनि हुन्छ र केही समयको बचत पनि हुन्छ । फुर्सद र समयको बचत सोझो रूपमा बुझ्दा उस्तैउस्तै लागे पनि एकै भने होइन । समयको बचत गरेर मानिसले कुनै सार्थक काममा लगाउन सक्छ जसलाई फुर्सदको काम भन्न सकिन्न । समयको बचत भएको हुँदा त्यसको उपयोग गरिएको हो ।

फुर्सद भनेको काम नभएको अवस्था हो । काम नभएको र काम नगरेको अवस्थामा धेरै फरक छ । मानिसलाई काम हुँदाहुँदै पनि काम नगरेको हुन सक्छ तर यस्तो काम नगरी बसेको समयलाई फुर्सद भन्न उचित हुन्न । आजको युग प्रविधिको युग भएकोले प्रविधिको सहयोगले मानिसले धेरै हदसम्म समयको बचत गरेको देखिन्छ र बचेको समयलाई सिर्जनात्मक वा आर्थिक उपार्जनमा उपयोग गरेको पनि देखिन्छ ।

अझ बचत भएको समयमा आफ्नो नियमित कामलाई अझ प्रभावकारी बनाउन उपयोग गरेको पनि देखिएको छ । यसरी युगले मागेको समय अनुसार चलेर धेरैले आफूलाई बेफुर्सदी बनाएका छन् र बेफुर्सदी अवस्थामा पनि समयको बचत गरेर आफूलाई झन् व्यस्त तथा सुखी बनाउन उपयोग गरेका छन् ।

यद्यपि फुर्सदको समयलाई पनि उपार्जनमा लगाउन सकिन्छ । कर्मठ मानिसले आफ्नो समय निरन्तर उपयोगमा ल्याइरहन सक्छन् । आफूलाई कहिले फुर्सद भयो भन्ने कुरो नै बुझ्न यस्तो मानिसलाई कठिन हुन्छ भने फुर्सदको समय कुन वा के काममा उपयोग गरेको छु भन्ने लेखाजोखा पनि हुन्छ । आजको युगमा हरेक सफल मानिसको समयको व्यवस्थापन पक्षलाई विचार गर्ने हो भने फुर्सदलाई पनि उपयोगमा ल्याएको देखिन्छ भने सदैव समयको बचत गर्ने प्रयास गरेको देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here