प्रस, पर्सागढी, १६ भदौ/
मुख्यमन्त्रीको बेटी पढाऊ, बेटी बचाऊ अभियान अन्तर्गत बुधवार पर्सागढी नगरपालिका–३ स्थित जनता मावि पकडिया बडनिहारमा कक्ष्Fा ८ मा अध्ययनरत छात्राहरूलाई साइकल वितरण गरिएको छ ।
२०७७ सालमा कक्षा ८ मा अध्ययनरत ४१ जना छात्रालाई आज साइकल वितरण गरिएको हो । जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादवको प्रमुख आतिथ्यमा साइकल वितरण भएको हो ।
सो अवसरमा उनले विद्यालयको चौरमा वृक्षारोपण र मरम्मतसम्भारको लागि सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले विद्यार्थीहरूलाई अध्ययनका साथसाथै अतिरिक्त क्रियाकलापमा पनि सहभागिता गराउन आग्रह गरे । उनले प्रदेश सरकारले छोरीलक्षित विभिन्न कार्यक्रम अगाडि ल्याएर महिला सशक्तीकरण अभियानमा टेवा पुगेको बताए ।
कार्यक्रममा जसपाका नगर संयोजक शेख खुर्सेद, शिक्षक नागेश्वर मुखिया बिन, लेखाप्रमुख शिवनारायण चौधरी, आमोदेवी युवा क्लबका पूर्वअध्यक्ष यमबहादुर थापालगायतको सहभागिता थियो । कार्यक्रममा प्रअ मोहन चौधरीले स्वागत र शिक्षक सञ्जय पटेलले सहजीकरण गरेका थिए ।
बुधवार नै पर्सागढी नपा–३ को झबराहा टोलस्थित नेरानिमाविमा १६ जना छात्रालाई साइकल वितरण गरिएको छ । कक्षा ८ मा अध्ययनरत १६ जना छात्रालाई साइकल वितरण गरिएको विद्यालयले जनाएको छ ।
यसैगरी वीरगंज–२१ सुखचैनामा रहेको गीतागजेन्द्रराज जोशी माविमा साइकल वितरण भएको छ । मुख्यमन्त्री लालबाबू राउतको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत कक्षा ८ मा अध्ययनरत ५९ जना छात्राहरूलाई साइकल वितरण गरिएको थियो । गत आव २०७७–०७८ को बजेटबाट विद्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरि प्रदेश २ का प्रदेश सांसद जन्नत अन्सारीले उक्त साइकलहरू वितरण गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जितेन्द्रप्रसाद कुर्मीको अध्यक्षतामा भएको कार्यक्रममा जसपा पर्साका अध्यक्ष्F रामनरेश यादव, जसपा नेता तवरेज अहमद, २१ नं. वडाका वडाध्यक्ष हबिब मियाँ, परवानीपुर गापा–४ का वडाध्यक्ष गजेन्द्र पटेललगायतको सहभागिता रहेको विद्यालयका प्रअ राजकुमार सिंहले जानकारी गराए ।