काठमाडौं, १५ भदौ/रासस
युनाइटेड अरब इमिरेट्स (युएई) मा सम्पन्न एएसबिसी एशियन युथ एन्ड जुनियर बक्सिङ च्याम्पियनशिपमा नेपाललाई पहिलोपटक पदक दिलाएका खेलाडीहरूले अबको लक्ष्य ‘युथ वल्र्ड च्याम्पियनशिप’ भएको बताएका छन् ।
प्रतियोगितामा सहभागी भई युएईबाट मङ्गलवार फर्किएका खेलाडीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित स्वागत कार्यक्रममा पदक जित्नका लागि स्रोतसाधन र वातावरण आवश्यक भएको बताए । पुरुष ५४ किलोमा कांस्य पदक प्राप्त गरेका छिरिङवाङ्दी शेर्पाले दुर्ई महीनाको अभ्यासका कारण सफलता प्राप्त भएको सुनाए । “सङ्घ, परिवार र प्रशिक्षकको सहयोगले नै पदक प्राप्त गर्न सम्भव भएको हो,” उनले भने, “अबको लक्ष्य युथ वल्र्ड च्याम्पियनशिपमा पदक जित्ने हो ।”
यस्तै, महिला ५२ किलोमा कांस्य प्राप्त गरेकी स्वस्तिका तिरुवाले आवश्यक वातावरण पाएमा नेपालका बक्सिङ खेलाडीले पनि पदक जित्न सक्ने युएईमा सम्पन्न जुनियर च्याम्पियनशिपबाट प्रमाणित भएको बताइन् । “अभ्यास र प्रतियोगितामा सहभागी हुन पाउनु खेलाडीका लागि मुख्य कुरा हो,” उनले भनिन्, “दुवै कुरा उपलब्ध भए पदक जित्न सकिन्छ भन्ने लागेको छ ।”
यसैगरी, प्रतियोगितामा महिला ५७ किलोतर्फ कांस्य पदक प्राप्त गर्न सफल नरिका राईले युएई च्याम्पियनशिपबाट थप ऊर्जा मिलेको बताइन् ।
“खेलाडीका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता आवश्यक छ, विश्वका अन्य खेलाडीको खेलबाट धेरै सिक्न पाइन्छ,” उनले भनिन् । घरेलु प्रतियोगिताबाट मात्र खेलाडीको वृत्ति विकास सम्भव नभएको उनको भनाइ थियो ।
खेलाडीसँगै युएईबाट फर्किएका ओलम्पियन एवं प्रशिक्षक डम्बरदत्त भट्टले जुनियर बक्सिङ च्याम्पियनशिपबाट नेपालले ऐतिहासिक पदक प्राप्त गर्न सफल भएकोमा खुशी व्यक्त गरे । “स्वदेशको प्रतियोगितामा मात्र सीमित रहनुहुँदैन,” उनले भने, “बढीभन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताले खेलाडीसँगै प्रशिक्षकलाई पदक प्राप्त गर्न मदत पुग्छ ।” पछिल्लो समय बक्सिङ सङ्घको सक्रियताले खेलको स्तर वृद्धिका साथै उपलब्धि हासिल हुँदै गएको उनले सुनाए । उनले बक्सिङमा थप सफलता हासिल गर्नका लागि विद्यालयस्तरीय प्रतियोगिता गराउनुपर्नेमा जोड दिए ।
नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवालेले अन्तर्राष्ट्रिय जुनियर बक्सिङ च्याम्पियनशिपमा पहिलोपटक पदक प्राप्त गरेपछि देशभर राम्रो सन्देश गएको बताए । “अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत पदक जित्न सकिने रहेछ भन्ने सन्देश सबैतिर फैलिएको छ, यसले हामीलाई खेलाडी उत्पादनमा थप हौसला मिलेको छ,” उनले भने । युएई च्याम्पियनशिपबाट सङ्घको साख बढेको अध्यक्ष अवालेले सुनाए । “अब हामी जुनसुकै प्रतियोगितामा पनि पदकबाट टाढा छैनौं,” उनले भने ।
एशियन युथ एन्ड जुनियर बक्सिङ च्याम्पियनशिपमा नेपालबाट ६ खेलाडीसहित १२ सदस्यीय टोली सहभागिता जनाउन यही भदौ २ गते युएई प्रस्थान गरेको थियो । सहभागी खेलाडीमध्ये शेर्पाले पुरुष ५४ किलो, तिरुवाले महिला ५२ किलो तथा राईले ५७ किलोमा प्रतिस्पर्धा गर्दै कांस्य पदक प्राप्त गरेका थिए । शेर्पा सेमिफाइनलमा कजाकिस्तानका एडाइबेक नियाजबेसित पराजित भएका थिए । सो स्पर्धामा नियाजबेले नै स्वर्ण पदक जिते ।
यस्तै, तिरुवा र राई सेमिफाइनलमा भारतीय खेलाडीसित पराजित भएका थिए । त्यसअघि उनले कुवेतका मोहम्मद अलिनेजीलाई ५–० अङ्कले पराजित गरेकी थिइन् । प्रतियोगितामा नेपालबाट पुरुषतर्फ ६० किलो तौलमा इन्द्रबहादुर सुनार, ५४ किलोमा सुलभ माली र ७१ किलोमा सुदेन गिरीले प्रतिस्पर्धा गरेका थिए ।