सुषमा शर्मा, वीरगंज, १३ भदौ/
“मलाई सानैदेखि नाच्न मन पर्र्छ । एक दिन मेरो मिल्ने साथीले तिमीलाई म भारत लैजान्छु, त्यहाँ आर्केस्ट्रामा नाच्न पाइन्छ र पैसा पनि पाइन्छ खूब रमाइलो हुन्छ भनेर भनिन् । एसो सोचें घरमा कमाउने कोही छैन त्यसैले हुन्छ भनें र मिल्ने साथी भएकोले के नै गलत होला र भन्ने लाग्यो । त्यसैले मैले हुन्छ भनेर भनें । न त मलाई आर्केस्ट्रा भनेको के हो थाहा थियो, न म त्यहाँ बेचिन जाँदैछु भन्ने थाहा थियो । अरू बेला बाहिर गएर कमाउने जस्तै लाग्थ्यो । मलाई लाग्यो नाच्ने हो अनि पैसा कमाउने,” रीमा (नाम परिवर्तन)ले उद्धारपछि बताइन् ।
विश्वलाई नै कोरोना महामारीले आक्रान्त पारेको र अन्तर्राष्ट्रिय सीमानाकाहरू बन्द गरिएका बेला पनि नेपालबाट भारततर्फ मानव तस्करी भने रोकिएन । आव २०७६/७७ मा महिला ३४, बालक एक र बालिका २८ जनाको उद्धार गरिएको थियो । आव २०७७/७८ मा महिला ९४, बालक एक र बालिका २२ जना गरी कुल १०८ जनालाई उद्धार गरिएको थियो । उक्त समय कोरोनाको पहिलो चरण थियो ।
चालू आव २०७८/७९ को सवा महीनामा महिला १८, बालिका चारसमेत कुल २२ जनालाई सीमानाकाबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साको तथ्याङ्कमा उल्लेख छ ।
रीमा भर्खरै कक्षा १० को परीक्ष्Fा दिएर बसेकी थिइन् । उनका चारजना दिदीबहिनी छन् ।
बुबाले अर्को विवाह गरेकाले उनीहरू आमासँगै बस्छन् । आर्थिक समस्याले गर्दा उनीहरूलाई घर चलाउन गा¥हो थियो । त्यसैले एकजना दिदी भने अन्तै ज्याला मजदूरी गरेर बसेकी छन् । दुईजना दिदीबहिनी भने आफ्नो मिल्ने साथीले आर्केस्ट्रामा जागीर लगाइदिन्छु भनेर भारतको मोतिहारी जिल्लाको छौडादाना पुगे ।
रीमा भन्छिन्, “मेरो बहिनीलाई जबरजस्ती मैले ल्याएको । ऊ त नौ कक्षामा पढ्दै थिइन् । मैले सोधें जाने हो भनेर उसले जान्नँ भन्दा त्यसो भए मसँग हिंड्दिनस् भने कहिले नबोल्नु यति भनेपछि मेरी बहिनी मसँग हिंड्न तयार भइन्, तर मलाई थाहा थिएन, हामी बेचिंदै छौं,” आँखाभरि आँसु लिएर उनले भनिन् ।
रीमाको मिल्ने साथी रश्मिता (नाम परिवर्तन) लामो समयदेखि नेपाली बालबालिकालाई भारतीय आर्केस्ट्रामा पु¥याउने गरिरहेकी थिइन् । उनी मानव तस्करी गर्छिन् । रश्मिता भने आमाबुबासँगै आफ्नै घरमा बस्छिन् र उनीसँग उनको एकजना साथी पनि सँगै बस्छिन् । रश्मिताको आमाबुबासँगै साथी पनि मानव तस्करीमा संलग्न छन् ।
रश्मिता भन्छिन्, “मलाई १० हजार दिन्छु भनेको थियो । पछि भारततर्फको मान्छे भाग्यो भनेर जम्मा १५ सय मात्र पठाइदियो । हामी त्यहाँसम्म पु¥याउँछौं, त्यसपछि केही दिनमा फर्किन्छौं, हामीले बसबाट ल्याउने भएकोले हामीसँग बसवालाहरूको कन्ट्याक्ट हुन्छ, जसले गर्दा ल्याउन सहजै हुन्छ । यता बोर्डर आइसकेपछि इन्डियाको सिम हुन्छ, त्यसलाई मोबाइलमा राख्छौं अनि कुराकानी गर्छौं र लोकेशनमा पुग्न सहज हुन्छ ।”
२०५४ सालदेखि पर्सामा कार्यरत माइती नेपाल वीरगंजकी संयोजक सङ्गीता पुरीका अनुसार नेपाल–भारत खुला सीमानाकाका कारण नै मानव तस्करी सहजरूपमा हुने गरेको छ । यदि नाकाहरूमा छेकबार हुन्थ्यो भने यस्तो अपराध निकै कम हुन्थ्यो ।
पर्सामा मानव तस्करीसम्बन्धी हेर्ने तीनवटा संस्था छन् । माइती नेपालकी संयोजक पुरीका अनुसार विगतमा रेड लाइट क्षेत्र अर्थात् यौन व्यवसायको लागि मानव तस्करी गरी भारततर्फ लगिन्थ्यो भने आजभोलि आर्केस्ट्राद्वारा यौनको लागि किनबेच वा व्यवसाय हुने गरेको छ ।
यसरी विगतमा तेस्रो मुलुक जानको लागि मानव तस्करीमार्फत नेपाली महिलाहरू दिल्ली, मुम्बई, कोलकाता जान्थे भने अहिले पटना, बनारस, मोतिहारीतर्फ जाने गरेको धेरै पाइन्छ ।
यसरी तस्करी भएर गएकाहरूलाई जिल्ला प्रहरी कार्यालय, पर्सा माइती नेपालको आफन्त नेपाल र सानो हातको सहयोगमा उद्धार गरिंदै आएको छ । जहाँ तीनवटा संस्था एकै नाकामा खटिरहेका देखिन्छन् भने पर्सासँगै टाँसिएको बारा जिल्लाको नाकामा कुनै संस्था खटिएका पाइँदैनन् । सूचना जुन संस्थाले पायो, त्यही संस्था जान्छन् अनि उद्धार गरेर ल्याउँछन् ।
पर्साका सङ्घसंस्थाहरूले बारा र पर्सा नाकामा समझदारी गरी निगरानी गर्ने हो भने केही हदसम्म मानव तस्करी कम हुन्थ्यो तर सङ्घसंस्था पनि आफ्नो तथ्याङ्क मजबूत बनाउन वीरगंज नाका छोड्न चाहँदैनन् ।
रीमालगायत तीनजनालाई बाराको नाका हुँदै भारत पु¥याइएको थियो । आफूसहित तीनजना सजिलै भारतको छौडादानो पुगेको रीमाले बताइन् । रीमा भन्छिन्– मोटरसाइकल आयो र हामीलाई सजिलै सीमा पार गरेर लग्यो । त्यहाँ पुग्दा कस्तो ठाउँ लाग्यो तर यस्तै होला सोचें । त्यसको भोलिपल्टदेखि हामीलाई भोजपुरी नबुझे पनि भोजपुरी गीतमा डान्स सिकाउँदै थियो ।
त्यहाँ आर्केस्ट्रावालाले हामीलाई एउटा नाचको रु १५ सय दिन्छौं भने । बस्नलाई राम्रो ठाउँ थिएन, न त त्यहाँको वातावरण नै राम्रो थियो । असजिलो लागे पनि मैले काम गर्नैपर्छ भनेर चुप लागेर जे जे भने त्यही गरें ।
संयोजक पुरीका अनुसार अहिले वीरगंजको नाकाभन्दा बाराको गढीमाई, आधापुर, कौवा बकैयाबाट भारततर्फ मानव तस्करी हुने गरेको छ । समाचार स्रोतका अनुसार पर्साको ठोरीबाट पनि मानव तस्करी हुने गरेको छ । २०७७/७८ मा लकडाउनको समयमा मात्रै ८४ जनालाई उद्धार गरिएको थियो भने सोमध्ये ३४ जना पर्सा जिल्लाका थिए । उनीहरूलाई माइती नेपालको पहलमा उद्धार, संरक्षण र पुनस्र्थापनाको पहल भएको थियो ।
वीरगंज मुलुकको प्रमुख नाका हो । यो व्यापारिक कारोबारको व्यस्त नाका भएकोले मानवको आवतजावत बढी हुन्छ । जुन नाकामा भीडभाड बढी हुन्छ, त्यस्तै ठाउँमा मानव तस्करीको सम्भावना बढी हुने अधिवक्ता रामेश्वर सेढाईं बताउँछन् । मुलुकका व्यस्त नाकाहरू वीरगंज, नेपालगंज, महेन्द्रनगर, काकडभिट्टा, भैरहवालाई मानव तस्करीहरूले प्रयोग गरिरहेको अधिवक्ता सेढाईंको भनाइ छ ।
राज्यले अरू तस्करीतिर ध्यान दिएका छन् भने मानव तस्करीलाई हल्का किसिमले लिएको कारण पनि अपराधीको मनोबल बढेको उनको भनाइ छ ।
राज्यको निगरानीको कमीले गर्दा नै मानव तस्करी बढेको हो । यदि अध्यागमनले को को गए, आए कि आएनन् चेक गरेर रेकर्ड राख्नुपर्ने हो । यहाँ काम, किनमेल, तीर्थ यात्राको नामले जो पनि सहजै सीमा नाघेर जान्छन्, ती कसैको इन्ट्री छ, न कुनै रेकर्ड । न कुनै आधुनिक टेक्नोलोजीको प्रयोग हुन्छ । त्यसैले होला सजिलै मानव तस्करी हुन्छ ।
यहाँ राज्यको बढी निगरानी मालसामान तस्करीतर्फ छ । मानव तस्करी १२ वर्षको उमेरदेखि ४० वर्षसम्मका महिला तथा बालबालिकाहरूको हुने गरेको छ । जसमा बालकदेखि १५ वर्षसम्मकालाई पढाउने भन्दै भारत पु¥याउने गरेको पाइएको छ । केहीलाई नेटवर्क व्यापारमा लैजाने र केही बालकलाई भीख माग्न लगाउने गरेको माइती नेपालकी संयोजक पुरी बताउँछिन्।
उद्धार गरी ल्याएकाहरूलाई आफन्तको जिम्मा नलगाएसम्म माइती नेपालले वीरगंजस्थित आफ्नै कार्यालयमा संरक्षण दिएर राख्ने गरेको छ । लकडाउनको समयमा पनि १५/२० जनालाई संरक्षण दिएको माइती नेपालले जनाएको छ ।
राजनीतिक उथलपुथल, अस्थिरता, रोजगारको कमीको कारण मानव तस्करी फस्टाउँदै गएको छ । कतिपयलाई त थाहा हुँदाहुँदै पनि बाध्यतामा बेचिने गरेका छन् । अधिवक्ता रामेश्वर सेढाईंका अनुसार यसको समाधानको लागि विशेष संयन्त्र हुनुपर्छ । यो अवस्थामा कानूनले फाँसीको सजाय नै राख्यो भने पनि समाधान हुँदैन । जबसम्म राज्यले सिमानालाई विशेष ध्यान दिंदैन । जसरी अन्य अपराधका लागि विभिन्न एकाइ निर्माण गरेर जनशक्ति परिचालन गरिन्छ, त्यसरी मानव तस्करी नियन्त्रणका प्रयास राज्यस्तरबाट हुन सकेको छैन ।
मानव तस्करी रोक्ने नै हो भने सम्भावित नाकाहरूमा विशेष तालीम तथा प्रशिक्षण प्राप्त सुरक्षाकर्मीहरू परिचालन गर्नुपर्छ ताकि उनीहरूले हरेक यात्रुको हाउभाउबारे सूक्ष्म अनुसन्धान गर्न सकोस् ।
नियमितरूपमा नाका प्रयोग गर्ने र आक्कलझुक्कल नाका प्रयोग गर्नेहरूबारे सीमानाकामा खट्ने सुरक्षाकर्मीले विशेष निगरानी राख्न सक्ने हुनुपर्छ । सीमा नाका निकरानीमा मात्रै कडाइ भइदियो वा तस्करहरू समातिन थाल्यो भने मानव तस्करी न्यूनीकरणमा सहयोग पुग्छ ।