बारा वन कार्यालयले अतिक्रमण गरी वन क्षेत्रमा बनाइएको घर–टहरा तथा खेतीबारीले ओगटेको १७५ हेक्टर जग्गा फिर्ता लिएको छ । यद्यपि यो खुशीको कुरा हो, तर पूर्व मेचीदेखि महाकालीसम्म फैलिएको वन क्ष्Fेत्रमा सबै जिल्लामा यस्तो अतिक्रमण भएको छ । १७५ हेक्टर जग्गा फिर्ता लिएर गर्व गर्नुको कुनै अर्थ छैन, किनभने वन क्षेत्रको सम्भवतः प्रत्येक जिल्लामा हजारौं हेक्टर जग्गा अतिक्रमणमा परेको छ । हरियो वनलाई नेपालको धन भने पनि राणाकालदेखि यसको दोहन हुँदै आएको छ । राणाकालमा अङ्ग्रेजहरूलाई रिझाउन भारतमा बनिरहेको रेलमार्गका लागि काठ उपलब्ध गराइएको थियो । पञ्चायतकालमा त सारा व्यवस्था नै वनले टिकाएको थियो । लाजमर्दो कुरा कतिसम्म भने राजाको नाम लेखेर भारतीय तस्करले वन फडानी गर्दा स्थानीय प्रशासकहरू चापलुसीको हद पार गर्दै त्यस्ता ट्याक्टर र गाडाहरूलाई छुट दिन्थे । पहिले वन फडानी र पछि त्यसमा अतिक्रमण गर्दै घर–टहरा बनाउने, खेतीपाती गर्ने कामले आजसम्म निरन्तरता पाउँदै आयो ।
वन–जङ्गलको महŒव हामी नेपालीले काठ–दाउराको आपूर्तिभन्दा बढी बुझेनौं । त्यसैले लामो समयसम्म सरकारसँग ‘अधिकार’ भनेर काठ–दाउरा आपूर्तिका लागि माग गरिरह्यौं । नेपाललाई, खासगरी तराईको समतल भूभागले गर्दा कृषिप्रधान देश नै भनियो । पहाडमा पनि कुनै न कुनै रूपको कृषिकर्म आजसम्म आजीविकाको साधन बनेको छ, पशुपालन होस् वा फलफूल खेती । तराईको अन्नको भण्डार भनिएको जग्गालाई उचित समयमा सिंचाइ, मल चाहिन्छ भन्ने कुरा चाहिं नेपालको कृषि योजनामा जहिले पनि छुटाइयो । कृत्रिम सिंचाइभन्दा आकाशे सिंचाइमा बालीलाई मलको त्यति आवश्यकता हुँदैन भन्ने कुरामा त कसैले ध्यान नै दिएन । आकाशे पानीका लागि वन–जङ्गल जति घना, जति बढी भयो त्यति उपयक्त हुन्छ भन्ने कुरा पनि बिस्र्यौं । यसले मौसमी बादललाई आफूतिर तानेर वर्षा त गराउँछ नै, पानीलाई पातबाट जरा हुँदै भूमिगत पनि बनाउँछ । यसले जति बाक्लो रूख–बिरुवा भयो, बाढीको खतरा उति नै कम हुन्छ । साथै जति बढी रूख–बिरुवा, पात–पतिङ्गर पनि उति नै हुन्छ, जसलाई पानीले बगाएर खेतबारीमा पु¥याई प्राकृतिक मलको आपूर्ति गर्छ । अहिले रूख–बिरुवा श्ून्य हुँदै गएको वन क्षेत्रबाट पानी अनियन्त्रित भएर बाढीको रूपमा खेत–गाउँमा पस्छ र भयावह अवस्था सिर्जना गर्छ ।
वन फडानी हुँदै जाने, भोटको लोभमा अतिक्रमणको पृष्ठपोषण गर्दै जाने हो भने जङ्गलले गर्दा भूमिगत पानीको स्रोत सुक्दै जान्छ । हाम्रो यसै पुस्ताले भोगेको कुरा हो, हिजो १५–२० फिट मुनि पाइने खानेयोग्य पानी अहिले २०० फिटमा पनि दुर्लभ छ । थोरै मात्र वन–जङ्गल नाश हुँदा भूमिगत पानी झन्डै २०० फिट तल पुगेको छ । यदि बाँकी वन सिद्धिने हो भने अन्नको भण्डार कहाँ रहला ? पानी अझ १०० फिट मुनि जाने हो भने अन्नको भण्डार भनिएको तराईको समतल फाँट शुष्क भएर मरुभूमिमा परिणत हुँदैन भन्न सकिन्न । तर पनि दिनदिनै वन तस्करहरूले हरियो रूख ढालिरहेको समाचार पढिएकै छ । मूल तस्कर समातिएको शायदै सुनिन्छ । समातिएका मजदूर–तस्करहरू पनि फरफछ्र्योट गरेर फरफारक हुन्छन् । यही राज्यको नीति हो, यही कानूनको व्याख्या हो भने त्यो दिन टाढा छैन, जब हामीले पानी पनि अन्य मुलुकबाट आयात गर्नुपर्नेछ ।