प्रस, निजगढ, १२ भदौं/
वन क्षेत्र अतिक्रमण गरी खेतीपाती गर्ने, घर टहरा बनाएको जग्गा कब्जा मुक्त बनाउँदै डिभिजन वन कार्यालय, बाराले दुर्ई वर्ष यता २४९.२९ हेक्टर अतिक्रमित वन क्षेत्र वनमा फर्काएको छ ।
जितपुर—सिमरा उपमहा नगरपालिका वडा नं. १४, १५, १६ र १८ बाट १७५.०६ हेक्टर वन क्षेत्र अतिक्रमण मुक्त गरिएको छ ।
त्यसैगरी स्थानीयले वर्षौं अघि अतिक्रमण गरी खेतीपाती गरिरहेको कोल्हवी नगरपालिका वडा नं. २, ३, ५ को ५६.२३ हेक्टर वन फिर्ता ल्याएको छ । सो वन क्षेत्रमध्ये वडा नं. ५ रामवनमा ५ हेक्टर वन क्षेत्र कब्जा गरी बनाइएका २२ घर–टहरा नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहयोगमा वन कार्यालय बाराले हटाएको छ ।
अतिक्रमणकै क्रममा निजगढ नगरपालिका–४ बागदेवस्थित बाघ भैरव सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्र अतिक्रमण गरी पूर्जा श्रेस्ता कायम गराएको १८ हेक्टर वन क्षेत्रको जमीन बदर गराएको डिवका बाराको रेर्कडमा छ ।
गत वर्ष जितपुरसिमरा उपमहा नगरपालिका–२२ चकरीमा वर्षौंदेखि खेतीपाती गरी अतिक्रमण गरिएको १० हेक्टर जमीन कब्जामुक्त गर्दै तारबार सहित वृक्षारोपण गरिएको थियो । अहिले सो वृक्षारोपण आशलाग्दो रूपमा हुर्कंदै छ । यसरी विभिन्न समयमा बाराको अतिक्रमित वन क्षेत्र मुक्त गराई तारबार र रेखदेखका लागि वन हेरालुसमेत राखी गुमेको जमीन हराभरा बनाउन डिभिजन वन कार्यालय, बाराले मातहतका निकायलाई सक्रिय बनाउँदै आएको छ ।
जनप्रतिनिधि, सरोकारवाला नागरिकसँग पटकपटक छलफलपछि सो जमीन वनमा फर्काउन डिभिजन वन कार्यालय, बारा सफल भएको डिभिजन वन कार्यालय बाराका प्रमुख डिएफओ मन्जुर अहमदले बताए । अझै ठूलो क्षेत्रफलमा अतिक्रमित वन क्षेत्र बारामा छ ।
अतिक्रमित वन क्षेत्रमध्ये लगभग २५–३० प्रतिशतमा बस्ती भए पनि बाँकी खेतबारीको रूपमा प्रयोग हुँदै आएको डिएफओ अहमदले बताए ।
वन गश्ती सक्रिय बनाउँदै वन पैदावार चोरी तस्करीमा नियन्त्रण आएको वन कार्यालयले जनाएको छ । वन क्षेत्र अतिक्रमण नै जिल्लाको मुख्य समस्या रहेको डिएफओ मन्जुर अहमदले बताए ।
वन कार्यालयले अतिक्रमित वन क्षेत्रलाई नियन्त्रणमा लिई घेराबार गरेसँगै पशु चौपाया पालन गर्ने स्थानीयलाई घाँसपातको सहजता भएको कोल्हवी नपाका स्थानीय तामबहादुर श्रेष्ठ र लक्ष्मी रेग्मीले बताए । अतिक्रमित वन क्षेत्रको जमीन किनबेच हुन थालेसँंगै वन कार्यालय सो स्थानको पहिचान गर्दै सक्रिय भएको हो ।
वन क्षेत्र अतिक्रमण गरी जमीन कब्जा गर्न सकिन्छ भन्नेहरूलाई वन कार्यालयको यो संरक्षण कार्यले गतिलो पाठ सिकाएको छ । यसरी वन क्षेत्र अतिक्रमण गर्नेहरूविरुद्ध कानूनी कारबाईसमेत अघि बढाउने तयारी वन कार्यालयको छ ।
अतिक्रमित फिर्ता ल्याइएका वन क्षेत्रको जमीन हराभरा बनाउन नेपाली सेनाको समेत सहभागिता छ । काठमाडौं तराई—मधेस दु्रतमार्ग सडक निर्माण गर्दा रूखबिरुवा मासिएसँगै यसको शोधभर्ना गर्न नेपाली सेनाले बिरुवा रोपण गरी हुर्काउँदै आएको छ ।