प्रस, पोखरिया, १२ भदौ/

पर्सा जिल्लाको बजियान क्षेत्रका किसानले लगाएको धानबालीमा गोबारे र लिफरोलर कीराले सताएको छ ।

अगहनी धानखेतीमा गोबारे र लिफरोलर कीराको प्रकोप बढेको धोबिनी गाउँपालिका–३ गुलरियाका किसान वीरशम्शेर पटेलले बताए । उनले अधिकांश धान खेतमा यी कीराको प्रकोप रहेको बताए । यी कीरा लागेको धानको पात सेतो हुने र कुहिएर जाने गरेको किसान पटेलले बताए ।

बजियान क्षेत्रको पोखरिया नपा, कालिकामाई, धोबिनी, छिपहरमाई, पकाहामैनपुर, विन्ध्यवासिनी गापालगायतमा किसानले लगाएको धानबालीमा यी कीराले सताएको बताइएको छ ।

पकहामैनपुर गापाका जेटिए हरिनारायण चौरसियाले गोबारे कीराबाट धानबालीलाई जोगाउन मोनोप्रोटोफस, एफिसेड, नुरानी ५०५ मध्ये कुनै एउटाको प्रयोग गर्न र लिफरोलर कीराविरुद्ध नुरानी ५०५ वा कोलोरोपाइरिफसको प्रयोग गर्न सुझाएका छन् । उनले यी औषधि एक लिटर पानीमा बढीमा चार एमएल मिसाएर धानबालीमा छर्दा यी कीराबाट उन्मुक्ति मिल्ने बताए । उनले समयमा यसको उपचार नगरे धानबाली नसप्रने र उत्पादन घट्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here