राधेश्याम पटेल, रौतहट, १० भदौ/
नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले रौतहट घटनामा संलग्न सुरक्षाकर्मीहरूविरुद्ध छानबिन गरी दोषीलाई कारबाई गर्न माग गरेका छन्।
रौतहटका पत्रकार मोजिबुल्लालाई प्रहरीले लागूऔषध मुद्दामा फसाउन खोजेको घटनाको छानबिन गर्न आएको नेपाल पत्रकार महासङ्घको सात सदस्यीय टोलीका नेतृत्वकर्ता वरिष्ठ उपाध्यक्ष विष्टले सुरक्षाकर्मीको मिलेमतोमा यस्तो घटना हुनु दुःखद भएको र सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाई गर्नुपर्ने माग गरे।
नेपाल पत्रकार महासङ्घ, रौतहटको कार्यालयमा स्थानीय पत्रकारहरूसँग छलफलमा महासचिव रोशन पुरीले रौतहट घटनालाई अन्तर्राष्ट्रियकरण गर्ने बताए। उनले पत्रकारको व्यावसायिक र भौतिक सुरक्षाको लागि सरकारसँग माग गर्नुपर्ने बताए। महासचिव पुरीले पत्रकारबीच द्वन्द्वका कारण रौतहटमा यो घटना भएको भन्दै पत्रकारितामा शुद्धीकरणको लागि महासङ्घले पहल गर्ने बताए।
नेपाल पत्रकार महासङ्घका सचिव दीपेन्द्र चौहानले घटना दुःखद भएको र यसमा संलग्न प्रहरीलाई माफी दिन नमिल्ने बताए। उनले घटनाका कसूरवारविरुद्ध लागूऔषध मुद्दा चलाउन पनि माग गरे। प्रहरी प्रमुखलाई सरुवा मात्र गरेर घटनाको ढाकछोप गरिए सोको प्रतिकार गर्ने बताए।
लागूऔषध मुद्दामा फसाउन खोजिएका पत्रकार मोजिबुल्लाले सिसिटिभीको कारण आफू लागूऔषधजस्तो गम्भीर प्रकृतिको मुद्दाबाट जोगिएको बताए। उनले प्रहरीले फसाउने भरमग्दूर प्रयास गरेको र उनीहरू आफ्नो कार्यमा सफल भएको भए घरपरिवार बिचल्लीमा पर्ने बताए। उनले नाइट्रोभ्याट ट्याबलेट प्रहरीले फसाउन प्रयोग गरेको हुँदा लागूऔषध सम्बन्धमा प्रहरी कारबाई सन्देहजनक हुने भएको बताए। उनले लागूऔषध घटनामा प्रहरीले सामानको अपचलन गर्ने गरेको यो घटनाबाट पुष्टि भएको भन्दै सोको छानबिन गर्नुपर्ने बताए।
रौतहट शाखा अध्यक्ष प्रेमचन्द्र झाको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासङ्घका केन्द्रीय सदस्य शिव पुरी, महम्मद एकबाल, प्रदेश सदस्य शैलेन्द्र झा, शाखाका पूर्वअध्यक्ष शैलेन्द्रकुमार गुप्ता, प्रभात झालगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सहजीकरण शाखा सचिव मदन ठाकुरले गरेका थिए।
यसैबीच, महासङ्घको उच्चस्तरीय टोलीले रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेवप्रसाद यादवलाई भेटेको छ। भेटको क्रममा वरिष्ठ उपाध्यक्ष विष्टले घटनाका दोषीलाई कारबाई गर्न माग गरे। उनले होटल साहु र प्रनाउलाई पनि अनुसन्धानको दायरामा ल्याउन माग गरे।