फिउवाको च्याउखेती ठोरीमैं अपुग

0
236

ओमप्रकाश चौधरी, सेढवा, १० भदौ/

ठोरी गाउँपालिकामा व्यावसायिक आर्गेनिक च्याउखेती शुरू भएको छ।

ठोरी गापा–५ सानो बाघमोर्चामा सूर्य फिउवाले गत मङ्सिरदेखि च्याउखेती शुरू गरेका हुन्। पाँच कट्ठा जग्गा भाडामा लिएर फिउवाले च्याउखेती शुरू गरेका हुन्। मङ्सिरदेखि जेठसम्म उनले ४५ क्विन्टल च्याउ उत्पादन गरेको बताए।

यस वर्षको च्याउखेती उत्पादनको लागि पहिलो चरणको बीउ राख्ने काम सम्पन्न भएको फिउवाले बताए। उनले आर्गेनिक च्याउखेतीको लागि परालको भुसलाई पानीमा चार घण्टासम्म उसिनेर प्लास्टिकको थैलोमा प्याक गरी सञ्चय गर्नुपर्ने र चार/पाँच दिनपछि च्याउको बीउ थैलोमा राखी डोरीमा झुन्ड्याएर राख्नुपर्ने बताए।

च्याउ उत्पादनमा परालको भुस, प्लास्टिकको झोला, कपास, बीउ, डोरी, ड्रम र दाउरा चाहिने उनले बताए। च्याउखेतीको लागि उनले पाँचजना ज्यामी राखेका छन्। यसपटक आठ हजार प्याकेट च्याउ उत्पादन गर्ने उनको लक्ष्य छ। प्रतिप्याकेट एक किलो च्याउ उत्पादन हुने गरेको उनले प्रतीकलाई बताए।

च्याउखेतीको लागि आवश्यक बीउ फिउवाले भारतको दार्जिलिङ र काठमाडौं, हेटौंडा, चापागाउँबाट ल्याउने गरेका छन्। उनले मङ्सिरदेखि सञ्चालन गरेको च्याउखेतीको लागि अहिले बजार खोज्नुपर्ने अवस्था नरहेको बताए। स्थानीय बजारमैं आफूले उत्पादन गरेको च्याउ सहज बिक्री भइरहेको फिउवाले बताए। च्याउ उत्पादन नहुँदा त्यसको अभाव देखेर आफूले ठोरीमा उत्पादन शुरू गरेको उनले बताए।

४५ क्विन्टल उत्पादित च्याउ सुवर्णपुर, सेढवा, विजयबस्ती, नौकाटोला, ब्रह्मनगर, सुपौली, ठोरी र चौतारा बजारमैं खपत भएको फिउवाले बताए। ठोरीमैं च्याउको माग पूरा गर्न नसकिएकोले अन्यत्र बजार चहानुपर्ने अवस्था नभएको उनले बताए। गत वर्षको उत्पादन सहजै बिक्री भएपछि यसपटक दोब्बर उत्पादन गरेको उनले बताए। फिउवाले उत्पादित च्याउ प्रतिकिलो रु दुई सयमा बजारमा बिक्री गरेको बताए। फिउवाले २० वर्षअघि च्याउखेतीको तालीम चितवनको सौराहामा लिएका थिए। सोही बेलादेखि उनले चितवनको पद्मपुर कालिकामा च्याउखेती गर्दै आएको र अहिले ठोरीमा शुरू गरेको बताए। चितवनको पद्मपुर कालिकामा अहिले पनि दैनिक ८० किलो च्याउ बिक्री हुने गरेको उनले बताए। त्यहाँ घरपरिवारका अन्य सदस्यले च्याउखेती गर्दै आएको फिउवाले बताए।

च्याउखेतीबाट उनले चितवनमा एक कट्ठा जग्गा खरीद गरेर घर निर्माण गरेको र बालबालिकालाई शिक्षादीक्षा दिएको बताए। च्याउखेतीका साथै व्यावसायिक केराखेती र तरकारीखेती पनि शुरू गर्दै आएको फिउवाले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here