प्रस, वीरगंज, १० भदौ/
पोखरिया नगरपालिका र जगरनाथपुर गाउँपालिकाका ६० जना बाढी प्रभावित दलित, एकल एवं विपन्न महिलालाई आर्थिक सहयोग प्रदान गरिएको छ।
लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटी, लायन्स क्लब अफ वीरगंज सेस्मी एकेडेमी, लायन्स क्लब अफ वीरगंज विजयपथको संयुक्त आयोजनामा बिहीवार वीरगंजस्थित सेन्ट जेभियर्स विद्यालयको सभाकक्षमा आयोजित कार्यक्रममा महिलाहरूलाई सहयोग प्रदान गरिएको हो।
इन्टर–जेनेरेशनल फोरम, वुमेन ह्युमेनिटेरियन एन्ड डिआरआर प्लेटफर्म र वुमेन फ्रेन्ड्ली डिजास्टर म्यानेजमेन्ट कोर ग्रुपले जनही सात हजार पाँच सयका दरले ६० जना महिलालाई चार लाख पचास हजार नगद सहयोग प्रदान गरेको लायन्स क्लब अफ वीरगंज विजयपथका अध्यक्ष तथा कार्यक्रमका सहजकर्ता विजय कुशवाहाले जानकारी गराएका छन्।
लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीकी उपाध्यक्ष एवं पोखरिया नगरपालिकाकी उपप्रमुख सलमा खातुनको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लबका डिस्ट्रिक्ट एक्ज्युकेटिभ चिफ डिएन अग्रवालले दातृ संस्थाहरूलाई धन्यवाद दिंदै आगामी दिनमा पनि प्रभावित विपन्न महिलाका लागि यस्ता सहयोग निरन्तरताका लागि आग्रह गरेका थिए।
आर्थिक सहयोग प्राप्त गर्ने ६० जना विपन्न महिलाहरूमा बनिता देवी, शोभा देवी, कलमसुन खातुन, मुन्ना देवी, तारा देवी, मजलिमा खातुन, सुगन्धी देवी अहिरिनलगायतका रहेका छन्।
कार्यक्रममा लायन्स क्लबका एरिया चिफ वासु तिमिल्सिना, डिस्ट्रिक्ट डेपुटी चिफ उमेश साह कानू, जोन चेयरपर्सन आश्मा सिंह यादव, वरिष्ठ प्रसूति रोग विशेषज्ञ डा लक्ष्मी थापालगायतले मन्तव्य व्यक्त गरेका थिए।