लहरे वनमाराले वनजङ्गल ढाक्यो खतराको दिन आउँदै

– सुदर्शनराज पाण्डे

पाँच दशक अगाडि नेपाल भित्रिएको विश्वको दुश्मन भनेर चिनिने आयातित लहर वनमारा मिचाहा प्रजातिले प्राकृतिक वनजङ्गल छिटोछिटो विनाश गर्दैछ। यतिखेर मेचीदेखि महाकालीसम्म लहरे वनमाराले ढपक्कै ढाकेको पाइन्छ। पूर्व–पश्चिम राजमार्गको दायाँबायाँ वनजङ्गलमा हरियो लहरे वनमाराले रैथाने रूखबिरुवा विस्थापित गरिरहेको छ।

मिचाहा प्रजाति भनेको एउटा जीव (बोट, बिरुवा, जीवजन्तु, फङ्गस वा ब्याक्टेरिया) हो जो रैथाने होइन, जसले हाम्रो अर्थतन्त्र, वातावरण र स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्छ। जैविक विविधता संरक्षणको सन्दर्भमा वन, जङ्गल, वासस्थानको विनाशपछि दोस्रो सबैभन्दा ठूलो चुनौती मिचाहा प्रजातिका बोटबिरुवा र जीवजन्तु नै हुन्। आयातित प्रजाति त्यस्ता बोटबिरुवा, जीवजन्तु र सूक्ष्म जीव हुन् जसलाई आफ्नो प्राकृतिक वासस्थानको हदभन्दा बाहिर ल्याई नयाँ क्षेत्रमा स्थापित गरिएको, हुकाईएको हुन्छ। नेपालमा लहरे वनमारालाई एउटा मिचाहा प्रजातिको रूपमा स्वीकार गरिएको छ। लहरे वनमारा अमेरिकाको रैथाने हो।

१५ सय मिलिलिटरभन्दा बढी वर्षा हुने, १२ मिटर उचाइ भएको ठाउँमा लहरे वनमारा फैलिएको पाइन्छ। लहरे वनमाराले सालको बुट्यान मासेको छ। सिमललगायत रूखमा चढेर फैलिंदा रूखै मर्न गएको छ। लहरे वनमाराले ढोकेको स्थानमा कुनै पनि रैथाने बोटबिरुवा उम्रन र हुर्कन सक्दैन। घाँसे मैदान, खाली ठाउँ जताततै लहरे वनमारा फैलिएको छ। लहरे वनमारा बाख्रा,गाईवस्तु केहीले पनि खाँदैन। बोटबिरुवा, अन्न बालीमा लाग्ने रोग फैलाउने कीरालाई लहरे वनमाराले निकै मदत गर्दछ। मिचाहा प्रजातिको वनमाराले बाघ, हात्ती, गैंडा, बँदेललगायत वन्यजन्तुको वासस्थल उजाडिदिएको छ। वृक्षारोपण क्ष्Fेत्रमा यो लहरे वनमारा अति फस्टाएको छ। बेलैमा सम्बन्धित निकायले स्थानीय जनताको सहयोग लिएर लहरे वनमाराको विनाशमा आवश्यक कदम नचाल्ने हो भने हामीले हेर्दाहेर्दै प्राकृतिक वन विनाश भई हामी मानिस मात्र होइन, पशुपक्षी सबैको अस्तित्व अति छिटो समाप्त पार्न सक्दछ।

केही वर्ष यतादेखि तराई तथा पहाडी जिल्लाका राजमार्ग वरपरको जङ्गलमा मिचाहा प्रजाति लहरे वनमाराको नकारात्मक प्रभाव तीव्ररूपमा भएको देखिन्छ। केही वर्षदेखि पहाड र मधेसमा पुराना प्रजातिका बोटबिरुवा, घाँसपात विलय हुने र नयाँ–नयाँ प्रजाति उत्पत्ति हुँदै जाने क्रम छ। गाईवस्तुले खाने घाँसपात मासिंदै गएर गाईवस्तुले नखाने नयाँ प्रजातिका घाँसपात बोटबिरुवा फस्टाउँदै गएको छ। लहरे वनमाराको बढ्दो प्रकोप राजमार्ग वरपरको क्षेत्रमा अहिले वर्षा महीनामा राम्रैसँग देख्न सकिन्छ। लहरे वनमाराले ढाकेको क्षेत्रमा रैथाने प्रजातिका रूखबिरुवा सखापै भएको पाइएको छ। सालको बुट्यान मासिएको छ।

सन्तुलित प्राकृतिक वातावरणमा नै मानव, वनस्पतिलगायत सम्पूर्ण जीवजन्तु तथा जैविक विविधताको उपयुक्त ढङ्गले विकास हुन्छ। प्राकृतिक र मानवजन्य क्रियाकलापका कारण वनजङ्गल दिन दुना रात चौगुनाका दरले मासिंदै गएको छ। वन विनाशको यो दुर्भाग्यपूर्ण क्षण हो। प्राकृतिक वातावरणको विनाश, पुरानो रैथाने उपयोगी बोटबिरुवा, वनस्पतिको विनाश र नयाँ अनुपयोगी वनस्पतिको विकास भयो भने मानव तथा प्राणी जातिको अस्तित्वसमेत हराउँछ। हामीले देख्दादेख्दै  कतिपय प्राणी र वनस्पति विलय हुँदै गएको छ। सिमल, जामुन, कर्मा, सतिसाल, विजयसाल, खयर आदिको जङ्गल मासिएर बोटबिरुवा पाउन मुश्किल छ। गिद्ध, गँगटो, गँड्यौला, कछुवा, चील आदि हराउँदै गएको छ। जसबाट इकोलोजिकल ब्यालेन्स, प्राकृतिक सन्तुलनको सङ्कट देखा परेको छ। काम नलाग्ने वनस्पति, झार मार्न विषादि प्रयोग हुने गरेको छ। नेपालमा प्राकृतिक सम्पदा, जैविक विविधताको समुचित संरक्षण, व्यवस्थापन र सदुपयोग गर्नुपर्ने टड्कारो आवश्यकता आइपरेको छ। वातावरणीय –हास, जलवायु परिवर्तन वर्तमान चुनौती हो। वातावरणीय –हासबाट जैविक जगत्मा डरलाग्दो असर उब्जिन पुगेको छ। यसतर्फ सबैको ध्यानाकर्षण  हुन जरूरी छ। विश्वको दुश्मन लहराको रूपमा परिचित लहरे वनमारालाई नेपालमा एउटा मिचाहा प्रजातिको रूपमा स्वीकार गरिएको छ। पूर्वदेखि पश्चिम नेपालको १२ सय मिटर उचाइ भएको स्थानमा चिस्यानयुक्त बाँझो खुला ठाउँ, वन क्षेत्रमा लहरे वनमाराले ढपक्कै ढाक्दा बिरुवा उम्रिन नसक्ने र ठूला रूखसमेत मर्दै गएको पाइन्छ। लहरे वनमाराले ग्रस्त क्षेत्रमा जैविक विविधतामा उल्लेखनीय –हास पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here