किन कमजोर छ सामाजिक अनुसन्धानको पाटो ?

0

– सञ्जय साह मित्र

समाजको आफ्नै गति हुन्छ। परिवर्तनको आफ्नै दिशा हुन्छ। यसमा एकाध मानिसले सामान्यावस्थामा चाहेर वा नचाहेर खासै फरक पर्दैन तर यदि समाजलाई मिहिन अध्ययन गर्ने हो भने शक्तिशाली व्यक्तिको समाज र सामाजिक व्यवस्थामाथि प्रभुत्व रहेको पाइन्छ। कुनै एक व्यक्ति यदि शक्तिशाली निस्क्यो भने समाजको स्वरूपमा धेरै हदसम्म परिवर्तन गर्न सक्छ। समाजको स्वरूप भन्नुको अर्थ समाजको कुनै निश्चित एकाइका सदस्यहरूका लागि उपलब्ध हुने भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, सञ्चार तथा नितान्त वैयक्तिकदेखि सामाजिक सामूहिक चिन्तनसम्म हो। सामान्यतया समाजलाई आन्तरिक र बाह्य धेरै कुराले प्रभाव पारिरहेको हुन्छ तर आन्तरिकभन्दा बाह्य कारणले समाजमा देखिनेगरी परिवर्तन हुन्छ।

समाजमा परिवर्तन त हुन्छ तर परिवर्तन सकारात्मक हो कि नकारात्मक  मापन कसरी गर्ने ? समाजमा हुने कुनै पनि परिवर्तनको विरोध गर्नेहरू जहिले पनि हुन्छन्। अहिलेसम्म कुनै ठोस वा अठोस जुनसुकै परिवर्तन भए पनि विरोध गर्ने मानिसको नितान्त अभाव भएको सम्भवतः नहोला। कुनै पनि परिवर्तनलाई आत्मसात् नगर्नुका पछाडि कम्तीमा दुई विचार विद्यमान हुन्छ। जसले विरोध गरेको हो, उसलाई परिवर्तनले नोक्सान पु–याउँछ भन्ने लागेको हुन्छ वा परिवर्तनमा आफ्नो भूमिका नहुँदा भूमिकाको खोजी भएको हुनुपर्छ। भूमिकाको खोजी गर्नेले परिवर्तन आइसकेपछि पनि त्यसको विरोध गर्छ तर सम्भव भएसम्म पछाडि फर्केर जान खोज्दैन बरु थप परिवर्तनमा आफू सक्रिय हुन खोज्छ।

समाजमा परिवर्तन भइरहन्छ तर समाजमा परिवर्तन कुन तहसम्म तथा कसरी भएको छ भन्ने विषयमा किन अनुसन्धान हुँदैन ? कुन अवस्थामा कुन समाज कस्तो छ वा थियो भन्ने कुराको अभिलेखन भएको पाइँदैन। उदाहरणको लागि कुनै निश्चित स्थानीय तह वा गाउँमा कुनै एक दलित जातिको अवस्था कुनै निश्चित मितिमा कस्तो थियो र अहिले दश वर्षमा सोही दलित जातिको अवस्थामा के कति परिवर्तन आयो ? परिवर्तन कसरी आयो ? परिवर्तनमा त्यहीको समाजले भूमिका खेलेको छ कि छैन ? परिवर्तनमा सम्बन्धित दलित जातिको आफ्नो योगदान कति छ ? बाह्य कारण के कति जिम्मेवार रहेको छ ? यी र यस्ता पक्षमा अनुसन्धान हुन सकेको छैन। यी र यस्ता कुनै पनि सामाजिक विषयवस्तुमाथि खासै परिवर्तनको पक्षमा अनुसन्धान हुन नसक्नुका कारण बुझ्नु आवश्यक हुन्छ।

कतिपयले के भन्ने गरेका छन् कि सबैभन्दा पहिले मानिसले आफ्नै अभिलेखीकरण गर्ने गरेको छैन। आफ्नै काम र योगदानमा अभिलेखीकरण नगर्ने मानिसले कसरी समाज परिवर्तनको अभिलेखीकरण गर्ला ? अर्कोथरीको भनाइ छ–समाजमा शिक्षा र चेतनाको अभाव छ र हरेक कुरालाई आर्थिक परिवर्तनसित जोडेर हेरिन्छ। आर्थिक परिवर्तन नै सबैथोक हो भन्ने समाज मनोविज्ञानको विकास भएकोले शिक्षाको उद्देश्य पनि अर्थोपार्जन मात्र हुनुपर्छ भन्ने मनोविज्ञानले काम गर्दै जो जे जति सक्षम छ, त्यति धेरै प्राविधिक शिक्षामा जोड दिएर आफ्नो सन्तानलाई सोही अनुरूप बन्न उत्प्रेरित गर्छ। यसको परिणति यो भएको छ कि सामाजिक विषयवस्तुमाथि अनुसन्धानको पाटोमा शिक्षाको उज्यालो पर्नै सकेको छैन। उच्च शैक्षिक जनशक्तिले पनि सामाजिक अनुसन्धानको महत्व बुझ्न सकेको छैन। यस परिवेशमा यो पनि देखिएको छ कि अहिले सामाजिक शास्त्र तथा मानविकीका विषयहरू सुक्दै गइरहेका छन्। सामाजिक शास्त्र तथा मानविकीको नाम नसुन्ने उच्च शिक्षित वर्गको समूह अब समाजमा बिस्तारै ठूलो हुँदै गइरहेको छ। जहाँ बढी आर्थिक पक्ष बलियो भएर आउँछ, त्यहाँ समाज र सामाजिक विषयवस्तुबारे बुझ्नेहरू बिस्तारै कम हुँदै जान्छन्।

समाजमा अनेक तथ्य छन्। अनेक तथ्याङ्क छन्। ती तथ्य र तथ्याङ्क सङ्कलन गर्ने, विश्लेषण गर्ने, परिमार्जन गर्ने, प्रस्तुत गर्ने मानिसको आजभोलि अभाव हुँदै गइरहेको छ। यसको परिणति यो पनि हुनुपर्छ कि बाहिरबाट जे जस्तो उपभोग्य वस्तु आउँछ, परिवर्तनको नाउँमा आँखा चिम्लेर स्वीकार गरिन्छ। हाम्रो समाजबाट माटोको भाँडो पूरै हराएर गयो। माटोको भाँडोको ठाउँमा प्लास्टिकको भाँडो आयो। यो यस कारण सबैले सजिलै स्वीकार गरे कि यो उपभोगमा सजिलो छ। अहिले माटोको गिलास कतै पनि पाइन्न। हो, कतिपय शहरले भने जोगाएर राखेका छन्। कुनै काम विशेषले हामी त्यहाँ पुग्दा त्यसको प्रशंसा गर्दछौं। प्रशंसा गर्ने तर हाम्रो समाजमा त्यसलाई कसरी ल्याउन सकिन्छ भन्नेतिर भने ध्यान जान्न। अहिले प्लास्टिकको झोलाले जुन स्थान पाइसकेको छ, आजभन्दा चालीस वर्ष पहिले यसको अस्तित्व कस्तो थियो अहिलेका युवालाई थाहै छैन। कसरी त्यतिबेलाको समाज चलेको थियो र समाजमा कसरी सामान आदानप्रदान हुन्थ्यो भन्ने पक्षबाट युवा पुस्ता अनभिज्ञ बन्दैछ। प्लास्टिकको झोला वा सामान हाम्रो स्वास्थ्य तथा वातावरणको लागि फाइदाजनक छ भन्ने होइन। यसबाट हाम्रो वातावरणीय स्वास्थ्यमाथि गम्भीर असर पुगिरहेको छ तथा मानिसको स्वास्थ्यमा पनि गम्भीर प्रभाव परिरहेको छ भन्ने कुरो बुझेका छौं। बुझेर पनि हामी यसरी अभ्यस्त भइसकेका छौं कि घरबाट बाहिर निस्कँदा कुनै पनि सामान किन्नुछ भनेर व्यवस्था गरेर जाँदैनौं र सजिलोको लागि प्लास्टिकको बोरा वा झोला मागिहाल्छौं। त्यसैमा सामान ल्याउँछौं।

यहाँ सामानको प्रसङ्ग वा सन्दर्भ मात्र होइन। प्लास्टिकको उपभोगमा वृद्धि भएपछि कुन कुन पेशामा असर प–यो ? कुन कुन पेशालाई प्लास्टिकले विस्थापित ग–यो ? प्लास्टिकले हाम्रो समाजको पैसा कसरी बाहिर लगेको छ ? प्लास्टिकले घरका कुन कुन काममा वर्चस्व जमाइसकेको छ। त्यो वर्चस्व जमाएको कहिलेदेखि हो ? त्यसको ठाउँमा पहिले के प्रयोग हुन्थ्यो ? पहिले प्रयोग हुने वस्तु वा भाँडोको अवस्था कस्तो छ ? अहिले फेरि प्रयोग र प्रचलनमा ल्याउन सकिन्छ कि सकिंदैन ? यस विषयमा कुन उमेरका मानिसको विचार वा राय कस्तो छ ? यसरी विचार जान्न खोज्दा पश्चगामी भएको आरोप लाग्ला कि मौलिकता जोगाउने अभियन्ता भन्ला ? व्यक्ति, समाज र वातावरणलाई हानि–नोक्सानी पु–याउने प्लास्टिक र यस्ता अन्य वस्तु विस्थापित गर्ने अभियान चलाउन सकिन्छ कि ? यसको विरोध गर्नेहरू पनि निस्कलान् ? यस्ता पक्षमाथि अनुसन्धान गर्नेले के कस्ता अप्ठ्याराको सामना गर्नुपर्ला ? समाज, स्थानीय सरकार तथा केही एनजिओ वा समूहले सहयोग पनि गर्ला कि ? अहिलेको समाजमा एनजिओको भूमिका कस्तो हुन सक्ला ? अनुसन्धानको विषय यो वा यस्तो पनि हुन सक्छ।

आर्थिक पाटौ नै सबैथोक हो कि सामाजिक तथा सांस्कृतिक पाटोको पनि महत्व छ ? अहिले जसरी सबैतिर भौतिक पूर्वाधार र आर्थिक पाटोको, जुन रूपमा वाहवाही भइरहेको छ, यसले कालान्तरमा हाम्रो समाजको पहिचान सुरक्षित रहन सक्ला कि नसक्ला ? समाजमा रहेका विकृति, विसङ्गति तथा कुरीति र कुसंस्कार हटाउनै पर्छ। विभेद र शोषणको अन्त्य हुनै पर्छ। यसको अर्थ यो पनि हो कि समाजमा रहेका हाम्रा अमूल्य तर अमूर्त वा अभौतिक सम्पदाको पनि संरक्षण हुनुपर्दछ। हाम्रा सामाजिक विश्वासहरू जो कतिपय अवस्थामा अन्धविश्वास पनि होलान्, तिनीहरूको स्वरूप कस्तो थियो, भावी पुस्ताले जान्न पाउनेगरी कसरी भिडियो वा बोली वा अभिलेखन गरेर सुरक्षित राख्न सकिन्छ भन्ने विषयमा पनि सोच्नु आवश्यक छ। यसको अर्थ यो कदापि नलगाइयोस् कि त्यस्ता विकृतिलाई सामाजिक सम्पत्ति मानेर संरक्षण गर्नुपर्दछ।

अहिले देशमैं समाज अध्ययन गर्ने संस्कृति हराउँदै गएको छ। पहिले धेरै थियो भन्ने होइन, तर पहिले अहिलेको जस्तो तीव्र गतिमा समाजमा परिवर्तन पनि भएको थिएन। अहिले समाजमा तीव्र गतिमा परिवर्तन भइरहँदा समाजको परिवर्तनको गति वा मात्रा मापनको लागि पनि सामाजिक अध्ययन, अनुसन्धान हुनु आवश्यक छ। सामाजिक अध्येताहरू जन्माउने विचार नै शून्य नहोओस्। सामाजिक शास्त्र तथा मानविकी हराएर नजाओस् र यसको मूल्य र महत्वको खोजीमा बौद्धिक व्यक्तिहरूको ध्यान जाओस्। समाजको गति मापनको काम हाम्रै समाजका सदस्यहरूबाट आधिकारिक रूपमा हुनुपर्ने देखिन्छ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here