रियो डि जेनेरियो, ७ भदौ/सिन्ह्वा
गत अगस्त १५ मा हाइटीमा गएको ७.२ रेक्टर स्केलको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या बढिरहेका बेला ब्रजीलले त्यहाँका भूकम्पपीडितका लागि सहायता पठाएको छ।
ब्रजीलले आइतवार यहाँका भूकम्पपीडितका लागि भन्दै जहाजमा सहायता पठाएको छ। सो सहायता खाद्यान्न र लत्ताकपडा रहेको ब्रजीलले जनाएको छ।
हवाईजहाजमा खाद्यान्न, औषधि र लत्ताकपडा पठाइएको बताइएको छ। साथै ब्रजीलले उद्धारकर्मी पनि सो जहाजमा पठाएको जनाएको छ। ब्रजीलका अधिकारीले दिएको जानकारी अनुसार हाइटीमा भूकम्पको उद्धारका लागि ३२ जना अग्निनियन्त्रण विशेषज्ञहरूलाई पनि पठाइएको बताइएको छ। यहाँको भूकम्पबाट आइतवारसम्ममा दुर्ई हजार २०० भन्दा बढी नागरिकको ज्यान गएकोे नागरिक सुरक्षा निकायले जानकारी दिएको छ। यहाँ भूकम्पबाट भएको क्षतिका बारेमा अनुसन्धान भइरहेको छ। साथै उद्धारको काम पनि जारी रहेको बताइएको छ।
यस भूकम्पको केन्द्रबिन्दु दक्षिणी शहर लेस केयेसबाट उत्तरपश्चिम ४१ किलोमिटर टाढा रहेको स्थानमा ३० किलोमिटर गहिराइमा रहेको बताइएको छ। भूकम्पका कारण ६० हजारभन्दा बढी घर भत्किएका छन् भने ७६ हजार क्षतिग्रस्त भएका छन्। कमजोर संरचना भएका केही जेल तथा थुप्रै सामुदायिक विद्यालयलगायतका भवन भत्किएका छन्।
यस प्रकोपका कारण पाँच लाखभन्दा बढी बालबालिका प्रभावित भएका संयुक्त राष्ट्रसङ्घको बालबालिकासम्बन्धी एजेन्सी युनिसेफले जनाएको छ। हाइटीको सरकारले भूकम्पपछिको अवस्थालाई व्यवस्थित गर्न एक महीना लामो राष्ट्रिय सङ्कटकालको पनि घोषणा गरेको छ।
हाइटीमा यसअघि पनि सन् २०१० को जनवरीमा गएको ७ रेक्टर स्केलको भूकम्प गएको थियो। यहाँको पोर्ट–ओ–प्रिन्स र नजीकैका अधिकांश शहरमा ठूलो क्षति भएको थियो। उक्त भूकम्पमा परी कम्तीमा पनि दुर्ई लाख मानिसको ज्यान गुमेको बताइएको थियो। तीन लाखभन्दा बढी घाइते भएका उक्त घटनामा एक लाख ५० हजारभन्दा बढी हाइटीवासी घरवारविहीन भएका थिए। हाइटीमा १० वर्षअघि यसरी क्षति पुगेका संंरचनाहरूमध्ये कतिपयको अहिले पनि राम्रोसँग पुनर्निर्माण गर्न सकिएको छैन। रासस