अमेरिकाद्वारा अफगानिस्तानबाट एक दिनमा १७ सयको उद्धार

0

वाशिङ्टन, ७ भदौ/एएनआई

अफगानिस्तानबाट अमेरिकाले आइतवार एक दिनमा १७ सय मानिसलाई उद्धार गरेको छ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले दिएको जानकारी अनुसार ३९ वटा विमानबाट कुल ३४ हजारजनालाई उद्धार गरिएकामा १७ सय अमेरिकी रहेका छन्।

उद्धार गर्नुपर्नेको सङ्ख्या धेरै रहेकाले उद्धार कार्यलाई छिटो सम्पन्न गर्नका लागि खटिने विमानको सङ्ख्या पनि बढाउन लागिएको अधिकारीहरूले जनाएका छन्।

उनीहरूका अनुसार अमेरिकाले अफगानिस्तानबाट उद्धारका लागि गैरसैनिक वायुसेवाका विमानहरूको पनि प्रयोग गर्न लागेको छ।

अगस्त १५ मा तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा रहेका हजारौं मानिस अफगानिस्तानबाट भाग्न खोजिरहेका छन्। अफगानिस्तानबाट बाहिरिनका लागि हजारौं मानिस काबुल विमानस्थलमा जम्मा भएकाले उनीहरूलाई तत्काल उद्धार गर्नुपर्ने खाँचो देखिएको छ।

अफगानिस्तान छोड्न काबुल विमानस्थलमा भएको भागदौडका क्रममा कम्तीमा २० जनाको मृत्यु भएको जनाइएको छ। शुरूका केही दिन तनावपूर्ण र कारुणिक भएपनि अहिले भने सामान्य हँुदै गएको अधिकारीहरूले जनाएका छन्।

विमानमैं बच्चाको जन्म

अफगानिस्तानबाट उद्धार गरिएकी एक महिलाले विमानमैं बच्चा जन्माएको विषय पनि अहिले चर्चाको विषय बनेको छ। उद्धार गरी जर्मनीतर्फ गइरहेको विमानमा एक महिलाले गत शनिवार छोरी जन्माएको जनाइएको छ। अमेरिकी रक्षा मन्त्रालयले सामाजिक सञ्जाल ट्वीटरमार्फत आमा र शिशुको तस्वीरसमेत सार्वजनिक गर्दै उद्धारकै क्रममा महिलाले बच्चा जन्माउँदा खुशी लागेको उल्लेख गरेको छ। 

युएस एयर फोर्स सी–१७ विमानमा बच्चा जन्मेको र आमा र शिशु दुवैजनालाई विमानमैं स्वास्थ्य सेवासमेत उपलब्ध गराइएको रक्षा मन्त्रालयले जनाएको छ। रासस

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here