प्रस, वीरगंज, ७ भदौ/

जिल्ला प्रहरी कार्यालय, रौतहटले लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार मोजिबुल्ला निर्दोष भएको र निजलाई फसाइएको भन्दै सो कार्यमा संलग्न दुईजना प्रहरीलाई निलम्बित गरेको छ।

आज पत्रकार सम्मेलनको आयोजना गर्दै प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले प्रसनि उदय यादव र प्रहरी जवान मनोज साहलाई निलम्बन गरी कारबाई प्रक्रिया अगाडि बढाएको बताए। उनले अनुसन्धानबाट नेपाल पत्रकार महासङ्घ, रौतहटका सहसचिव सञ्जय सहनीको निर्देशनमा प्रहरीद्वय यादवले सो घटना गरेको जानकारी गराएका थिए।

निलम्बित प्रसनि यादव जिल्ला प्रहरी कार्यालय, रौतहटका अपराध शाखाका घुमुवा प्रहरीका इन्चार्ज हुन्। प्रहरीद्वय यादवमाथि आपराधिक षड्यन्त्रसम्बन्धी कसूरमा रौतहट जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर कारबाई प्रक्रिया अगाडि बढाइएको पत्रकार सम्मेलनमा बताइएको थियो। उनीहरूले प्रहरी आचरणविरुद्ध कामकारबाई गरेको पाइएपछि निलम्बन गरिएको हो।

पत्रकार मोजिबुल्लालाई साउन ३२ गते स्थानीय होटल ग्रीन सिग्नलबाट पक्राउ गरिएको थियो। होटल साहुले खाना खान बोलाएको बेला पत्रकार मोजिबुल्ला साँझ ७ बजे पुगेको र उनले होटलमा राखेको मोटरसाइकलमा घुमुवा इन्चार्ज यादव र प्रहरी जवान यादवको निर्देशनमा धीरज यादव तथा जितेश यादव भन्ने व्यक्तिले १०५ थान नाइट्रोभेट ट्याबलेट प्लास्टिकको झोलामा राखेका थिए।

अनुसन्धानमा घुमुवा इन्चार्ज यादवले सो कार्य नेपाल पत्रकार महासङ्घ, रौतहटका सहसचिव सहनीको निर्देशनमा गरेको खुलेको छ। सहनी घटनापछि सम्पर्कविहीन छन्। 

उच्चस्तरीय छानबिनको माग

यसैबीच, नेपाल पत्रकार महासङ्घ, रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झाले उच्चस्तरीय प्रहरीबाट छानबिनको माग गरेका छन्। उनले रौतहट शाखाका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियालाई रौतहटबाट सरुवा गर्नुपर्नेसमेत बताए। प्रहरी कार्यालयदेखि आधा किलोमिटरको दूरीमा रहेको ग्रीन सिग्नल होटलको घटनामा प्रहरीले इमानदारीपूर्वक अनुसन्धान नगरेको र त्यसमा प्रनाउ चिमोरियाको  कमजोरीका कारण पत्रकारले अनावश्यक पीडा सहनुपरेको भन्दै उनले सरुवाको माग गरेका हुन्। उनले आज आयोजित पत्रकार सम्मेलन रौतहट शाखाले बहिष्कार गरेको बताए। पत्रकार सम्मेलनबाट उच्चस्तरीय छानबिनको सम्बोधन नभएको भन्दै सम्मेलन बहिष्कार गरेको बताए।

मोजिबुल्ला रिहा

प्रहरीले लागूऔषध मुद्दामा फसाएर पक्राउ गरेको पत्रकार मोजिबुल्लालाई सोमवार दिउँसो रिहा गरेको छ। अनुसन्धानबाट घटना फरक प्रकृतिबाट  पुष्टि भएको र दोषीहरू पक्राउ परेपछि मोजिबुल्लालाई रिहा गरिएको नेपाल पत्रकार महासङ्घ, रौतहटका अध्यक्ष झाले बताए।

साउन ३२ गतेको यस घटना सम्बन्धमा रौतहट प्रहरीले अनुसन्धानमा ढिलो गरेको र सिसिटिभी फुटेज नष्ट गर्नेसम्मको प्रयास गरेको तर गत शुक्रवार सो सिसिटिभी फुटेज सार्वजनिक भएपछि घटनाको विरोध शुरू भएको हो।

नेपाल पत्रकार महासङ्घ, प्रदेश २ का महासचिव श्याम बन्जाराले आइतवार विज्ञप्ति जारी गरी मोजिबुल्लाको रिहाइ र घटनाका दोषीलाई कारबाई गर्न माग गरेका थिए।

यसैगरी, रौतहट शाखाले सिसिटिभी फुटेज सार्वजनिक भएलगत्तै घटनाका दोषीलाई पक्राउ गरी निर्दोष मोजिबुल्लालाई रिहा गर्न माग गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here