राधेश्याम पटेल, परवानीपुर, ६ भदौ/

नेकपा एमाले टुक्रिएपछि प्रदेश २ को प्रदेशसभामा माधव नेपालको नेकपा समाजवादीका बहुसङख्यक सदस्य छन् । पुराना नेता तथा कार्यकर्ताहरूमा भागबन्डा गर्दा नेकपा समाजवादी बलियो देखिएपछि नेकपा एमाले कमजोर देखा परेको हो । यसैले अहिले प्रदेश २ मा नेकपा एमालेका नेताहरू तनावमा छन् ।

दल विभाजनसम्बन्धी अध्यादेश जारी भएलगत्तै नेकपा एमाले विभाजनको शिकार भएको हो । नेकपा एमालेका वरिष्ठ नेता नेपाल पक्षले निर्वाचन आयोगमा नेकपा समाजवादी पार्टी दर्ताका लागि निवेदन दिएको र निर्वाचन आयोगले भदौ ९ गतेसम्म हेड काउन्ट अर्थात् सनाखतको लागि नेपाल पक्षलाई बोलाएको छ । त्यसपछि दल दर्ताको प्रमाणपत्र आयोगले दिएपछि आधिकारिकरूपमा नेकपा समाजवादी पार्टीले आफ्नो राजनीतिक यात्रा अघि बढाउनेछ ।

प्रमाणपत्र पाएको २१ दिनभित्र प्रदेशसभा सदस्य, पालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, सदस्यलगायत जनप्रतिनिधिहरूलाई दल रोज्न नेकपा समाजवादी पार्टीले म्याद दिनेछ । त्यसैको आधारमा नेकपा एमालेभन्दा नेकपा समाजवादी पार्टी प्रदेश २ मा बलियो रहेको सिद्ध गर्न आफूहरू सक्रिय बनेको नेकपा समाजवादीका नेताहरू बताउँछन् ।

नेकपा समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं एमाले प्रदेश २ का पूर्व सहसंयोजक नागेन्द्र चौधरीका अनुसार प्रदेश २ मा ११ जना प्रत्यक्ष र १० जना समानुपातिक गरी कुल २१ जना नेकपा एमालेका प्रदेश सांसद छन्, जसमध्ये १३ जना प्रदेश सांसद समाजवादी पार्टीमा आउँछन्।

त्यसैगरी, १३६ वटा पालिका (गापा, नपा, उपमनपा, मनपा)मध्ये २७ वटामा नेकपा एमालेबाट पालिका प्रमुख, उपप्रमुखलगायत निर्वाचित जनप्रतिनिधि छन् । करीब छ सयको हाराहारीमा रहेका जनप्रतिनिधिमध्ये करीब चार सय समाजवादी पार्टीमा आउने उनले दाबी गरे । अन्य प्रदेशमा नेकपा एमाले बलियो देखिए तापनि प्रदेश २ को प्रदेशसभा, स्थानीय तह तथा प्रदेश कमिटी, केन्द्रीय कमिटीमा समाजवादीले नै बहुमत पाउने सम्भावना छ ।

प्रदेशसभामा नेकपा एमालेबाट चुनाव जितेका प्रदेशसभा सदस्यहरूमध्ये अशोककुमार यादव, गोविन्दबहादुर न्यौपाने, डिल्लीप्रसाद उप्रेती, नागेन्द्रराय यादव, प्रमोदकुमार यादव, मदनसेन श्रीवास्तव, मञ्जु यादव, रवीन्द्र बैठा, बेंची लुङ्गेली, शत्रुघ्न महतो, सीता गुरुङ, सुन्दरबहादुर विश्वकर्मा र हसिमा खातनु नेकपा समाजवादी पार्टीमा लागेका छन् ।

त्यस्तै, नेकपा एमालेमा सत्यनारायण मण्डल, अनीताकुमारी यादव, किशोरी साह कमल, जगतारेनदेवी सुडिन, मनोजकुमार सिंह, लगनलाल चौधरी, शारदादेवी थापा र त्रिलोकी प्रसाद छन् । प्रदेश २ मा ३२ जना केन्द्रीय सदस्यमा दुवै पार्टीको बराबरको हैसियत छ भने सयजनाको प्रदेश कमिटीमा ६० जना नेकपा समाजवादीमा र ४० जना नेकपा एमालेमा छन् ।

त्यस्तै, प्रदेश २ का आठ जिल्लामध्ये छ जिल्लामा नेकपा समाजवादी मजबूत स्थितिमा छ । पाँच जिल्लामा नेकपा समाजवादीले जिल्ला कमिटीको नेतृत्व नै गरिरहेको छ । यस हिसाबले नेकपा समाजवादी मजबूत देखिन्छ ।

नेकपा समाजवादी गद्दारहरूको पार्टी हो –नेता मण्डल

नेकपा एमालेका नेता सत्यनारायण मण्डलले नेकपा एमालेसँग गद्दारी गरी नेकपा समाजवादी पार्टी खडा भएको आरोप लगाएका छन् ।

उनले प्रदेश २ मा नेकपा समाजवादी पार्टीको बहुमत स्वीकारे तर सो पार्टीलाई गद्दार, गुन्डा र अपराधीको संज्ञा दिन पनि चुकेनन् ।

आक्रोशित मुद्रामा मण्डलले भने नेकपा समाजवादीको राजनीति धेरै दिन चल्दैन । ५३ वर्षको राजनीतिक चरित्रको विश्लेषण गर्दै उनले पार्टीसँग गद्दारी गरी पद र पैसाको लागि जे पनि गर्ने गिरोहको रूपमा नेकपा समाजवादी अघि बढेको आरोप लगाए । उनले पार्टीले हालसम्म प्रदेश २ का नेपाल पक्षका नेताहरूलाई कारबाही नगरेको, जसरी अवस्था बदलिंदै जान्छ पार्टीले कारबाही गर्दै जाने उनले प्रस्ट्याए ।

उनले पार्टी टुक्रिंदा मन रोएको प्रतिक्रिया दिए । नेताहरूले पार्टीको विधिविधानलाई मानेनन्, विपक्षीलाई गएर सघाएर देउवालाई प्रधानमन्त्री बनाए । अदालतको परमादेशबाट बनेको प्रधानमन्त्रीले देशमा लोकतन्त्रको रक्षा गर्न नसक्ने पनि उनले ठोकुवा गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here