मस्को, ४ भदौ/सिन्ह्वा
अफगानिस्तानमा विकसित परिस्थितिका विक्षयमा रूसी र फ्रान्सेली राष्ट्रपतिका बीचमा वार्ता भएको छ । यसका लागि उनीहरूबीच बिहीवार फोन वार्ता भएको बताइएको छ ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीवार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रोलाई टेलिफोन गरेका बताइएको छ । सो वार्ताका क्रममा अफगानिस्तानमा विकसित पछिल्लो परिस्थितिका विक्षयमा आवश्यक कुराकानी भएको रूसी राष्ट्रपतिको सचिवालयले जानकारी दिएको समाचारमा जनाइएको छ ।
रूसी र फ्रान्सेली राष्ट्रपतिका बीचमा हालै अफगानिस्तानमा विकास भएको परिस्थितिका लागि दुर्ई देशले कसरी मिलेर काम गर्ने भन्नेबारेमा छलफल भएको छ । उनीहरूबीचमा अफगानिस्तानमा त्यहाँका सर्वसाधारण नागरिकको सुरक्षाको अवस्थालाई कसरी सुरक्षित गर्ने भन्नेबारेमा कुराकानी भएको बताइएको छ । पछिल्ला दिनमा अफगानिस्तानमा विदेशी दाता राष्ट्र तथा संस्थाहरूले पनि देश छोडिरहेका र त्यहाँका नागरिकहरू असुरक्षा र अभावमा परेको भन्दै यसका लागि मिलेर काम गर्ने विक्षयमा सहमति भएको बताइएको छ ।
त्यसैगरी, बिहीवार नै रूसी राष्ट्रपति पुटिनले इटालीका प्रधानमन्त्रीसँग पनि फोनमा परामर्श गरेका छन् । उनले त्यस अवसरमा आगामी दिनमा अफगानिस्तानका नागरिकका लागि मिलेर अघि बढ्ने सहमति भएको बताइएको छ । यसअघि बुधवार मात्र पनि चिनियाँ र पाकिस्तानी विदेशमन्त्रीका बीचमा पनि अफगान मुद्दामा छलफल भएको थियो ।
चिनियाँ विदेशमन्त्री वाङ यीले अफगानिस्तानलाई आवश्यक सहयोग र सहजरूपमा अहिलेको सङ्क्रमणको व्यवस्थापनका लागि चीनले पाकिस्तानसँग समन्वय गर्ने बताएका थिए । बुधवार चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानी विदेशमन्त्री शाह मोहमद कुरेशीबीच फोन वार्ता भएको थियो ।
त्यस फोन वार्ताका क्रममा विदेशमन्त्री यीले हाल अफगानिस्तानमा विकसित परिस्थितिलाई सामान्य बनाउन र त्यहाँको सङ्क्रमणकालीन व्यवस्थापनका लागि चीनले पाकिस्तानसँग सम्पर्क र समन्वय गरेर अघि बढ्नेछ भनेका थिए । गएको आइतवार काबुललाई तालिबानीले कब्जामा लिएका छन् । उनीहरूले तालिबानी सरकार गठनको तयारी पनि गरिरहेका छन् ।
काबुलबाट प्राप्त समाचार अनुसार त्यहाँ जताततै तालिबानका हतियारधारी लडाकूले गस्ती गरिरहेका देखिएको छ भने आफ्नो देश फर्किन चाहने विदेशीले गर्दा त्यहाँको विमानस्थलको अवस्था अस्तव्यस्त भएको बताइएको छ । रासस