काबुल, २ भदौ/एएफपी

अफगानिस्तानको राजधानी काबुललाई यहाँका सशस्त्र विद्रोही समूह तालिबानले कब्जा गरेपछि यहाँ विभिन्न प्रान्तबाट विस्थापित भएर आएकाको भीड लागेको छ ।

उनीहरू आफ्नो सुरक्षाको माग गर्दै यसअघि काबुलमा आएका थिए । अफगानिस्तानको राजधानी काबुलवरपरका प्रान्तमा तालिबानले कब्जा जमाएपछि उनीहरू भागेर त्यहाँ आएका हुन् । 

तालिबानले गत महीनादेखि अफगानिस्तानको हेरात, घाज्नी, लागोर, कन्दाहार आदि प्रान्त कब्जा गर्दै आएका छन् । त्यस लगत्तै ती स्थानका नागरिक सुरक्षा खोज्दै काबुल आएका र अहिले पनि उनीहरू त्यहीं रहेका छन् ।

अफगानिस्तानमा रहेका संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधिले सो कुरा बताएका हुन् । उनीहरूले काबुलका विभिन्न खुल्ला क्षेत्र र विमानस्थलमा हजारौं नागरिकको भीडभाड रहेको छ । 

उता अफगानिस्तानको राजधानी काबुल नै तालिबानले कब्जा गरेपछि विदेशी नागरिक पनि आफ्नो देश फर्किन काबुलको विमानस्थलमा जम्मा भएका छन् । 

आवश्यक मात्रामा उडान हुन नसक्दा हजारौं नागरिक विमानस्थलमैं बसेका छन् । ती अफगान र विदेशी नागरिकलाई संयुक्त राष्ट्रसङ्घीय सहायता एजेन्सीले सहायता प्रदान गरिरहेको जनाइएको छ । 

उनीहरूलाई आवश्यक पर्ने खाद्यान्न तथा बस्ने व्यवस्थाका लागि सो एजेन्सीले काम गरिरहेको सो एजेन्सीले जानकारी दिएको छ । 

उपस्थित ठूलो सङ्ख्याका विदेशी नागरिक स्वदेश फर्किन चाहे पनि आवश्यक मात्रामा उडान नहुँदा समस्या भएको छ । 

केही मात्रामा विदेशी नागरिकको सङ्ख्या घटेको भएपनि अझै धेरै मानिस त्यहाँ रहेका राजधानी काबुलबाट प्राप्त भएका समाचारमा जनाइएको छ ।

अफगानिस्तानबारे मिलेर अघि बढ्ने अमेरिकी राष्ट्रपति र बेलायतका प्रधानमन्त्रीको भनाइ

लन्डन/एएफपी

अफगानिस्तानमा भएको पछिल्लो विकसित परिस्थितिका विषयमा अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनबीच फोनवार्ता भएको छ । 

उनीहरूबीच मङ्गलवार फोनवार्ता भएको बेलायतका प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । उनीहरूकाबीचमा हालै अफगानिस्तानबाट अमेरिकीसहित नेटो सेना फर्किएको विषय र त्यसपछि तालिबानीले अफगानिस्तान कब्जा गरेको विषयमा कुराकानी भएको थियो ।

सो क्रममा उनीहरूले एकापसमा उक्त अप्ठेरो परिस्थितिमा अफगानिस्तानबाट आफ्ना नागरिक स्वदेश फिर्ता गर्नका लागि गरेको सहायताप्रति धन्यवाद पनि दिएका थिए । 

उनीहरूले फोनवार्ताका क्रममा अबका दिनमा अफगानिस्तानका विषयमा आफू कसरी अघि बढ्ने भन्नेबारेमा पनि कुराकानी गरेको बताइएको छ । 

आगामी दिनमा अफगानिस्तानमा तालिबानले सत्ता सञ्चालन गर्ने स्पष्ट भइसकेको भएपनि आगामी दिनमा अफगानिस्तानका विषयमा एकापसमा मिलेर अघि बढ्ने विषयमा सहमति भएको पनि सो समाचारमा जनाइएको छ ।

उनीहरूले अफगानिस्तानबाट बाहिरिन चाहेका विदेशी नागरिकलाई त्यहाँबाट उद्धार गर्नका लागि पनि संयुक्तरूपमा सहायता प्रदान गर्ने बताएका थिए ।

त्यसैगरी, आगामी दिनमा अफगानिस्तानमा आउन सक्ने मानवीय सङ्कटको समाधानका लागि दुर्ई देशले मिलेर काम गर्ने र विश्व समुदायलाई पनि यस विषयमा आवश्यक मात्रामा समन्वय गरेर अघि बढ्ने उनीहरूले बताएको सो समाचारमा जनाइएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here