क्वालालम्पुर, ३२ साउन/सिन्ह्वा

मलेसियाका प्रधानमन्त्री मुहिद्दीन यासिनले राजासमक्ष राजीनामा दिएका छन् । विज्ञान, प्रविधि र नवप्रवर्तनमन्त्री खैरी जामालुद्दीनले मलेसियाका राजा सुल्तान अब्दुल्लाह सुल्तान अब्दुल्लाहसमक्ष प्रधानमन्त्रीले राजीनामा दिएको पुष्टि गरेका हुन् ।

उनले सोमवार सामाजिक सञ्जालहरूमा उल्लेख गरेका छन्, “हाम्रो मन्त्रिपरिषद्ले राजासमक्ष राजीनामा दिएको छ ।” राजा अब्दुल्लाहले उनको राजीनामा स्वीकृत पनि गरिसकेका छन् । राजाले अर्को प्रधानमन्त्री चयन नहुँदासम्मका लागि कामचलाउ प्रधानमन्त्रीको जिम्मेवारी भने उनलाई नै दिएका छन् ।

मलेसियाको तल्लो सदनबाट वर्तमान सरकारले विश्वासको मत गुमाएपछि मुहिद्दीनले राजासमक्ष राजीनामा बुझाउनुपरेको हो । “प्रतिनिधिसभाबाट विश्वासको मत गुमाइसकेपछि सत्तामा बस्नुहँुदैन भन्ने मान्यता र नैतिकताका आधारमा हामीले राजीनामा गर्ने निर्णय गरेका हौं,” विदेशमन्त्री हिशाम्मुद्दीन हुसेनले लेखेका छन् ।

सामाजिक सञ्जालमा उनले राजीनामाका विषयलाई जनता र देशप्रतिको माया र जिम्मेवारी बोधका रूपमा समेत व्याख्या गरेका छन् । गत वर्षको मार्चमा उनी झिनो मतान्तरले बहुमतको प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।

तर सत्तारूढ गठबन्धनकै एउटा दलका नेताहरूले समर्थन फिर्ता लिएपछि उनी अहिले अल्पमतमा परेका हुन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here