काठमाडौं, ३२ साउन/रासस
नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्यूगिनीसँग एकदिवसीय सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार नेपालले आगामी भदौ २० र २३ गते ओमानमा पपुवा न्यूगिनीसित दुई एकदिवसीय खेल खेल्न लागेको हो ।
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासितको त्रिकोणात्मक एकदिवसीय सिरिजअघि नेपालले पपुवा न्यूगिनीसँग दुई खेल खेल्ने तय भएको हो । लिग–२ अन्तर्गत नेपालले आगामी सेप्टेम्बरमा ओमान र अमेरिकासित त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्ने क्यानले जनाएको छ ।
त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि हाल नेपाली टोली बन्द प्रशिक्षणमा छ । बन्द प्रशिक्षणमा १९ खेलाडी सहभागी छन् । बन्द प्रशिक्षणमा कप्तान ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, आशिफ शेख, गुलशन झा, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, कमलसिंह ऐरी, अविनाश बोहरा, शाहब आलम, सुशन भारी, शरद भेषवाकर, विक्रम शोब, पवन सर्राफ र रोहितकुमार पौडेल सहभागी छन् ।
विश्वकप लिग–२ मा नेपाल रहेको समूहमा पपुवा न्यूगिनी, ओमान, अमेरिका, स्कटल्यान्ड, नामिबिया र युनाइटेड अरब इमिरेट्स (युएई) रहेका छन् । लिग–२ अन्तर्गत नेपालले हालसम्म ओमान र अमेरिकासँग चार खेल खेलिसकेको छ । नेपाल चार खेलमा दुई जीत र दुई खेलमा हारका साथ चार अङ्क जोड्दै छैटौं स्थानमा छ ।
यस्तै, ओमान १० खेलमध्ये आठमा जीत र दुईमा हार बेहोर्दै १६ अङ्कसहित शीर्ष स्थानमा छ । अमेरिका १२ खेलमा ६ मा जीत र ६ मा हारसहित १२ अङ्क जोड्दै दोस्रो स्थानमा छ । स्कटल्यान्ड आठ खेलमा चारमा जीत र तीनमा हारका साथ नौ अङ्क जोड्दै तेस्रो स्थानमा छ।
स्कटल्यान्डले खेलेको एउटा खेल वर्षाको कारण रद्द भएको थियो । नामिबिया सात खेलमा चारमा जीत र तीनमा हार बेहोर्दै आठ अङ्कसहित चांैथो स्थानमा छ ।
यसैगरी, युएई सात खेलमा तीनमा जीत र तीनमा हारका साथ सात अङ्क जोड्दै पाँचौं स्थानमा छ । युएईले खेलेको एउटा खेल रद्द भएको थियो । पपुवा न्यूगिनीले हालसम्म खेलेका आठवटै खेलमा पराजित भएको छ । पपुवा न्यूगिनी अङ्कविहीन बन्दै लिग–२ को पुछारमा रहेको छ ।
लिग–२ अन्तर्गत सन् २०२३ सम्म प्रत्येक टोलीले ३६ एकदिवसीय खेल खेल्नेछन् । लिग–२ शीर्ष तीन टोलीले सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकपका लागि ग्लोबल छनोटमा स्थान बनाउनेछन् भने पुछारमा रहने चार टोलीले प्लेअफ खेल्नेछन् ।