नरेश यादव, पर्सागढी, ३१ साउन/
वीरगंज महानगरपालिका–२९ मा नगरप्रमुख विजयकुमार सरावगीले अनलाइन प्रणालीको उद्घाटन गरेका छन् ।
सम्पत्ति कर, घरजग्गा कर, नक्शापासलगायतका विभिन्न शीर्षकमा तिर्नुपर्ने कर अब वडाबाटै अनलाइन प्रणालीबाट तिर्न सकिने नगरप्रमुख सरावगीले बताए ।
उनले कर तिर्न सेवाग्राहीहरू अब वीरगंज महानगरमा पुग्नुपर्ने बाध्यताको अन्त्य भएको बताए। क्रमशः सबै वडामा अनलाइनबाट सेवा उपलब्ध गराउने महानगरको तयारी रहेको उनले बताए।
कर तिर्न ग्रामीण जनताले भाडा तिरेर दिनभरिको समय खर्चेर वीरगंज महानगरपालिका कार्यालयमा धाउनुपर्ने बाध्यता भएकोले अब वडाबाट अनलाइन प्रणालीमार्फत कर तिर्न सकिने बताए ।
वीरगंज महानगरपालिका कार्यालयदेखि १६ वटा वडा टाढा छन् । नगरवासीलाई छिटोछरितो र सहज सेवा दिन अब वडाबाटै कर तिर्न सकिने भएको छ ।
वडाध्यक्ष धर्मेन्द्र महतोको अध्यक्षतामा भएको कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप निरौला, सहसचिव शेर महमद मियाँ, वडासदस्य धुरुप यादव, राजदेव महतो, दिनेश यादव, महेश मण्डललगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण वडासचिव जवाहरलाल यादवले गरेका थिए ।