काठमाडौं, ३१ साउन/रासस
कोभिड–१९ महामारीका कारण वैदेशिक रोजगारमा रहेका नेपाली आप्रवासी कामदारको अवस्था अत्यन्त दयनीय रहेको पाइएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले आइतवार सार्वजनिक गरेको विदेशमा रहेका नेपाली कामदारको अवस्थासम्बन्धी श्वेतपत्र अनुसार वैदेशिक रोजगारका सिलसिलामा खासगरी खाडी मुलुक, मलेसिया, कुवेतलगायत गन्तव्यमा रहेका कामदार बढी समस्यामा रहेको जनाइएको छ ।
मुलुकको कुल गार्हस्थ उत्पादन (जिडिपी)मा विप्रेषण आप्रवाह अनुपात २४ प्रतिशतको हाराहारीमा रहेको छ । यति ठूलो योगदान भएका श्रमिकले जीवनभर कमाएर बुढेसकालमा स्वदेश फिर्ता हुँदा कुनै सामाजिक सुरक्षाको सुनिश्चितता नभएको भन्दै यसले झनै विकराल अवस्था सिर्जना भएको श्वेतपत्रले औंल्याएको छ ।
कोभिड–१९ को महामारीपछि विदेशस्थित नेपाली सरकारी निकायबीचको सहकार्यमा करीब दुई लाख नेपालीको उद्धार गरिएको एनआरएनएले जनाएको छ । आगामी दिनमा नेपाल सरकार र एनआरएनएको सहकार्यलाई अझ सशक्त बनाएर एक संयुक्त स्थायी संरचनामार्फत वैदेशिक रोजगारमा रहेका नेपालीलाई सहयोगको बाटो खोल्न यो श्वेतपत्रले आधार तयार गर्ने विश्वास लिइएको छ ।
पछिल्लो सरकारी तथ्याङ्क अनुसार वैदेशिक रोजगारका लागि सरकारले खोलेका ११० देशको लागि सन् २०१९/२० मा मात्रै झन्डै चार लाख नेपालीले औपचारिकरूपमा नेपाल सरकारसँग श्रम स्वीकृति लिएका थिए । वैदेशिक रोजगार देशको लागि मुख्य आय स्रोतको रूपमा रहेको छ।
एनआरएनएका उपाध्यक्ष डा बन्द्री केसीका अनुसार सन् २००३ देखि सन् २०२१ को अवधिमा विदेशमा करीब ७० लाख नेपाली छन् । यीमध्ये अधिकांश वैदेशिक रोजगारका सिलसिलामा गएका हुन् । वैदेशिक रोजगारमार्फत राज्यले झन्डै रु १० खर्ब विप्रेषण भित्रिन्छ । कोभिडका कारण विप्रेषण बढेको बताइन्छ ।
एनआरएनए वैदेशिक रोजगार तथा कल्याणकारी समितिका संयोजक केसीले सन् २००३ देखि नै सङ्घले वैदेशिक रोजगार मुलुक गन्तव्यलाई कसरी सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने भन्नेबारे एक कमिटीमार्फत काम गर्दै आएको बताए । अहिले पनि करीब ३० लाख नेपाली वैदेशिक रोजगारमा रहेको उनले जानकारी दिए । उनका अनुसार कोभिडका कारण एक लाख ७० हजारभन्दा बढीले रोजगार गुमाएका छन् । एक लाखभन्दा बढी सङ्क्रमित भएका छन् भने ४८६ जनाको मृत्यु भएको छ ।
विशेषगरी वैदेशिक रोजगारमा रहेका खाडी मुलुक, मलेसियालगायत गन्तव्यका कामदार समस्यामा छन् । श्रम स्वीकृत नभएका कारण उनीहरू असुरक्षित छन् । घरेलु कामदार महिलाको अवस्था दयनीय छ । सक्कल कागजात नहुँदा उनीहरूलाई स्वदेश फर्काउन कठिनाइ भएको जनाइएको छ । यो अवधिमा कुवेतबाट मात्रै पाँच हजार महिलाको उद्धार गरिएको उपाध्यक्ष केसीले बताए ।
एनआरएनए कोभिड–१९ राहत तथा स्वदेश फिर्ता सहजीकरणका लागि गठित समितिका संयोजक राजेन्द्र राउतका अनुसार कोभिड महामारीमा वैदेशिक रोजगार पूर्णरूपमा प्रभावित हुँदा मुख्यरूपमा मध्यपूर्वमा रहेका साउदी अरब, युएई, कुवेत, ओमन, बहराइन, मलेसियालगायत देशमा जाने नेपाली समस्यामा परेका छन् ।
हालसम्म श्रम गन्तव्य मुलुकबाट २२ हजारभन्दा बढी नेपालीलाई सहयोग गरिएको छ । कतिपय समस्यामा परेका कामदारलाई ३५० डलरसम्म टिकट काटेर स्वदेश फिर्ता गरिएको र नेपाल आएपछि घरसम्म पु¥याउने व्यवस्था मिलाइएको जानकारी दिए ।