वीरगंजले देशका नामूद साहित्यकारहरू जन्मायो, तर आफू स्वयं शुष्क बनेर रह्यो । आज वीरगंजमा साहित्य छैन, हो साहित्यमा मरुभूमि बनेको वीरगंजमा अहिले मरुउद्यान भने पलाउँदै छन् । झन्डै चौथाई शतकदेखि क्रियाशील प्रभात काव्य–यात्राले यसको छनक दिएको छ । प्रभात काव्य–यात्रा निरन्तर सञ्चालित नरहेको भने होइन, तर मरुभूमिमा पाइने शुष्क, काँडायुक्त वनस्पतिजस्तै महसूस हुनेगरी । यसो त वीरगंजमा सदैव साहित्यिक शुष्कता थिएन। धेरै नाम चलेका साहित्यकार, साहित्यिक संस्थाहरूको उत्पत्ति स्थल हो, यो । तर समय क्रममा सबै विलीन भयो । संस्थाविना कुनै कार्यले गति लिन सक्दैन । प्रभात काव्य–यात्रा त साहित्यकारहरूको बसिबियाँलोको थलो मात्र हो । निरन्तर साहित्य साधना, निरन्तर साहित्यकर्मीहरूको भेला, साहित्यिक वातावरण निर्माणमा योगदान पु¥याउन त एउटा सशक्त साहित्यिक संस्था नै चाहिन्छ । साहित्यिक प्रतिभा भएका मानिस आज पनि यस थलोमा नभएका होइनन्, तर सबै स्वान्तः सुखायको मनस्थितिमा बाँचिरहेका छन् । व्यक्तिसँग विभिन्न समस्या हुन्छ, त्यो समस्याजन्य मनोग्रन्थिबाट उन्मुक्त हुन नसक्दा मानिसको रचनाशीलतामा विराम लाग्न पुग्छ । यस्तो विराम मेट्ने भनेको विषयसम्बद्ध संस्था नै हो ।
वीरगंजमा त्यस्ता संस्थाहरू नभएका होइनन्, तीसँग साधन र स्रोत पनि छ । तर निष्क्रियता जमेर ठोस अवस्थामा पुगेको छ । धेरै पहिले क्रियाशील नारायणी वाङ्मयले वीरगंज मात्र होइन, तत्कालीन नारायणी अञ्चलको साहित्यिक गतिविधिलाई जुर्मु¥याएको थियो । पछि त्यसमा नारायणी साहित्य परिषद् मिलेर एउटा साहित्य–गङ्गा नै उत्पन्न भएको थियो । वीरगंज साहित्य परिषद्को पनि एकताका अस्तित्व थियो । जसलाई वीरगंज नगरपालिकाले राम्रो आर्थिक टेवा पु¥याएको थियो । आज नगरपालिका महानगरपालिका बनेको छ, नगर प्रमुखको पनि यस्ता कार्यमा रुचि र रुझान छ, तर गरिखाने हात आज निर्जीव बनेको छ । ती संस्थाहरूलाई आजको पुस्ताले जीवन दिने हो भने वीरगंज एकपटक पुनः साहित्यमय बन्न सक्छ । वीरगंजको शुष्कतामा हरियाली आउन सक्छ । यहाँबाट देशको उच्चस्तरको साहित्यिक पुरस्कार पाउने सपूतहरू जन्मन सक्छन् । ती व्यक्तिहरू आज पनि छन्, काम पनि गरिरहेका छन्, तर त्यसमा सामूहिक भाव छैन । जो छ, उही मात्र छ, अरूलाई प्रोस्ताहन, प्रशिक्षण केही छैन ।
यति भनिरहँदा यहाँ कुनै प्रयास नै भएको छैन, भन्ने पनि होइन । वीरगंज महानगरपालिकाले भोजपुरी भाषाको उत्थानको लागि भोजपुरी प्रतिष्ठान नै बनाएको छ, त्यसको भवन तयार हुँदैछ। लक्ष्मी साहित्य समाजले बर्सेनि भानु जयन्ती मनाएर एक दिनका लागि भए पनि वीरगंजलाई साहित्यिक शुष्कताबाट जोगाएको छ । लक्ष्मी साहित्य समाज संस्था देखिए पनि व्यक्तिको प्रयास नै प्रमुख छ । यी छरिएर बसेका साहित्यिक शक्तिहरू, आज देखा परेका प्रखर साहित्यिक युवाको शक्ति एकथलोमा केन्द्रित हुने हो भने वीरगंज साहित्यमय बन्न के बेर ? आज वीरगंज आत्मकेन्द्रित बनेको छ । जे छ आफैंमा छ । केही उजागर हुन सकेको छैन । यहाँ कस्ता–कस्ता काम भए, त्यसबारे आजको पुस्ता अनभिज्ञ छ । भावी पुस्ताका लागि त्यो इतिहास कसले लेखिदिने ? यी सबै प्रश्नको एउटै समाधान छ, संस्थाहरूलाई पुनर्जीवन दिउँ, जसले वीरगंजको साहित्य मिश्रेली–फोएनिक्सजस्तै जुर्मुराएर जागोस् ।