काबुल, ३० साउन/एएनआई

तालिबान लडाकूले अफगानिस्तानका प्रान्तीय राजधानी कब्जा गर्न थालेपछि अमेरिकाको पहिलो सैन्य टोली अफगानिस्तान आइपुगेको छ ।

केन्द्रीय राजधानी काबुलमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका अमेरिकी सैनिक अफगानिस्तानमा रहेका अमेरिकी नागरिकलाई उद्धार गर्न आएका हुन् । उनीहरूले अफगानिस्तानस्थित अमेरिकी कूटनीतिज्ञ, कर्मचारीलगायतका अमेरिकी नागरिकलाई स्वदेश फर्काउने भएका छन् ।

अफगानिस्तानमा सङ्घर्षरत तालिबान लडाकू समूहले अहिलेसम्म अफगानिस्तानका आधाभन्दा बढी प्रान्तीय राजधानी आफ्नो नियन्त्रणमा रहेको दाबी गरेको छ । देशभरि रहेका ३४ प्रान्तमध्ये १८ प्रान्तका राजधानी तालिबान लडाकूको नियन्त्रणमा रहेको उनीहरूले घोषणा गरेका छन् ।

अफगानिस्तानमा रहेका अमेरिकी सैनिक फिर्ता भएसँगै तालिबान लडाकूले राजधानी नै नियन्त्रणमा लिने अभियान शुरू गरेका हुन् । राजधानी कब्जा गर्ने अभियानमा उनीहरू निकै सफल देखिएका छन् ।

विदेशी सैनिक फिर्ता भएको दुई हप्ता मात्रै भएको छ भने लडाकूहरूले एक हप्तादेखि प्रान्तीय राजधानी नियन्त्रणमा लिने अभियान चलाइरहेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि शुक्रवार अफगानिस्तानका एक मन्त्रीसँग कुराकानी गर्दै देशको अवस्थाका बारेमा चासो र चिन्ता व्यक्त गरेका थिए । उनीहरूको छलफलकै आधारमा शनिवार अमेरिकी सैनिक अफगानिस्तान आएको बताइएको छ ।

अफगान राष्ट्रपतिद्वारा देशमा अस्थिरता रोक्ने अठोट

अफगानिस्तनाका राष्ट्रपति मोहम्मद असरफ घानीले देशमा अहिले तालिबान समूहले गतिविधि तीव्र पारेको भएपनि यसलाई छिट्टै रोकिने बताएका छन् ।

अफगानिस्तानको आधाभन्दा बढी प्रान्तका राजधानी तालिबान समूहले नियन्त्रणमा लिएको भनी समाचार आइरहेका समय उनले द्वन्द्वग्रस्त आफ्नो मुलुकमा राजनीतिक अस्थिरता रोक्ने प्रतिबद्धता व्यक्त गरे ।

“अफगानिस्तानको सुरक्षा फौजले देशको रक्षा गरेको र सेनाबीच सद्भाव सुनिश्चित गर्नु मेरो प्राथमिकता हुनेछ,” घानीले राष्ट्रका नाममा गरेको आफ्नो छोटो टेलिभिजन सम्बोधनमा भने ।
उक्त सम्बोधनमा उनले अफगानिस्तानमा थप अस्थिरता हुन नदिने बताए । उनले भने, “अफगानिस्तानीहरूले युद्धका कारण दुःख पाइरहेका छन् र अफगानिस्तानका जनताको थप कष्ट रोक्न म तपाईंहरूलाई विश्वास दिलाउँछु र यो मेरो ऐतिहासिक जिम्मेवारी हो ।”

राष्ट्रपति घानीले अफगानिस्तानका जनता, राजनीतिक दल तथा तिनका नेता र अन्तर्राष्ट्रिय मित्रहरूसँग परामर्श शुरू गरेको र परिणाम चाँडै आउने पनि बताए । तालिबान विद्रोहीहरूले देशका ३४ प्रान्तका १९ वटा प्रान्तीय राजधानी कब्जामा लिएको दाबी गरिरहेका समय राष्ट्रपतिको यो भनाइ आएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here