प्रस, पोखरिया, २९ साउन/
पोखरिया नगरपालिकाविरुद्ध आन्दोलनरत पोखरिया युवा समाजले सहमतिमा आन्दोलन स्थगित गरेको छ ।
गत सोमवारदेखि ९ सूत्रीय माग राखेर आन्दोलन गर्दै आएको समाजले हिजो बिहीवार धर्नापछि वार्ता गरेको र सोमा सहमति भएपछि आन्दोलन स्थगित भएको समाजका राकेश महतोले बताए ।
पोखरिया नगरपालिकाका प्रमुख दीपनारायण रौनियारले समाजले राखेका ९ सूत्रीय माग भदौ मसान्तभित्र पूरा गर्ने आश्वासन दिएपछि आन्दोलन स्थगित भएको हो ।
हिजो भएको सहमति अनुसार शुक्रवार नगरप्रमुख रौनियारले नपाले ७ करोड २१ लाखबरारबरको २१ वटा टेन्डर प्रकाशन गरेको र त्यसमध्ये छवटा फाइल समाजलाई उपलब्ध गराएका थिए । अन्य फाइल क्रमशः उपलब्ध गराउने उनले आश्वासन दिए । समाजका महतोले उपलब्ध गराइएका फाइलहरूमा प्रकाशित सूचना बजारमा नआउने पत्रिकामा प्रकाशन गरिएको बताए । उनले सार्वजनिकरूपमा प्रकाशन हुने सञ्चारमाध्यममा प्रकाशन नगरिएको र गोप्य प्रकाशन गरी ठेक्का टेन्डर गरिएको बताए ।
थप १५ वटा फाइलमा पनि सम्भवतः यसैगरी गोप्य सूचनाबाट काम गरिएको आशङ्का गरिंदै छ ।