कोरोना महामारीबाट बच्ने सबैभन्दा सजिलो र भरपर्दो उपाय मास्क प्रयोग हो । मास्क नलगाउँदा आफू र आफ्ना मानिसहरूको ज्यान खतरामा पर्छ भन्ने कुरा सबैलाई थाहा छ । फेरि पनि मानिस यति अटेरी छ कि मास्क लगाउन चाहँदैन । त्यस्ता मानवलाई मास्क लगाउने बानी पार्न प्रहरीले ‘तपाईंको मास्क खोइ’ अभियान शुरू गरेको छ । सरकारले लकडाउन वा निषेधाज्ञा हटायो भने सर्वसाधारणले आफ्नो अनुहारबाट मास्क पनि हटाइदिन्छ । वीरगंज र सो आसपासका क्षेत्रमा निषेधाज्ञा छँदा जुन अनुपातमा मास्क लगाइन्थ्यो, हाल त्यसरी मास्क लगाइँदैन । मास्क लगाउनेहरूले पनि मात्र देखाउनका लागि प्रयोग गरिरहेका छन् । प्रहरी देखिएपछि वा बजार जाँदा मास्क लगाउने तर जब अलिकति ओझेलमा परिन्छ, तब मास्क खोलेर ब्याग वा गोजीमा घुसार्छन् । कतिपयले नाकमुखबाट मास्क हटाएर चिउँडोमा पु¥याउँछन् भने खोलेर हातमा बोक्नेको सङ्ख्या पनि कम छैन । नगर क्षेत्रकै अधिकांशले मास्क लगाउँदैनन् । मास्क आफ्नोलागि नभएर अरू नै कसैको लागि लगाइदिनुपरेको हो कि भन्ने धारणा सर्वसाधारणमा छ ।
सही किसिमले मास्क लगाउने हो भने कोरोनाको भाइरस मानव शरीरमा प्रवेश गर्न सक्दैन भन्ने कुरा पुष्टि भइसकेको छ । मास्क सही किसिमले नलगाउँदा मास्कबाटै धेरै समस्या सिर्जना भएका छन् । हाम्रो समाजमा मास्क लगाइरहने मानिसहरू पनि सङ्क्रमित भएका छन्। तर मास्कलाई दोष दिनुभन्दा पहिले आफ्नो गलती, कमीकमजोरीबारे मनन गर्न जरुरी छ । मास्कबारे अपनाउनुपर्ने सावधानी नअपनाइएको र सही किसिमले मास्क नलगाएको कारण सङ्क्रमण भएको हो । मास्क लगाउनुपर्छ भन्ने चेतना जागरणको क्रममा हामी छौं । मास्क लगाउनुपर्छ भन्ने चेतनाको विकास भएपछि र मास्क लगाउने बानी भएपछि यसको प्रयोग तरीकाबारे जानकारीको चासो हुन्छ । ‘मास्क मेरैलागि हो’ भन्ने सोचको विकास भए मात्रै यसको सदुपयोगतर्फ उपभोगकर्ताको ध्यान जान सक्छ ।
सबै किसिमका मास्क उपयोगी छन् तर कुन मास्कलाई कसरी प्रयोग गर्ने ? एउटा मास्क कति दिनसम्म लगाउने, पुनर्प्रयोग कसरी गर्ने ? यही सामान्य कुराहरूबारे जानकारी नहुँदा, मास्क सङ्क्रमण रोक्नेभन्दा पनि सङ्क्रमण फैलाउने वस्तुको रूपमा परिणत हुने खतरा हुन्छ । अरूले अ¥हाएर बाध्यतावश गरिने काममा जाँगर चल्दैन । जाँगर चल्नको लागि मनभित्रैबाट रुचि जाग्नुपर्छ, त्यो रुचि जगाउनका लागि सम्बन्धित विषयवस्तुबारे सामान्य ज्ञान हुनुपर्छ । मास्कको प्रयोगले सास वा थुक, ¥याल, खकारबाट सर्ने प्रायः सबै किसिमका सङ्क्रमण नियन्त्रण गर्छ । यसको प्रयोगले मिर्गौलाको समस्या, श्वासप्रश्वाससम्बन्धी समस्या एवं धूवाँ, धूलो र दुर्गन्धबाट बचाउँछ । त्यसैगरी, बोल्दा थुक उछिटिने, दाँत तथा सास गन्हाउनेलगायतका समस्याबाट पनि बच्न सहज हुन्छ । यसले मानिसको स्वास्थ्यसँगै व्यक्तित्वमा समेत सकारात्मक प्रभाव पार्छ । यसको लागि पहिलो चरणमा ‘तपाईंको मास्क खोइ’ अभियानलाई सफल पार्नै पर्छ ।