• मुकुन्द आचार्य

समाजरूपी बगैंचामा अनेक चित्र–विचित्र फूलहरू फुल्ने गर्छन् । यै कुरालाई सरल भाषामा भन्ने हो भने यी चित्र–विचित्र फूलहरू हुन्– थरीथरीका मनुवाहरू ! मान्छेहरू !!

त्यस्ता सबै चित्र–विचित्र मनुवाहरू सघन वृक्षका पातले छोपिएका फूल हुन् । भगवान्को चरणकमलमा समर्पित हुन नपाएका अथवा कुनै सुन्दर नारीको केश राशिमा सजिन नपाएका ती अभागी पुष्पहरूको के दोष हुन्छ र ?! तर जीवनमा प्रयोग भएर अर्काका लागि उपयोगी प्रमाणित हुन नपाएका ती बिचराहरूलाई आज धन्यवाद दिन मन लाग्यो । अर्काको दुःख देखेर आफ्नो दुःख बिर्सने जति सबैलाई धन्यवाद भन्नै पर्छ ।

अवसर नपाएका त्यस्ता बिचराहरूलाई म मुरीमुरी धन्यवाद दिन तम्सिएको छु । धन्यवादको लुट छ, लुटे हुन्छ !

कोरोनाको सक्रियता र सरकारको निष्क्रियताले गर्दा जाँचै नदिई सुपर से उपर अङ्क प्राप्त गरी समुत्तीर्ण हुने दश कक्षाका सबै भाग्यमानी छात्रछात्रा धन्यवादका पात्र छन् । यस्तै जेनेरेशनले भोलि नेपाल हाँक्छ हेर्नुहोला !

अझै पोहोरका र यस वर्षका भाग्यमानी विद्यार्थीहरूलाई यसरी सजिलै परम जेहेन्दार बनाउने स्कूलका गोरुजीहरू अकूत धन्यवादका पात्र हुन पुगेका छन् । यसरी अयोग्यहरूलाई योग्य, स्मार्ट, जेहेन्दार, चलाख बनाइदिने शिक्षालयहरूलाई जति धन्यवाद दिए पनि थोरै नै हुन्छ ।

उहिले हाम्रा पालामा त एसएलसीलाई लौहद्वार (आइरन गेट) भन्ने गर्थे र प्रथम श्रेणीमा उत्तीर्ण हुनेलाई उपध्रो जिनियस मानिन्थ्यो । चालू भाषामा त्यस्तालाई खतरा पढाकू मानिन्थ्यो । तिनीहरूलाई आज सम्झेको मौकामा धेरै–धेरै धन्यवाद ! ठूलो श्रमले प्रथम श्रेणी पाउने अभागीहरूलाई धन्यवाद दिने कि नदिने ?

भाग्यले आजको कोरोनाकालमा मालामाल हुने ट्राफिक प्रहरी भनिने विभागलाई धन्यवाद त दिनैपर्ने हुन्छ । यस विभागले जस्तो ठोस सेवा अरू कसैले गरेर देखाउन सकेन । अतः यो विभाग धन्यवादको हकवाला त छँदैछ । सरकारी लकडाउनलाई सरकारी स्कूल जस्तै अतिउपयोगी बनाएर जनसेवा गर्ने प्रशंसनीय कार्यसम्पादनबापत खुशी मनले जनता जनार्दनले दिएको ‘पत्रं पुष्पं फलं तोयं’ पाएर जनता जनार्दनको प्रसादस्वरूप कोही लाभान्वित हुन्छ भने, त्यसमा अरूलाई केको टाउको दुखाइ ?! मह काड्नेले हात चाट्यो भनेर कसैले पनि औंला ठड्याउन पाइन्न । शुद्ध दूधजस्तै पूरा इमानदार मान्छे पाइन्न ।

यसरी जनताको मर्म बुझेर आफ्नो धर्म गर्ने राष्ट्रसेवकहरूलाई धन्यवाद दिन कञ्जुस्याइँ गरे पाप लाग्छ हउ । अति गरे पनि अतिसार चैं नगर्नू ! ज्यान जोखिममा पारेर दिनरात क्यै नभनी कर्तव्यपालन गर्ने सबै थरीका नेपालीलाई बारम्बार नमस्कार र धन्यवाद छ । यातायात व्यवसायीले पनि मनपर्दो भाडा असुलेर ठूलो सेवा गरे ।

बाढी, पहिरो पीडितका नाउँमा विभिन्न स्रोतबाट आएको सहयोग रकम–जिन्सी पदार्थ आफ्नो जादू देखाएर पीडितसम्म पुग्न नदिने सहृदयी नेता, समाजसेवी, राष्ट्रसेवक सबै सम्बन्धित पुण्यात्माहरूलाई मुरीमुरी धन्यवाद नदिए कुरीकुरी नै हुन्छ ।

यस्तो सुखद मौका छोपी चौका हान्ने व्यापारी वर्गले भाउ बढाएर उपध्रो धन्यवाद पाउनु पनि धन्यवाद पाउनैपर्ने कर्म गरेका छन् । अब त्यस्तालाई धन्यवाद नदिएर म किन पापको भागी बनौं । तसर्थ यस्ता सबै जन्तुलाई अकूत धन्यवाद !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here