- सञ्जय साह मित्र
हाम्रा युवा भनेर यहाँ प्रदेश दुईका युवाबारे चर्चा गर्न खोजिएको छ । प्रदेशका युवाहरूको प्रकृति र चुनौतीको विषयमा सामान्य प्रकाश पार्ने प्रयास गरिएको छ ।
प्रदेश दुईका अधिकांश जिल्लामा निरक्षरता बढी छ । जुन साक्षरता देखिन्छ, त्यो केवल कागजी हो कि भन्ने लाग्दछ । यस प्रदेशमा विपन्नता अत्यधिक छ । यही निरक्षरता र विपन्नताबीच हुर्केका युवा दुई किसिमका छन् ः शहरी र ग्रामीण । शहरका वा ग्रामीण क्षेत्रका युवा भए पनि केही प्रवृत्ति समान देखिन्छ ।
अहिले दुई वर्षदेखि कोरोनाले सर्वत्र प्रभाव पारेको छ । बीचको केही समय कोरोनाको प्रभाव कम देखिएको थियो तर दोस्रो लहर शुरू भएदेखि अहिलेसम्मको परिस्थिति कोरोनामय नै रहेको छ। यस कोरोनाकालमा मुख्य गरी युवाहरूमा भने नकारात्मक प्रकृतिको विकास भएको छ ।
ती युवा, जो नपढीकनै एसइई पास गरे । हजारौं युवाले एघार वा बाह्रको परीक्षा पनि यसै गरी पास गरे । जसलाई कुनै मिहिनेतविनै स्नातकको परीक्षामा राम्रो नतीजा प्राप्त भयो । यिनमा आफूसित राम्रो डिभिजनले पास गरेको प्रमाणपत्रको अहम् देखिएको छ । कोरोनाकालको दुई वर्षमा जति परीक्षाहरू भए, त्यसमा उत्तीर्ण हुने विद्यार्थीहरूमध्ये अधिकांशमा आत्मविश्वास त देखिंदैन, तर अति अहम् भने छताछुल्ल भएको देखिन्छ ।
बज्जिका भाषामा एउटा उखान छ ः गुन न धुन बोले अनाधुन । अहिले यही देखिएको छ कोरोनाकालमा उत्पादन भएको युवा पीढीमा । खासै केही गर्न नजान्ने तर अनेक खोट लगाउने गुनको विकास भएको छ । अहिलेको परीक्षाको सिस्टमले एउटा पुस्तालाई नै बिगारेको छ । पूरै बर्बाद बनाइदिएको छ । यदि बाहिर गएर नपढ्ने हो भने अब सम्हालिन गाह्रो हुने भएको छ ।
केही पढ्न नपर्ने, केही जान्न नपर्ने तथा कुनै परिश्रम गर्न नपर्ने तर विशिष्ट श्रेणीको प्रमाणपत्र हातमा हुने भएपछि बाहिर किन जानुप¥यो वा परिश्रम किन गर्नुप¥यो ? एउटा स्क्रिन टच मोबाइल र त्यसमा इन्टरनेटको व्यवस्थाका लागि घरमा जस्तोसुकै व्यवहार गरेर हुन्छ वा सहेर हुन्छ, सबै थोक गर्न तयार युवामा, अभिभावकले सोधेपछि, मोबाइलमैं पढिरहेको छु भन्ने भूmटो बोल्ने प्रवृत्तिको विकास भएको छ । केहीले राम्रै गरेका होलान् तर औसत युवाले मोबाइलको दुरुपयोग गरेका छन् र आफ्नो समयको चरम दुरुपयोग गरेका छन् ।
युवामा कामचोर प्रवृत्तिको विकास पनि भएको छ । तिनका आफ्नै लागि गर्नुपर्ने काम छ भने पनि सकेसम्म कामै गर्न नपाए हुन्थ्यो, बढीभन्दा बढी प्राप्त हुन पाए हुन्थ्यो भन्ने प्रवृत्तिको विकास सरुवा रोगजस्तै सरेको देखिएको छ । आफ्नो गल्ती नदेख्ने अनि अरूमा बलजफ्ती गल्ती खोजेर आफू निर्दोष बन्न खोज्ने प्रकृतिको विकासले युवाको भविष्य कमजोर बनाउँदै लगेको छ ।
कुनै कार्यालयमा जाँदा के गर्न गएको हो भन्ने कुरा मुखले भन्ने र मौखिक भनाइकै आधारमा काम राम्ररी सम्पन्न होस् भन्ने चाहना राख्ने स्वभावका भएका छन् । के काम निवेदन लेखेर ल्याउनुस् भन्दा निवेदन लेख्न नचाहने, निवेदनमा लेखेको बेहोरा अनुसार काम गरिदिने हो भने त्यो काम नमिल्दा फेरि दोष कार्यालयकै कर्मचारीलाई दिने प्रवृत्ति विकसित भएको छ ।
अझ कतिपय युवा त आफू स्नातक पढ्ने, स्नातकभन्दा पहिलेको प्रमाणपत्रमा विशिष्ट श्रेणीको योग्यता भएको देखाउँदै मख्ख पर्ने वा गर्व गर्ने तर कुनै कार्यालयमा सामान्य निवेदन लेख्नुप¥यो भने अगाडि सर्दैनन् ।
युवामा प्राविधिक बन्ने चाहना अत्यल्प रहेको देखिन्छ । जीवनमा केही गर्नुपर्छ भन्ने चाहनाको अभावले गर्दा प्राविधिक बन्नेतिर उतिसारो ध्यान गएको देखिन्न । हो, अभिभावकको निरन्तर नियन्त्रणमा रहेका युवा, निम्न वर्गका दुःख पाएका युवा तथा केही आफ्नै रुचि अनुसार लाग्न चाहने युवामा भने सकारात्मक प्रवृत्ति देखिएको छ र तिनीहरूले प्रगति पनि गरेका छन् तर अधिकांश युवा जो सतही सोचका छन्, तिनीहरूमा भगवान्ले मुख दिएको छ भने अन्न पनि उसैले दिन्छ भन्ने भगवान भरोसे प्रवृत्ति पलाएको छ ।
अहिलेका युवा वैज्ञानिक सोच र विचारका हुनुपर्नेमा परम अन्धविश्वासी देखिएका छन् । अज्ञानताले गर्दा यस प्रकारको प्रवृत्ति छोड्न नसकेको हुनुपर्छ । गर्ने बेला अनेक तर्क गर्छन् तर अन्धविश्वास भने छाड्दैनन् । विज्ञानको चमत्कारको उपभोग गर्छन्, अन्धविश्वास पनि मान्छन्। यस प्रकारको प्रवृत्तिले नै अहिलेका युवालाई अगाडि बढ्न रोक लगाएको जस्तो भएको देखिएको छ ।
पढेको छु भन्नेहरूमा पनि प्रतिस्पर्धी क्षमताको अभाव देखिन्छ । प्रतिस्पर्धी क्षमताको अभावमा आरोप–प्रत्यारोप गर्ने तथा जातभातको कुरा गरेर आफूलाई पछाडि पारिएको कुतर्क गर्न पछाडि पर्दैनन् । कुतर्कको कुनै सीमा हुँदैन । मुख्यतः यस प्रकारका युवा आफ्नो अक्षमता लुकाउन यस्ता बहानाबाजी गर्दछन् । एक हप्ताभित्रकै एउटा उदाहरण रहेको छ ः
एउटा क्याम्पसले लेखापाल पदको विज्ञापन ग¥यो । शैक्षिक योग्यता र व्यावहारिक ज्ञान दुवै हुनुपर्ने भन्यो । लिखित, मौखिक र अन्तर्वार्ता गरी तीनवटै परीक्षा लिने बतायो । निर्धारित समयमा बाह्रवटा निवेदन आयो । एउटा निवेदन रीतपूर्वक देखिएन र रद्द भयो । निवेदन रद्द हुनेले सकेसम्म परीक्षा नै हुन नदिने वातावरण सिर्जना गर्न खोज्यो । आफ्नो मानिसलाई भर्ना गर्न मेरो निवेदन रद्द गरियो भन्ने उसको दाबी थियो । किनकि ऊ आफूलाई बलियो दाबेदार मान्दथ्ये ।
लिखित परीक्षा हुनु अघि अनेक कुरा बजारमा आए ः कसैले यति पैसा दियो, कसैले नातेदारमार्फत सबै कुरा मिलाइसकेको छ, कसैले नेताबाट भन्न लगाएको छ, कसैले प्रश्नपत्र बनाउने मानिसलाई किनेको छ आदि, इत्यादि । लिखित परीक्षा भयो र नतीजा आयो । संयोग यस्तो कि लिखित परीक्षामा उत्तीर्ण हुन तोकिएको प्राप्ताङ्क कुनै पनि उम्मेदवारले प्राप्त गर्न सकेन । यदि कोही एकको नाम न्यूनतम पास मार्कका साथ निस्केको भए सबैले यही भन्थे कि उसले मिलाएको थियो, त्यसैले उसको मात्र नाम निस्क्यो ।
गाउँघरमा रेमिट्यान्स पसिसकेको छ । यसले केही नभए मलेसिया, कतार वा साउदी अरेयिबा गएर धन आर्जन गर्न सकिहालिन्छ, यहाँ धेरै दुःख गरेर पढ्नु वा नयाँ काम सिक्नुभन्दा विदेश गएर केही समयमैं धेरै धन कमाउन सकिन्छ भन्ने मनोविज्ञानको विकास भएको छ । परदेश जान खास योग्यता वा दक्षता पनि चाहिन्न । यहाँ मिहिनेत गरेर पढेर सानोतिनो नोकरी पाएर के हुन्छ ? केही नपढी, केही नसिकी विदेश गएर मजदूरी गरेर पनि राम्रो आर्जन गर्न सकिने मनोविज्ञान बनाउने प्रवृत्ति युवामा निकै घातक भएको छ ।
वादविवादमा अब्बल आजका युवामा झगडा गर्ने प्रवृत्तिको पनि विकास भएको छ । विवादले गर्दा कहिलेकाहीं पारिवारिक तथा सामाजिक समस्या पनि आएको देखिन्छ । अधिकांश विवाद तथा झगडामा युवकको भूमिका प्रशस्त देखिएको छ ।
लकडाउनले गर्दा युवामा दुव्र्यसन पनि बढेको छ । नियमित कुनै निश्चित अखबार वा अनलाइन हेर्ने हो भने लागू पदार्थको कारोबार, सेवन वा ओसारपसारमा युवकहरू नै अत्यधिक प्रतिशतमा संलग्न देखिन्छन् । युवकहरू गाउँघरमा समय बिताउन ताशमा पनि रमाएको देखिएका छन् । काम नगर्ने वा कामको बेला ताश खेलेर बस्ने नराम्रो प्रवृत्तिले गर्दा युवकहरूको सिर्जनशीलता तथा क्रियाशीलता कमजोर बनेको नै हो । अहिले हरेक गाउँमा ताश खेल्ने र कहींकहीं त जुवा नै खेल्ने प्रवृत्तिको विकास भइसकेको छ, जसलाई निकै घातक र खतरनाक मान्न सकिन्छ ।
सामाजिक सञ्जालले युवालाई एकातिर दुव्र्यसनी बनाएको छ भने अर्कोतिर अमूल्य समय नष्ट गर्न सहयोग गरिरहेको देखिएको छ । कतिपय युवालाई सामाजिक, सांस्कृतिक काममा मन लाग्दैन तर मोबाइलमा टिकटकका राम्रा डायलगसित अभिनय गरेर सामाजिक सञ्जालमा शेयर गर्न खूब मन लाग्छ । यसैगरी आजभोलि सडक किनार, बगैंचा, पुल, नदी किनार तथा केही प्राकृतिक सुन्दरताले भरिएको स्थानमा दुई चारजना मिलेर नाचेको वा नक्कली गीत गाएको पनि सजिलै देख्न सकिन्छ ।
यस्ता युवकहरूलाई यदि कतै कुनै गायन वा नृत्य प्रतियोगितामा सहभागी हुन भन्ने हो भने प्रायः सहभागी हुन खोज्दैनन् । स्थानीय संस्कृति, लोकगीत वा नृत्य संरक्षण गर्न अगाडि सर्नुपर्छ र त्यसको नेतृत्व युवापीढीले लिनुपर्छ भन्ने कुरामा चित्त बुझ्दैन । सामाजिक सञ्जालमा भने आफूलाई सजाएर शेयर गर्न, नृत्य र डायलग हाल्न तथा प्रगतिका लागि सरोकार राख्ने वा आफ्नो लक्ष्यमा अगाडि बढ्न सरोकार राख्ने तथा समाजलाई काम लाग्ने कुरा सामाजिक सञ्जालमा खोजेर राखूँ भन्दा झन्डै पाखे भएको बताउने युवा पीढीले गर्दा संस्कृति पनि कमजोर बन्दै गएको छ । वास्तवमा घनीभूतरूपमा संस्कृति लोप भएको अहिलेकै समयमा हो । युवा पीढीले आफ्नो जिम्मेवारी नबुझिंदिदा संस्कृतिमा अघोषित नकारात्मक हस्तक्षेप बढेको हो ।
सम्पत्ति–मोह पनि वर्तमान युवाको समस्या हुन् । केही दिन पहिले नेकपा एमालेका नेता वामदेव गौतमले पैतृक सम्पत्तिलाई फरक किसिमले परिभाषित गर्नेगरी एउटा लेख लेखेका थिए। त्यसमा उनले जमीन सरकारको हुनुपर्ने बताएका थिए । जसलाई उपभोग गर्न मन लाग्छ उसले लिज अर्थात् भाडामा लिन पाउँछ । सरकारी जमीनमा गगनचुम्बी महल बनाउँछन् चिनियाँहरू ।
सम्भवतः यस्तै प्रस्ताव हुनुपर्छ गौतमको । जमीनजति सरकारको हुनुपर्ने र उपभोगको अधिकार नागरिकलाई दिने हो भने केही हदसम्म भ्रष्टाचार पनि कम हुन्छ र सुकुम्बासी कोही पनि रहँदैनन् । हामीकहाँ एकपटक जमीन किनेपछि त्यसमा पैतृक हक लाग्दै पुस्ता–दर–पुस्ता हस्तान्तरण हुँदै जान्छ । यसले गर्दा पनि युवामा परिश्रम नगरी सम्पत्ति आर्जन गर्ने प्रवृत्ति बढेको हो । पुख्र्यौली सम्पत्ति छँदैछ, मैले किन काम गर्नुप¥यो भन्ने अकर्मण्य मनोविज्ञानको विकासले गर्दा सम्बन्धित व्यक्ति, परिवार तथा समाज नै प्रभावित बन्न पुग्दछ ।
युवा पीढीमा सकारात्मक सोच र प्रतिस्पर्धी दृष्टिकोणको विकास नभएको होइन । केही दिन पहिले मात्र एमबिबिएस अध्ययनको लागि जुन नतीजा प्रकाशन भएको छ, त्यसले केही युवामा अत्यधिक प्रतिस्पर्धी क्षमता देखियो । तर औसतमा हाम्रो युवापीढीमा नकारात्मक क्षमताको विकास भएको छ । यसतर्फ समाजका अगुवा तथा नीति निर्माताहरूले समयमैं ध्यान दिनुपर्छ र मुख्यगरी स्थानीय सरकारले यस्ता कार्यक्रमहरू ल्याउनु आवश्यक छ जसले गर्दा युवा–क्षमता उपयोग हुने वातावरण बन्न सकोस् ।