एउटा नराम्रो बेथितिले शिक्षा क्षेत्ररमा जरो बसाल्न खोज्दैछ । त्यसको एउटा झल्को भर्खरै सम्पन्न नर्सिङ तथा फार्मेसी अध्ययनका लागि लिइएको प्रवेश परीक्षाले दिएको छ । सरकारले तोकेको कोटाभन्दा न्यून सङ्ख्यामा विद्यार्थीहरू उत्तीर्ण भएका छन् । नर्सिङ तथा फार्मेसीका विभिन्न सातवटा विधामा परीक्षा लिइएको थियो, जसमा बिएएसएलपीबाहेक सबै कोटामा न्यून परीक्षार्थी उत्तीर्ण भएका छन् । सरकारले यी सबै सात विषयका लागि अलग–अलग कोटा निर्धारित गरेको थियो । बिएस्सी नर्सिड्ढा लागि निर्धारित कोटा थियो १२४० । यस परीक्षामा ३४७८ परीक्षार्थी सामेल भएका थिए, तर उत्तीर्ण भए जम्मा ५०४ । अन्य परीक्षाको पनि लगभग यस्तै नतीजा देखियो । एक त हामीकहाँ स्वास्थ्य जनशक्तिको नितान्त अभाव छ । सरकारले तीव्रगतिमा जनशक्ति तयार गर्न खोज्यो भने पनि सम्भव छैन, किनभने धेरैलाई पढाउने क्षमता सरकारसँग वा विद्यार्थीका लागि प्रयोगात्मक थलो उपलब्ध छैन । यस्तोमा सरकारले कोटा निर्धारित गर्दा जनशक्ति बढ्न नसक्ने समस्या त छँदैथियो, अब भएको कोटा अनुसार पनि विद्यार्थीहरू उत्तीर्ण हुन नसक्दाको अवस्था दुःखदायी नै मान्नुपर्छ ।
एकातिर यो समस्या देखिएको छ भने अर्कोतिर एमबिबिएस अध्ययनका लागि भएको परीक्षामा कोटाभन्दा बढी परीक्षार्थी उत्तीर्ण भएका छन् । १८३५ वटा एमबिबिएसको कोटा रहेकोमा सफल हुने परीक्षार्थीको सङ्ख्या ४३९१ रहेको छ । नेपालका चिकित्साशास्त्र पढाउने शिक्षण संस्थाहरूमा रहेको सिट सङ्ख्याभन्दा बढी परीक्षार्थी उत्तीर्ण भएकाले सबैले यहाँ पढ्न पाउँदैनन् । तीमध्ये हैसियत हुनेहरू त विदेशतिर लाग्लान्, तर नहुनेले के गर्ने ? एकातिर नर्सिङ र फार्मेसीको नतीजा, अर्कोतिर एमबिबिएसको नतीजा, यसबाट हामीले के सोच्ने ? पहिलो उब्जने विचार नर्सिङ र फार्मेसीका लागि आउने विद्यार्थीहरू सीधै विद्यालय शिक्षा सम्पन्न गरेका हुन्छन् । के विद्यालय तहको पढाइ यतिसम्म खस्यो कि तिनका विद्यार्थी प्रवेश परीक्षामा नै असफल हुन्छन् वा परीक्षा प्रणालीलाई अझ कठोर बनाएर शिक्षालाई नियोजित गर्न थालियो ? वा अभिभावकहरूले आफ्ना सन्तानको रुचि, रुझान नबुझेर करबलले उनीहरूलाई आफू निर्दिष्ट शिक्षा दिन खोजे ? कारण जे होस् परिणाम त दुःखद नै देखियो ।
नेपालमा अहिले जनस्वास्थ्यको अवस्था नाजुक छ । विश्व स्वास्थ्य सङ्गठनले निर्धारित गरेको कम्तिमा एक हजार जनसङ्ख्यामा एकजना चिकित्सक हुनुपर्नेमा नेपालमा १७२४ मा एकजना चिकित्सक छन् । यस्तोमा चिकित्सक, नर्स, फर्मासिस्टहरूको उत्पादन बढाउनु देशका लागि अत्यन्त आवश्यक छ । यो यस कारणले पनि कि अब संविधानले नै स्वास्थ्यलाई मौलिक अधिकार मानेको छ । सरकारले ज्येष्ठ नागरिकहरूका लागि निश्शुल्क स्वास्थ्य बीमा गरिदिने गरेको छ । सहुलियत दरमा अरूले पनि स्वास्थ्य बीमा गराउन पाउने नीति लागू भएको छ । तर के गर्नु, चिकित्सकहरूको तुलनामा बिरामी जनसङ्ख्या यति छ कि सरकारको यस सुविधाको फाइदा सेवाग्राहीले उठाउन पाउँदैन । अहिले प्रायः सबै पालिकाहरूमा एकभन्दा बढी सरकारी स्वास्थ्य केन्द्रहरू छन्, जसमा स्वास्थ्य जनशक्तिको नितान्त अभाव छ । चिकित्सकको कुरै छाडौं, गतिला स्वास्थ्यकर्मीसमेत यस्ता धेरै स्वास्थ्य केन्द्रहरूमा उपलब्ध छैनन् । ग्रामीण बर्थिङ सेन्टरहरूको कन्तबिजोग छ । एकजना स्वास्थ्यकर्मी बिदामा बस्दा गा¥हो पर्छ । यस्तोमा नर्सिङ, फार्मेसी र एमबिबिएस परीक्षाको नतीजालाई दुःखद नभनी के भन्ने ?