प्रस, सप्तरी, २७ साउन/
सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले अपाङ्गता भएका एक व्यक्तिलाई घरमैं पुगेर नागरिकता प्रदान गरेका छन् । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नं ४ निवासी प्रह्लाद मण्डललाई नागरिकता प्रदान गरिएको हो ।
अपाङ्गता भएका १९ वर्षीय मण्डल हिंड्डुल गर्न नसक्ने अवस्थाका छन् । उनको अवस्थाबारे जानकारी पाएपछि उनको घरमैं पुगेर नागरिकता प्रदान गरिएको प्रजिअ आचार्यले बताए । उमेर पुगेपछि राज्यको सेवासुविधाबाट वञ्चित हुनुनपरोस् भन्ने उद्देश्यले नागरिकता दिएको उनले प्रस्ट्याए ।
नागरिकता प्रदान गर्ने क्रममा प्रजिअ आचार्यले मण्डललाई यथासक्य सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
सो अवसरमा उनले नागरिकता लिने उमेर र प्रमाण पुगेको तर अशक्त अपाङ्ग भई हिंड्डुल गर्न नसक्ने अवस्थामा रहेको जिल्लाका जोसुकैको घरमा पनि आफू पुग्न तयार रहेको प्रजिअ आचार्यले बताए ।
मण्डलको घरमा जिल्ला प्रशासन कार्यालयको नागरिकता फाँटका कर्मचारीसहित प्रजिअ आचार्य पुगेका थिए ।