प्रस, पोखरिया, २७ साउन/
पोखरिया नगरपालिकाविरुद्ध बुधवार युवा समाजले पोखरियामा प्रदर्शन गरेको छ । गत सोमवार पोखरिया नगरपालिकाका नगरप्रमुख दीपनारायण रौनियारलाई युवा समाजले ९ बुँदे ज्ञापनपत्र बुझाउँदै दुई दिनभित्र माग पूरा गर्न आग्रह गरेको थियो । तर दुई दिनभित्र सो माग पूरा नगरिएको भन्दै आज समाजले प्रदर्शन गरेको हो ।
प्रदर्शनपछि नगरपालिका पुगेको समाजको टोलीले नगरप्रमुख, उपप्रमुखसहित कर्मचारीहरू अनुपस्थित भएपछि त्यहाँ उपस्थित शिक्षा शाखा प्रमुख विजयकुमार झासँग भेटेका थिए । उनीहरूले सो क्रममा झालाई अनुपस्थित कर्मचारीहरूको हाजिरी गयल गर्न लगाए । आजको प्रदर्शनको नेतृत्व युवा समाजका सुजीत गिरीले गरेका थिए ।
टेन्डर कागजात पारदर्शी गर्नुपर्ने, जिल्ला उच्चाङ्गल रामदेव कलवार नमूना विद्यालयको खाता र प्रधानाध्यापक नियुक्तिसम्बन्धी समस्या समाधान गर्नुपर्ने, बिग्रिएका सडक मरम्मत गर्नुपर्नेलगायत ९ सूत्रीय माग राखेका छन् ।